Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्रकाश सपुत जी, पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न –“आत्म स्वाभिमानको हो”

प्रकाश सपुत जी, पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न –“आत्म स्वाभिमानको हो”

रमेश थापा मगर

२, चैत्र २०७८
प्रकाश सपुत जी, पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न –“आत्म स्वाभिमानको हो”
images

कला कलाको लागि या कला जीवनको लागि, यस विषय माथिको बहस निरन्तर चलिरहेकोछ र चलिरहने छ । कला केवल कलाका लागि ठान्नेहरु कलाबाट आनन्द र मनोरञ्जन मात्र चाहन्छन् । स्रष्टाद्वारा सिर्जित कला सस्तो लोकप्रियताका लागि होस् वा क्षणिक मनोरञ्जनका लागि केवल त्यसले मानिसलाई आनन्द प्रदान गरे हुन्छ । ती कला साहित्यले समाजलाई कस्ता सन्देश दिन्छन् ? मानिसमा कस्तो मनोदशा र मनोविज्ञान पैदा गर्छन् ? मानिसको जीवनमा आशा जगाउँछ या निराशा ? यस बारे कला कलाको लागि भन्नेहरुलाई कुनै चासो चिन्ता हुदैन ।

images
images

उनीहरुलाई केवल कला र साहित्यबाट मनोरञ्जन र आनन्द आए हुन्छ । तर कला जीवनका लागि भन्नेहरु कला वा साहित्यबाट आनन्दानुभूति मात्रै होइन त्यसले समाजलाई रुपान्तरण गर्नुका साथै मानिसहरुमा जीवनप्रति आशा र विश्वास जगाओस् भन्ने चाहान्छन् । ती कला साहित्यले मानिसहरुलाई व्यूझाउँछन् , चेतना प्रदान गर्छन्, जागरुक बनाउँछन्, सत्य र वास्तविक धरातलमा उभिएर अन्याय र अत्याचार विरुद्ध संगठित हुन सिकाउँछ र कला सस्तो मनोरञ्जनका लागि नभई जीवनको लागि भन्ने पाठ सिकाउँछ ।

वर्गीय समाजमा कला साहित्य पनि वर्गीय नै हुने गर्दछ । हामी बाँचिरहेको समाज वर्गीय समाज हो ।कार्लमार्क्स भन्छन् –समाजको व्याख्या सबैले गर्छन् , मुख्य कुरा त्यसलाई बदल्नु हो ।कला कलाका लागि भन्ने स्रष्टाहरुले केवल समाजको व्याख्या मात्र गर्छन्, जीवनका आँशु-हाँसो, सुख-दुख, घाम-छाँया, उकाली-ओरालीलाई सुन्दर ढंगले व्यक्त गर्छन् तर त्यस दुख पीडाबाट मुक्तिका उपाय र जीवन बदल्ने सूत्र बताउदैन्, जीवन र जगत्‌प्रति उज्यालो दियो सल्काउदैनन्, आशा र विश्वास जगाउदैनन् । केवल निभेको विश्वास र टुटेको सपना छाडेर जान्छन् । अन्तमा त्यसको परिणाम निरासा र आत्महत्या हुन्छ । त्यसैले यस्ता खाले कला साहित्यले समाज र मानिसको जीवनलाई वदल्न सक्दैन केवल व्याख्या मात्र गर्छ र बदलामा जिवनप्रतिको निस्सारता वा निरासा छाडेर जान्छ ।

'त्यसैले तपाईको पीर नामक गीति भिडियो केवल कला कलाको लागि मात्र भएको छ ।यसले आनन्द र मनोरञ्जन त प्रदान गर्ला तर मानिसको स्वाभिमानपूर्वक बाँच्ने आत्म गौरव निमोठिएको छ र बाँच्नका लागि श्रम र पसिना बगाउनु भन्दा शरीर बेच्नु (देह व्यापार गर्नु) ठीक छ भन्ने सन्देश प्रवाह भएको छ ।'

कला, साहित्य समाजको दर्पण हो । मानिसले भोगेका भोगाइहरुलाई कथा, कविता, गीत, संगीतमा सिर्जना गर्नु साहित्यकारहरुको नवीन सिर्जना हो । प्रकाश सपुतको हाल सार्वजनिक भएको पीर नामक गीति नाटक भिडियो एउटा नवीन सिर्जना हो । यस भिडियोमा प्रस्तुत शब्द, संगीत र गायकी राम्रो छ ।

यस गीति नाटकको कथावस्तुमा माओवादी जनयुद्बका छापामार जस्ले युद्बका क्रममा वीरतापूर्वक लडाइ लडे,शान्ति प्रकृया पश्चात् यहाँ सम्म आइपुग्दा उनीहरुका जीन्दगीका कयौ मिठा सपनाहरु टुटे, नेतृत्वले देखाएका आशा र विश्वासहरु पूरा हुन सकेनन् । युद्बको समयमा उनीहरुको जति सम्मान र मूल्य थियो शान्ति प्रकृया पश्चात् अवमूल्यन भयो । नेतृत्वबाट कार्यकर्ताको रक्षा हुन सकेन विस्तारै कार्यकर्ताहरु तितर वितर भए । जीविकोपार्जनका लागि जनमुक्ति सेनाका लडाकुहरु विदेश पसे । यताउता भौतारिदै काम र मामको खोजीमा रन्थनिए । यहाँ सम्मको कथा वस्तुमा वास्तविकता र यथार्थसँग मेल खाएको छ । हिजो जनयुद्बको समयमा जीवन मरणको दोसाँधमा उभिएर युद्बको मोर्चा संहालेका छापामारहरु (जनमुक्ति सेना) ले शान्ति प्रकृया पश्चात् दुःख पाएका छन् ।

