सामान्य तया लिंगको आधारमा हुने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा तेस्रो लिंगी भएकै आधारमा गरिने हिंसा लैङ्गिक हिंसा भनी बझ्न सकिन्छ । महिला भएकै कारण आफ्नो परिवार र समाजबाट हर्ने सामाजिक मूल्य, मान्यता वा दृष्टिकोणका आधारमा उ (महिला) भित्र रहेको अन्तरमुखी प्र्रतिभा, संभावना र श्रृजनात्मक क्षमतालाई बाहिर प्रष्फूटन हुन नदिन विभिन्न कारण र बाहना बनाई रुकावट पैदा गर्नु एकातिर पिडा छ भने अर्काे तर्फ महिलाहरुलाई समावेशी सिद्धान्तको आधारमा महत्वपूर्ण जिम्मेवारीहरु पुरुष सरह समान तवरले कुनै पनि स्थानमा समावेस गरिएको पाईदैन । उच्च निकायमा सक्षम महिलाहरुको सहभागीता, सुनुवाई र सम्बोधन सहजै रुपमा प्राप्ती गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो । त्यसोत समग्र अवस्थालाई मध्य नजर गर्ने हो भने महिलालाई अझै पनि दोश्रो दर्जाको नागरीकको रुपमा हर्ने पवृत्ति हावि देखिन्छ ।
लैंगिक हिंसा समाजका हरेक तह, चरण र स्थानमा पाईन्छ । त्यसमा पनि महिलाले पुरुष प्रति गरिने हिंसा भन्दा पुरुषले महिला प्रति गरिने हिंसा बाहुल्यता वा संख्यात्मक रुपमा धेरै गुणा बढी छ जसमा मानसिक तथा शारिरीक हिंसा, राजनैतिक, सामाजिक, परंपरागत हिंसा,यौन दुव्र्यवहार, दाईजो, बालविवाह, बहुबिवाह, चेलीबेटी बेचविखन, सुचना तथा सञ्चार र स्वतन्त्रता जस्ता विषयमा बढी हिंसा भएको पाईन्छ साथै महिलाले महिलालाई गरिने हिंसा, उच्च वर्गले निम्न वर्गलाई गरिने हिंसा,जातिय आधारमा, भौगोलिक आधारमा, धर्म, संस्कृति तथा प्रतिष्ठाको आधारमा समेत गरिने हिंसाहरु समाज विकासका बाधकका रुपमा रहेका छन् ।
लैगिक हिंसा (महिला हिंसा) प्राय महिलाले महिलालाई गरिने हिंसालाई गौण रुपमा लिएता पनि महिला हिंसा बिरुद्धको यही १६ दिने अभियान कार्यक्रम चलिरहेकैे समयमा पनि कहिं, कतै, कुनै समय वा बहानामा माथिल्लो स्तरका महिलाहरुद्धारा तल्लो स्तरका महिलाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा थाहा नपाउने तरीकाले उपेक्षित वा विभेदमा नपर्ला भन्न सकिदैन त्यसअर्थ सबै महिलाले बुझ्न आवस्यक छ ।
कानुनी संयन्त्र र कार्यान्वयनको अभाव, परंपरागत कुप्रथालाई प्राथमिकता, अधिकार र जिम्मेवारीमा विभेद, सुरक्षाको अभाव तथा पुरुष प्रधान सोचका कारण महिलाको सर्वाङ्गीण विकासमा रुकावट, शारीरिक तथा मानसिक असर, समाजबाट बहिष्कृत हुनु, जोखिम तथा असुरक्षित गर्भपतन, गरिवी, परनिर्भरता, आत्मवल कमजोर तथा आर्थिक र पारिवारीक अवस्था समेतलाई दिर्घकालिन रुपमा असर पार्ने हुन्छ ।
महिला सचेत भएमा समाजका हरेक क्षेत्रमा विकास गर्न ठूलो टेवा पुग्ने हुनाले पुरुष सरह महिलालाई समान र स्वतन्त्र अवसरको खांचो देखिन्छ नकी माया देखाए जस्तो बिचराको संज्ञा होईन । जब महिलाले आफूलाई परिस्कृत रुपमा पाउँछ तव उसले उच्च मनोवलका साथ आफ्नो व्यक्तिगत, सामाजिक तथा अन्य सम्पूर्ण काम स्वच्छ रुपमा मनै देखि आत्म निर्णयको अधिकार प्रयोग गर्दै घर, परिवार र समाजलाई सवल, सक्षम तथा अब्बल बनाउन साथ दिदैं राष्ट्रिय अर्थतन्त्रलाई समेत सहयोग पुर्याउने भएकोले महिलालाई सधै आत्मनिर्भर बनाउनको लागी एड्भोकेसी अर्थात पैरवी र सीपमूलक गतिविधिहरुमा संगलग्न गराउन र बढाउन टड्कारो देखिन्छ । महिला माथि हिंसा गर्नेलाई हदै सम्मको कानुनी सजाय, सामाजिक र राजनैतिक अवसर र भूमिकाहरु प्रदान गर्ने, निती, नियम तथा ऐनको पूर्ण रुपमा पालना गर्ने, विकासका हरेक कृयाकलापमा पुरुषले महिलालाई र महिलाले पुरुषलाई साथ दिएमा, महिला शसक्तिकरणका लागि लैगिक मैत्री तथा लैङ्गिक उदारवादी बजेट कार्यान्वयन गरेर साथै समानताको निमित्त समता मूलक अवधारणा जसमा समान अवसर, समान पहुच, समान व्यवहार, समान निर्णय, समान अधिकार, समान सहभागीता, समान मूल्याङ्कन एवं सामाजिक विभेदको अन्त्य भएमा लैंगिक हिंसा न्यूनिकरण गर्न सकिन्छ ।
