उषा तामाङ, काठमाडौँ, १२ जेठ । स्थानीय तहमा निर्वाचित वडा अध्यक्षहरू वडावासीको आवश्यकताका आधारमा बजेट तयार पार्ने छलफलमा जुटेका छन् । दोस्रो कार्यकालका लागि भएको स्थानीय तहको निर्वाचनमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष पदमा ३५ हजारभन्दा धेरैले उम्मेदवारी दिएका थिए । हालसम्म ६ हजारभन्दा धेरै अध्यक्षसहित जनप्रतिनिधि वडाले पाइसकेका छन् ।
निर्वाचित वडा अध्यक्षहरूले आफ्नो वडावासीको आवश्यकता अनुसार नीति कार्यक्रम तथा बजेट बनाउनेगरि तयारीमा जुटेका छन् । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ मा निर्वाचित वडा अध्यक्ष तपेन्द्र विष्टले शिक्षा, खानेपानी लगायत विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटका बारेमा छलफल चलाइरहेको बताउनुभयो ।
धनुषाको औरही गाउँपालिका ६ का अध्यक्ष शंकरप्रसाद साहले वडामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा देखापरेको समस्यालाई समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्षले नागरिकलाई सास्तीबाट मुक्त गराउन प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने, पुर्वाधार विकासको अनुगमनमा कडाइ गर्नुपर्ने स्थानीय तहका विज्ञ पुरुषोत्तम नेपालको भनाइ छ ।
वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेश गर्ने अधिकार अध्यक्षलाई छ । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, त्यसको अनुगमन तथासमिक्षा गर्ने अधिकार पनि वडा अध्यक्षलाई छ ।