पोखरा, २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबाको नाममा बजेट नछुट्याउन निर्देशन दिएका छन् । उनका प्रेस संयोजक भरत कोइरालाले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीले बजेट नचाहिने बताएको जानकारी गराएका छन् ।
“गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलज्यूको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ,
“आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको व्यहोरो जानकारी गराइन्छ ।”