काठमाण्डौ, २४ असार । नेकपा एकीकृत समाजवादीले सङ्गठन विस्तारको कामलाइ तिब्रता दिने निर्णय गरेको छ । आज सम्पन्न सचिवालय बैठकले हालै सम्पन्न केन्द्रीय परिषद् बैठकको निर्णय अनुसार सङ्गठन विस्तारमा लागिपर्ने निर्णय भएको बैठकपछि सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार देशका १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी सङ्गठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरू बिस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय भएको छ । बैठकले संघ र प्रदेशसभा निर्वाचनको तयारीलाइ तिब्र पार्ने निर्णय पनि गरेको छ ।
मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भएको पनि नेता खनालले बताउनुभयो ।
यसैबीच, बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय गरेको पनि बताउनुभयो ।