लैंगिक हिंसा न्यूनिकरण तथा निवारणका लागी नेपाल सरकारका कानुनी व्यवस्थाहरुमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि(संहिता) २०७४ र फौजदारी कसुर ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, श्रम ऐन २०७४, घरेलु हिंसा ऐन २०६६, छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४, बोक्सी आरोप २०७२ तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ आदी छन ।
मानव जीवनको हरेक चरणमा देखा पर्ने महिला हिंसा बिरुद्धको १६ दिने अभियान सन् १९९१ देखि हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय रुपमा मनाउने गरेको पाईन्छ तथापी महिलाको आत्म निर्यायको अधिकार, शरीरको अधिकार, महिलाको सुनुवाईको अधिकार तथा प्रजनन स्वास्थ्य जस्ता नितान्तै संवेदनशिल जस्ता क्षेत्रका भूमिकाबाट बन्चित भई परिवार र श्रीमानको चाहना र ईच्छानुरुपका निर्णयमा सिमित हुनु पर्ने तितो एथार्थ विद्यमान रहेको अवस्थामा महिलाको पहिचान र सकारात्मक परिवर्तनका लागी महिला तथा मानव अधिकारकर्मीहरुले वकालत गर्दै आएता पनि अपवाद बाहेक बोलेको जस्तो सहज र अपेक्षित रुपमा विकास हुन सकेको छैन । सदिऔ देखि चलि आएको परंम्परागत शैली र सोचका कारण महिलाले आफ्नो पहिचानको निमित्त बावुको, श्रीमानको ,दाजुभाईको, ससुराको, मामा तथा देवरको नाम संग जोडिनु पर्ने अवस्था भनेको महिलाले आफ्नो पहिचान गुम गर्नु हो, आत्मवल कमजोर बन्दै जानु हो, परनिर्भर बन्दै जानु हो र अन्तमा महिलाको अस्थित्व मेट्नु हो, त्यसैले समावेशी, समुन्नत र समतामूलक समाजको लागी महिलाले आफ्नै पहिचान सहितको हरेक निर्णय पकृयामा समावेश हुदै निर्णयक भूमिका र सबै स्थानमा अधिकार सुनिश्चित गर्नका लागी अग्रणी भुमिका निभाउन अपरिहार्य छ ।
हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय रुपमा मनाउदै आएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई सफल पार्नका लागी हाम्रो देशको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ र अन्तराष्ट्रिय नारा “Orange the World: Fund, Respond, Prevent, collect Û” सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा लैगिक हिंसा बिरुद्ध विविध कार्यक्रमहरुका साथ आज १० डिसेम्बर समापन हुदै गर्दा लैङ्गिक हिंसाबाट मुक्त भई अर्थपूर्ण जीवनका लागी हरेक महिलाहरुमा लिडरसीपको भूमिका निर्वाह गर्दै र अपनत्व सहित ३३ प्रतिशत महिलाको हक र अधिकारको स्पीडलाई क्षमता, योग्यता र दक्षताको आधारमा अगाडी बढाउन आवस्यक छ ।
लैगिक हिंसा बिरुद्धको यो अभियान कार्यक्रमले आगामी दिनहरुमा मानव अधिकारको सुनिश्चत र हिंसा बिरुद्ध आवाज उठान गर्दै लैंगिक हिंसा मुक्त भई महिला माथिका अनेकौ जिम्मेवारीका बोझ घटी सार्थक र आनन्दको श्वास फेर्न सक्ने भय रहित वातावरण, लैगिक मैत्री र दिगो विकासमा थप सहयोग पुग्ने छ । (सन्दर्भः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान, २०७७)