सुसिला श्रेष्ठ, काठमाडौँ, ३ चैत । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको लागि फ्रि भिसा र फ्रि टिकट लागू भएको साढे ६ वर्ष भएपनि लागु हुन सकेको छैन । यसअवधिमा कति कामदार फ्रि भिसा र फ्रि टिकट मार्फत वैदेशिक रोजगारीमा गए भन्ने यकिन तथ्याङ्क समेत सरकारसँग छैन ।
वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले २१ असार २०७२ देखि फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । फ्रि भिसा र फ्रि टिकट लागू भएयता करिब ३० लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । तर कति कामदार फ्रि भिसा र फ्रि टिकट अन्तरगर्त गए सरकारको कुनै निकायसँग तथ्याङ्क छैन ।
हालसम्म फ्रि भिसा र फ्रि टिकट अन्तर्गत जान नपाएको गुनासो नै नआएको वैदेशिक रोजगार विभागले जनाएको छ । कामदारसँग बढि पैसा लिए पनि मेनपावर कम्पनीले १० हजारकै रसिद विभागमा बुझाउने गरेको विभागका निर्देशक तथा सुचना अधिकारी कृष्ण प्रसाद भुसालले बताउनुभयो ।
सरकारले फ्रि भिसा र फ्रि टिकट लागु गरेको कामदारलाई थाहा भएपनि पैसा नतिरी जान नपाइने बाध्यता रहेको उनीहरु बताउँछन् । सरकारले नाम मात्रको अनुगमन गर्दा मेनपावर व्यवसायीले कामदारलाई ठगिरहेका छन् ।