Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सडक विस्तार : मुग्लिन–पोखरा सडकखण्डको ५८ सय रुख काटियो

सडक विस्तार : मुग्लिन–पोखरा सडकखण्डको ५८ सय रुख काटियो

इच्छाकामना न्युज

३, चैत्र २०७८
सडक विस्तार : मुग्लिन–पोखरा सडकखण्डको ५८ सय रुख काटियो
images

पोखरा, ३ चैत । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ । ​आँबुखैरेनीदेखी पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँ र कास्कीमा गरेर ५ हजार ८५१ रुख कटान भइसकेको छ । तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्नेछ । जसमध्ये तनहुँमा मात्रै पाँच हजार रुख काटिएको हो । कास्कीतर्फ ८५१ रुख काटिएको आयोजनाले जनाएको छ । 

images
images

८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो । जामुने–पोखरा पश्चिम खण्डको ३८.८८ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको होे । पुर्वको तुलनामा पश्चिम खण्डको कामको गति कम देखिन्छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डको दुई हजार ८०० रुख कटान गरिएको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार यो खण्डमा चार हजार ६७१ रुख कटान गर्नुपर्नेछ । जामुने पोखरा खण्डको तुलनामा यो खण्डमा केही हदसम्म काम भएको देखिन्छ ।  रुख कटानसँगै सडक फराकिलो बनाउने काम पनि भईरहेको सुवेदीले बताए । ‘सडक फराकिलो बनाउनेसँगै ग्याबिन जाली राख्ने, पर्खाल लगाउने काम हुदैछ । कल्भर्ट बनाउन पनि थाल्याछन्’, आयोजना प्रमुख सुवेदी भन्छन्, ’आवश्यकता अनुसार बाटो पुरै फराकिलो कतै पनि भएको छैन् ।  तर फराकिलो बनाउने काम धमाधम भइरहेको छ ।’

जामुने–पोखरा पश्चिम खण्डमा तीन हजार ५१ रुख काटिएको छ । यो खण्ड तनहुँ र कास्की दुई जिल्लामा पर्दछ । तनहुँमा दुई हजार २०० र कास्कीमा ८५१ रुख कटान गरिएको योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । जामुने–पोखरा खण्डको तनहुँतर्फ रुख कटानको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । ‘रुख काट्दा विधुतिय लाइनलाई असर पार्ने बाहेक सबैजसो रुख काटिएको छ’, उनले भने । रुख कटान सकाएर विद्युत लाइन र खानेपानीको पाइप स्थानतरण गरेपछि सडक फराकिलो बनाउने काम थालिने स उनको भनाई छ । जामुनेदेखि कुम्लेखोलासम्म १० किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युतको पोल स्थानतरण भइसकेको श्रेष्ठले बताए ।

सबै रुख काटेर सकेपछि चार लेन सडक आयोजनाले डिभिजन वन कार्यालयलाई बुझाउनेछ । वन कार्यालयले सडक स्तरोन्नतीका लागि काटिएको काठ लिलामी प्रकृयाबाट विक्री गर्ने जनाएको छ ।

रुख कटानको काम सुरु भएसँगै पृथ्वी राजमार्र्गको तनहुँ खण्डमा सवारी जाम बढ्न थालेको छ । रुख कटानकै कारण जिल्लावासी विद्युत्त आउने जाने समस्याले आजित छन् । आँबुखैरेनी जामुने खण्डमा सडक फराकिलो बनाउन कटान थालिएसँगै धुलोले यात्रा गर्र्न सास्ती भएको पाइन्छ ।

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्ग २०२६ सालमा रेखांकन भएको थियो । सवारी चाप थेग्न नसक्ने अवस्था भएपछि चार लेनको बनाउन सुरु गरिएको हो । आँबुखैरेनीदेखी मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाईन हुदैँछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविधुत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको जनाईएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस्तैगरी जामुने–पोखरा आठ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाईएको हो । चालु आर्थिक बर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागी चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  रातोपाटीबाट

 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०८:१९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology