Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समाज

वैदेशिक रोजगारीको अर्को पाटो: एक दम्पतीको जीवनको अन्त्य

वैदेशिक रोजगारीको अर्को पाटो: एक दम्पतीको जीवनको अन्त्य

वैदेशिक रोजगारीबाट फर्किएपछि आफू कमजोर भएकोले पनि कृष्णले अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै श्रीमती रुष्मामाथि शंका गरे।

वैदेशिक रोजगारीको अर्को पाटो: एक दम्पतीको जीवनको अन्त्य
images

प्रतिमा सिलवाल/ चितवन । चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो।

images
images

मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना ४३ वर्षीय श्रीमान कृष्णप्रसाद आचार्यले विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट तथा गाली बेइज्जती गरेकोले घर बस्न नसक्ने बताउनुभयो।

रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने समेत जनाउनुभएको थियो। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा प्रहरीले रुष्माको माइती पक्ष तथा कृष्णको परिवारसहित राखेर छलफल गरायो। उनीहरूले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग अलग फ्ल्याटमा बस्ने गरि सहमति गराइदिए। बाँकी छलफल असार १७ गते गर्नेगरी दुवैजना घर फर्किए।

३ गते कागजमा सहीछाप गरेर फर्किएपछि पनि श्रीमानको कुटपिट नरोकिएको भन्दै १७ गते अगाडि नै रुष्मा फेरि प्रहरीमा पुग्नुभयो। छलफल गरेर पुन: फर्किएका यी दुवै १७ गते प्रहरीमा उपस्थित भए। तर, रुष्माको बुबाको समय नमिलेको कारण असारकै ३१ गते आउनु भनेर प्रहरीले फर्काइदियो।

असारको ३१ गते पुन: जिल्ला प्रहरी कार्यालय चितवनमा रुष्माका परिवार र कृष्णका परिवार जम्मा भए। त्यो दिन आउँदा दुबै जना एकअर्कासँग सँगसँगै बस्न नसक्नेमा सहमत थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख पूजा कार्की दुबै जना सँगै बस्न भन्दा सम्बन्ध बिच्छेद नै गरेर बस्नेमा सहमत भएको बताउनुहुन्छ।

असार ३१ गतेको छलफलमा पनि प्रहरीले एउटा कागज गरायो। जसमा रुष्मा र कृष्णले हस्ताक्षर गरेको उक्त कागजमा विदेशबाट फर्किएपछि कृष्णले गरेको कुटपिट र बेइज्जतीका कारण सँगै बस्नै नसकिने रुष्माले बताएको र कृष्ण पनि सोही कुरामा सहमत भएको उल्लेख गरिएको छ। प्रहरीमा मिल्न नसक्ने भनेपछि दुवैजना आफूसँग भएको जेथा भाग लगाएर सम्बन्ध बिच्छेद गर्न सहमत भएका थिए।

कृष्ण १५ वर्षभन्दा लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। रुष्मा तोरीखेतमा रहेको एक प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो। एक स्थानीय भन्छन्, उनीहरूबीचमा नराम्रो हामीले कहिल्यै थाहा पाएनौँ। तर, वैदेशिक रोजगारीको कारणले लामो समय छुट्टाछुट्टै रहँदा एकअर्काबीचमा फाटो आएको हुनसक्छ।

हुन पनि जेठको १९ गतेमात्रै कृष्ण नेपाल फर्किनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा कृष्णको श्रवणशक्ति कमजोर भएको थियो। केही कुरा ध्यान दिएर मात्रै सुन्न सक्ने वा कानमा मेसिन लगाएर मात्रै प्रष्ट सुन्न सक्ने हुनुभएको थियो कृष्ण।

प्रहरीको महिला सेल प्रमुख कार्की भन्नुहुन्छ, “आफू कमजोर भएकोले पनि कृष्णले श्रीमती रुष्मामाथि शंका गरेको हो कि भन्ने अनुमान लगाएका थियौँ। उहाँ मेसिनको सहाराले मात्र सुन्न सक्नुहुन्थ्यो। ”

प्रहरीसँग अदालतमा जाने बेहोराको सहमति पनि सोही अनुसार प्रहरीले उनीहरूलाई कागज पनि गराएको थियो। प्रहरी पनि आचार्य दम्पती सम्बन्ध बिच्छेदको प्रकृयामा गयो भन्ने ठानेर बसेका थिए।

गएराती साढे १० बजे एक्कासि कृष्णले रुष्माको हत्या गरेको खबरले प्रहरीलाई पनि झस्कायो। कृष्णको घरमा आमा बट्टाइदेवी आचार्य र उनीहरूका १२ वर्षीया छोरी थिइन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आमा बट्टाइदेवी पनि हिजो घरमा हुनुहुन्थेन भने छोरीले भने बाबुले आमालाई खुकुरी प्रहार गरेपछि रुँदै सडकमा गुहार माग्न निस्किएकी थिइन्।

कृष्णले गएराती रुष्माको हत्या मात्रै गरेनन्। श्रीमतीको हत्यापछि आफै पनि घरको तीनतला माथिबाट हामफाले। चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारी भन्नुहुन्छ, ‘कृष्ण भागेको भन्दा पनि घटना हेर्दा श्रीमतीको हत्या पछि आत्महत्या गर्ने उद्देश्यले नै तीन तला माथिबाट हामफालेको देखिन्छ।’

यद्यपि घटनाको पूरा अनुसन्धान हुन बाँकी नै छ। अहिले दुबैको शव भरतपुर अस्पतालको शव गृहमा छ।

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - १९:२८:३६ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology