काठमाण्डौ, ७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच गोरखकाली रबर उद्योगको विषयमा छलफल भएको छ ।
मुख्यमन्त्री पोखरेलले गोरखा नगरपालिका १३ मा रहेको रबर उद्योग संचालनका लागि पहल गर्न प्रधानमन्त्री देउवा सँग माग राखे ।
भेटमा मूख्यमन्त्री पोखरेलले प्रदेशभित्रका मुख्य योजनाहरूको सूची संघ सरकारलाई बुझाएका छन् ।
संघीय सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेका बेला पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशका प्राथमिकतामा परेका योजन बुझाएका हुन् ।
राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमासमेत महत्वपूर्ण हुन सक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने आवश्यक रहेकाले योजनाहरू बुझाएको मुख्यमन्त्री पोखरेलले बताए ।

आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरूरी रहेको बताउँदै उनले भने, ‘उनले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना सन्चालनसँगै बुढीगण्डकी जलविद्युत आयोजनाको सुरूआत गर्न आग्रह गरेको छु ।’
गोरखाको लार्के नाकामा भन्सार पुर्वाधार विकास गरि व्यापार तथा वाणिज्य प्रवर्द्धन, गोरखाको आरूघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माण, देवघाटको प्रवर्द्धन लगायत योजना पनि सुझाएको उनको भनाइ छ ।
उनले यसअघि पनि २ पटकसम्म प्रधानमन्त्री देउवालाई भेटेर बजेट तथा प्रदेशका योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमासमेत उनले प्रदेशले भोग्नु परेका समस्याका बारेमा प्रदेशका तर्फबाट प्रस्तुति गरेका थिए ।
ध्यानाकर्षण पत्र लिएपछि प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बचन दिएको उनले बताए ।
प्रधानमन्त्री देउवाले उक्त ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिएका छन् ।







