Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

सौराहामा दसैँ बिदामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो

सौराहामा दसैँ बिदामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो

images

इच्छाकामना न्युज

११, कार्तिक २०८३
सौराहामा दसैँ बिदामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो
images

नारायणगढ (चितवन) पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दसैँ बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

दसैँको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ । पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन् । सौराहामा पर्यटन व्यवसाय गर्दै आउनुभएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित भएको बताउनुभयो ।

पर्यटकको आगमन बढेपछि होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ ।” पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै उहाँले पछिल्लो समय पाहुनाको चाप बढेको बताउनुभयो ।

सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो । पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिसोर्टमा रहेका सबै कोठा पछिल्ला दुई–तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाहुनालाई कोठा पु¥याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन् ।”

पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो । सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ ।

उहाँले सौराहा भ्रमणमा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाचलगायतका गतिविधि प्रमुख आकर्षण रहेको बताउनुभयो । अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेको उल्लेख गर्दै उहाँले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गर्नुभयो ।

सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि जीप सञ्चालनमा रहेका छन् । राप्ती नदीमा डुङ्गा सयर तथा हात्ती सफारीको व्यवस्था छ । डुङ्गा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । पर्यटकको मागअनुसार हात्ती सफारीलगायतका सेवा उपलब्ध गराइने तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ ।” यसले पर्यटन व्यवसायीलाई ठूलो राहत र नयाँ उत्साह दिएको उहाँको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताउनुभयो । उहाँका अनुसार यसपटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

उहाँले भन्नुभयो, “हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ ।”

भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उहाँले बताउनुभयो । बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उहाँको भनाइ छ ।

सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १४:३६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology