गोरखा । सिरानचोक गाउँपालिका १६ गते सार्वजनिक विदा दिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापाको २०७ औ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोककोटमा वि.स १८३८ मा चौविसे राज्यहरुसगँ लडाईमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल तथा नेपालको एकिकरणको लागि महानभुमिका खेलेका अमरसिंह थापाको २०६ औं स्मृति दिवसको अवसरमा यस सिरानचोक गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार १६ गते गाउँपालिका भित्रका सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले बताए ।
गाउँपालिकाको वडा नं ६ गाँखु स्थित अमरसिंह पार्कमा विविध कार्यक्रम गरी थापाको स्मृति दिवस मनाइने हुदा सम्पूर्ण पालिकावासीहरुलाई कार्यक्रममा सहभागी भईदिनुहुनको लागि समेत उनले अनुरोध गरेका छन् ।
को हुन अमरसिंह थापा ?
‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ ! दुई सय चार वर्षअघि भएको नेपाल–अंग्रेज युद्धमा बडाकाजी अमरसिंह थापाले अंग्रेज सेनानायकलाई फर्काएको जवाफ हो यो । अंग्रेज सेनानायक ब्रिगेडियर जनरल डेभिड अक्टोरलोनीले जति भन्छौ, त्यति धन, सम्पत्ति र पद पनि दिन्छु, लडाइँ गर्न छाडेर आत्म९सर्मपण गर भन्दा आत्मसर्मपण गर्नुको साटो ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्दै बडाकाजी अमरसिंह थापाले डटेर युद्ध गरे ।
नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न, राजा, सरकार र जनता सबैले प्रयास गरेको कुरा इतिहास साक्षी छ । आधुनिक नेपालका निर्माणका सुरुवात शाहवंशबाट नै भएको थियो । पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा र्पुयाउन नेपाली वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएको हो । योगदान गर्ने व्यक्ति विरलै पाइन्छन । ती व्यक्तिहरूमध्ये बडाकाजी अमरसिंह थापा पनि एक निर्भीक योद्धा हुन ।
अमरसिंह थापाले आफूलाई इमानदार, कुशल, साहसी, निर्भीक योद्धा, वीर पुरुषको रूपमा नेपालको मात्र नभई विश्वसामु स्थापित गराएका छन् । उनलाई किताबी पानामा मात्र सीमित गर्दा इतिहासकार र इतिहासका अध्यताले मात्र जानकारी पाउनेछन् । उनले गरेका कामको प्रतिफल त सबै वर्ग र तप्काका जनताले देखेका र पाएका छन् । तर त्यो कुरा सबैका नजरमा हुने गरी इतिहासको इतिहास राख्नुपर्ने आवश्यकता छ । यी कुरा आज ओझेलमा पर्दै गएका छन । राष्ट्रिय विभूति राष्ट्रको चासो र सरोकारसँग जोडिएको विषय भएकोले राष्ट्रले कुनै पनि हालतमा यस्ता विभूतिलाई बिर्सनु हुँदैन ।
पढ्ने इतिहासभन्दा देखिने इतिहास आजको आवश्यकता भएको कुरा राष्ट्रिय विभूतिले नै बनाएका र बनाउन लगाएका किल्ला, गढी, मठ९मन्दिर, देवल, शतल आदिबाट स्पष्ट हुन्छ । आफ्नो बाबुको मृत्युपछि आठ वर्षको उमेरदेखि नै सैनिक तालिम प्राप्त गर्ने, जन्मजात देश र जनताको लागि मरिमेट्ने सिपाही अमरसिंह थापा हुन् । तिनलाई हामीले राष्ट्रिय विभूतिको रूपमा पाएका छौं र जो आजसम्म अमर छन् । अमरसिंहको नाम र काम नै अमर भएकोले उनी युगौं अमर नै रहिरहनुपर्छ । अमरसिंह थापा इतिहास बनाउन मात्र लागेनन ।
अमरसिंह थापाले १७ वर्षको कलिलो उमेरमा नै कान्तिपुर विजय गरेपछि सरदार पद पाए । उनले अझ बढी जिम्मेवारीपूर्वक कार्य गरे । त्यो जिम्मेवारी पूरा गर्न ४८ वर्षसम्म राष्ट्रको सेवा गरे । आफ्नो ६५ वर्षगाँठसम्म उनले सारा तन, मन देश र जनताप्रति लगाए । उनको अधिकांश जीवन सैनिक सेवामा बित्यो । उनले देश बाहिरका फौजीसँग लड्नु परेको थियो ।
पहिले एकीकरण नगरेको भए र अमरसिंह थापाले त्यो प्रतिभाशाली योगदान अंगे्रजसँग देखाउन पाउने आशा पनि कम हुन्थ्यो । आधुनिक नेपालको परिकल्पना नै हुने थिएन । आज नयाँ नेपाल भन्ने त कुरै आउने थिएन । आए पनि अर्कै ढंगमा हुन्थ्यो होला । त्यसैले राष्ट्रको लागि मरिमेट्ने योद्धालाई राष्ट्र नै अर्कोले लिन र खान खोज्दा सिंहको जस्तो आक्रमक शैलीमा अंगे्रजसँग लडाइँ गर्न तम्सिए । रगत तातेको समयमा अंगे्रजले धन, दौलत, मानसम्मानको लोभ देखाएर समर्पण गर्न आउ भनेको पछि कर्मवीर योद्धालाई असह्य भयो । वीर बडाकाजी अमरसिंह थापाले देशको लागि विभिन्न जिल्लाका किल्ला, गढ, भन्ज्याङ आदि स्थानमा नै शत्रुलाई रोक्ने काम गरे । यसरी दुस्मनलाई थर्काइ, फर्काइ दिएकाले नै अमरसिंहको वास्तविकता उजागर हुन गएको छ । देश जोगाउन र बनाउन, विदेशी शत्रु भगाउने र देश बचाउने योद्धा वीर बडाकाजी अमरसिं थापा नेपालमा सधैं अमर ररिहनेछन् ।
अमरसिंह थापा, पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रूपमा विसं। १८०८ साल साउन १२ गते जन्म भई १८७३ मा गोसाईंकुण्डको हिमालयतिर नै ब्रह्मलीन भए ।







