अविनाश आचार्य, काठमाडौँ, २८ चैत । जेठ १५ मा बजेट ल्याउनुपर्ने संंंवैधानिक व्यवस्था अनुसार सरकारले बजेट निर्माणको तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि लगभग १६ खर्बको बजेट ल्याएको सरकारले यसपटक १ खर्ब बढाएर १७ खर्बको बजेट ल्याउने तयारी गरेको हो ।
समग्र बजेटको मोटामोटी आकार तोकिएको भएपनि मन्त्रालयगत रूपमा भने आकार तोकिसकिएको छैन । तर अर्थमन्त्रालयले बजेट निर्माणको लागि सुझाव र अपेक्षा सङ्कलनको काम भने जारी राखेको प्रवक्ता ढुण्डि प्रसाद निरौलाले जानकारी दिनुभयो ।
सम्बन्धित मन्त्रालय र मन्त्री तथा सचिवहरू दैनिक रूपमा योजना छनोट र बजेट निमार्णको प्राथमिकता निर्धारणमा व्यस्त छन् । नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको चर्चा भइरहेको छ । यस्तो अवस्थामा यस पटकको बजेट व्यावसायिक कृषि र स्वरोजगार केन्द्रीत हुनेगरि ल्याउनुपर्ने र सोही अनुसार योजना पनि बनाइ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताउनुभयो ।
महिला तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी महिला तथा बालबालिका माथी हुने हिंसा कम गर्ने र उनीहरूलाइ आत्मनिर्भर बनाउने किसिमले बजेटका कार्यक्रम ल्याउने गरि छलफलमा हुनुहुन्छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले कोरोनाले प्रभावित बनेको शिक्षा क्षेत्रको गूणस्तरियताको वृद्धि र सरकारी विद्यालयको सुधार हुने गरि बजेट निर्माण गर्ने बताउनुभयो ।
सबै मन्त्रालयका कर्मचारीहरू अहिले बजेट निर्माणको छलफलमा छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबि निवारणका कार्यक्रम सहित यसपटक नागरिकको जीवनस्तर सहित समग्र देशकै आर्थिक स्तर उकास्ने खालका योजना र बजेट ल्याउने गरि तयारी गरिरहेको सरकारको दाबी छ ।