नेतृत्त्व पक्तिले कार्यकर्ताहरुको राम्ररी व्यवस्थापन गर्न नसक्दा रोजी रोटीका लागि विदेसिएका छन् । उनीहरुले श्रम र पसिना बेचेका छन् । यी घटनाहरु सत्य हुन् र नाटकमा देखिएका यी दृश्यहरु जीवनन्त छन् । तर भिडियोमा प्रस्तुत भएका यस पछिका दृश्यहरु अलिकति अनुचित, अलिकति अप्ठेरो र अलिकति अस्वाभाविक छन् । दृश्यमा यौनकर्मी पनि लडाकु र त्यसलाई भोग्न जाने पनि लडाकुनै देखाइएको छ । प्रश्न यही दृश्य माथिको हो ।

अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा आफ्नो कुरा भन्न पाइन्छ । देखेका, भोगेका र अनुभव गरेका कुरालाई साहित्य सिर्जनामा उतार्न पाइन्छ तर स्वतन्त्रता भनेको अनुशासन पनि हो । त्यसलाई विवेक भने पनि हुन्छ । स्रष्टाहरुले त्यसलाई सम्मान गर्नुपर्दछ । लडाकुहरुले बाँच्नका लागि देह व्यापार गरेको, दृश्यमा स्रष्टा प्रकाश सपुतले विवेक पुर्‍याएको देखिएन । हाम्रो विमति र प्रश्न यही दृश्यमाथि हो । जनयुद्बको समयमा फलामे अनुशासनमा बाधिएका योद्बाहरु स्वाभिमान गिराएर यौनकर्ममा लागेका छैनन् । उनीहरुले जतिसुकै दुख पाएपनि बाँच्नका लागि शरीर बेचेका (घृणित यौन कर्ममा लागेका) छैनन् । तसर्थ सर्जकले गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी थापेर लडेका योद्बाहरुलाई बेश्यावृति गर्न लगाइएको दृश्य अशोभनीय छ, निन्दनीय छ । यसले जनयुद्बका शहिद वेपत्ता, घाइते, अपाङ्ग,लडाकु योद्बाहरुको स्वाभिमानमा चोट लागेको छ । आत्म सम्मानमा ठेस पुगेको  छ ।

यसपछि नाटकले दिने सन्देश पनि निरासा वादी र पलायन वादी छ । तपाई जस्ता नव स्रस्टाहरुले  आफ्ना सिर्जनाहरु मार्फत विकृति र विसंगतिको यथार्थ चित्रण गर्दै युवापुस्तामा आशा, भरोसा र विश्वास जगाउनु पर्ने हो तर नाटकको अन्त्य अत्यन्त निरासा वादी छ । त्यसले दिने सन्देश भनेको निरासा र पलायन नै हो । त्यसैले तपाईको पीर नामक गीति भिडियो केवल कला कलाको लागि मात्र भएको छ ।यसले आनन्द र मनोरञ्जन त प्रदान गर्ला तर मानिसको स्वाभिमानपूर्वक बाँच्ने आत्म गौरव निमोठिएको छ र बाँच्नका लागि श्रम र पसिना बगाउनु भन्दा शरीर बेच्नु (देह व्यापार गर्नु) ठीक छ भन्ने सन्देश प्रवाह भएको छ ।

अन्तमा जुन उत्साहका साथ यो भिडियो सार्वजनिक गर्नु भो  यस भिडियो सबैले मन पराइदेलान्, वाहवाही र तारिफ पाइएला, गौरव र आत्मसम्मान पाइएला भन्ने अपेक्षा सहित आत्म गौरव गर्नुभएको छ । तपाई जति स्वाभिमान र गौरवपूर्वक बाँच्न चाहानु हुन्छ, हामीलाई पनि त्यतिकै स्वाभिमानपूर्वक बाँच्ने अधिकार छ ।

हामी हिजो नेकपा माओवादीद्बारा सञ्चालित जनयुद्बका क्रममा शसस्त्र युद्बमा सहभागी भएका लडाकुहरुलाई युद्ब लडेकामा कुनै पश्चाताप छैन, बरु आत्म गौरव बढेको छ । हाम्रो स्वाभिमानको छाती सगरमाथा जतिकै उच्च भएको छ । हाम्रो त्याग, तपस्या र योगदानले गणतन्त्र स्थापनामा सहयोग पुगेको छ । हिजो आवाज नभएकाहरुलाई आवाज भरिदिएकोमा, चेतनाको विउ छरेर गाउँवस्तीलाई व्युँझाएकोमा, अधिकारका वारेमा वोल्न सिकाएकोमा हामीलाई गर्व लागेको छ ।

जनमुक्ति सेनाका लडाकुहरुको गर्जन र उत्पीडित जनताहरुको संघर्षले नै निरंकुशतालाई घुडा टेकाएको हो । त्यसैले परिवर्तनका योद्धाहरु माथि गलत सन्देश जाने यस दृश्यमा पक्कै आत्म समीक्षा गर्नुहुनेछ, परिष्कृत र परिमार्जन गरी सकरात्मक सन्देश प्रवाह गर्नुहुनेछ, निर्णय तपाईकै हो, तपाईको जीवन तपाईले बाँच्ने हो, हाम्रो जीवन हामीले वाच्ने हो तर प्रकाश सपुत जी पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न – आत्म स्वाभिमानको हो । त्यसैले भन्छौ कला कलाको लागि होइन्, कला जीवनको लागि हुनु पर्छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २१:५४:१३ बजे

रमेश थापा मगर

लेखक गोरखाको शहिद लखन गाउँपालिकाका अध्यक्ष हुन् ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology