Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सम्झनामा अर्गानिक ‘पसगाउँ’

सम्झनामा अर्गानिक ‘पसगाउँ’

इच्छाकामना न्युज

१३, मंसिर २०७७
सम्झनामा अर्गानिक ‘पसगाउँ’
images
  • देवीजंग तमु

रोधीर प्रेतबा ङोल्स्यो च्योंडे
क्योलाई बेल्ले माया लमो
स्युरबा धी, ङ्योला रोधी
प्रे तसी सेबा राबा लमो

images
images

अर्थात रोधीमा भेट भएको कान्छी सोल्टिनी
तिमीलाई धेरै माया गर्छु
घुमाउने घरमा हाम्रो रोधी
सँगै भएर नाचगान गरौंला ।

कोरोना कहरकाबीच निस्केको जोखिम यात्रा, उकाली–ओराली र घुम्तीले गन्तव्यसम्म समयमै पुग्छ पुग्दैन चिन्ता । मंसिर ४ गते बिहान १० बजे नै तय गरेको पसगाउँ यात्रा घडीको सुईले १२ बजाएपछि मात्र यात्राको घण्टी बज्यो पोखराबाट । पोखरा १३ भद्रकालीबाट २८ कालिकास्थान हुँदै सोझिएको यात्रा मादी १० को बेशी हुँदै मादी ९ मुग्रीबेशीबाट लमजुङको क्होलासोथर गाउँपालिकातर्फ अगाडि बढ्यो । करिव साँझ ५ बजे हामी आफ्नो गन्तव्यमा पुग्न सफल भयौं ।

पैकों नासा अर्थात पसगाउँ । लमजुङ जिल्लाको क्होला सोथर गाउँपालिका वडा ६ अन्तर्गत पर्ने गुरुङहरूको बाक्लो र सुन्दर गाउँ हो पसगाउँ । करिव १८६ घरधुरी रहेको यो गाउँ समुद्री सतहबाट १६५० सय मिटरको उचाईमा अवस्थित छ । यहाँ बोलिने प्रमुख भाषा गुरुङ नै हो । धर्ममा भने आधिकांश बौद्ध, हिन्दु र केही मात्रामा बोन धर्म अंगालेको पाइन्छ ।

४ मंसिरमा पसगाउँ पुगेका हामी ६ गते पोखरा फर्केका थियौं । हामी अर्थात मसहित सिक्लेसका ९ जना साथीहरू । सिक्लेसबाट पसगाउँ सिक्लेसका ठम्मरसिं दाई र पसगाउँका मनुदेबी गुरुङको काम बिशेषमा गएका थियौं, बोलीचाली भाषामा भन्नुपर्दा ससुराली पुगेका थियौं । भुजुङ, पसगाउँ लगायत लमजुङका गुरुङ गाउँ र कास्कीको सिक्लेस, ताङतिङ, याङ्जाकोट लगायतका गुरुङ गाउँहरुबीच एकापसमा नाता कुटुम्ब जोड्ने चलन पुरानो र बिद्यमान छ । यी गुरुङ गाउँहरुका रितिथिती, चालचलन र जीवनशैलीहरूमा समानता भएका कारण वर्षौदेखि नाताहरू जोडिदै आएको हुनुपर्छ ।

पसगाउँ बसाईको क्रममा केही यस्ता रमाइला किस्साहरू पनि सुन्न पाएँ । नृत्य निर्देशक एवम् स्थानीय गणेश गुरुङको भनाई अनुसार, पहिला पहिला एउटा पाहा (भ्याकुतो जस्तो तर खान मिल्ने) बराबर एकदिनको पर्मा लाउनुपर्ने, छ्याङ (साना उमेर समुहबाहेक महिला पुरुष दुबैले पिउन मिल्ने) लगायत केही नौला अभ्यासहरू हुन्थे । पाहुनाको स्वागत प्राय सबैका घरमा लोकल ‘नारे पा’बाट नै हुने गर्दछ । नारे पा नखानेहरूको लागि अर्गानिक अलैची मिश्रित चियाले स्वागत गर्दछ । कोदोको रोटीभित्र गाउँलेको सफा मन स्वागत सत्कारको क्रममा अनुभव गर्न सकिन्छ ।

ढुंगाले छाएका सुन्दर घरभित्र बस्ने गाउँलेका कोमल र सफा मनले पसगाउँ पुग्ने जो कोहीको मनलाई प्रभावित पार्छ । करिव २ दर्जन घरहरू होमस्टे संचालनका लागि दर्ता भईसकेको यस गाउँमा बिकासको क्रम जारी छ । खानेपानी, बिजुली, यातायात लगायतका पूर्वाधारहरू पुगिसकेको छ ।

दुई रात तीन दिनको बसाईको क्रममा गाउँलेका जीवन शैलीबारे प्रत्यक्ष बुझ्ने अवसर मिल्यो । धान र कोदो थन्काउन आतुर गाउँले यायायातको सहजतासँगै धान पराल बोक्ने काम प्रायको बसले नै गर्ने रहेछ । यो गाउँबाट सिङ्दी, पोसी, पर्ग्यो, गिलुङ लगायतका गाउँहरू देख्न सकिन्छ ।

रोधी परम्परा
गुरुङ समुदायको सबैभन्दा पुरानो तर लोपोन्मुख परम्पराको रूपमा रहेको रोधी परम्परालाई लिन सकिन्छ । जुन पसगाउँ पनि भने जीवित नै छ । रोधी शब्दको खास भाव र उद्देश्य दिनभरी काम गरेर थाकिरहेको बेला थकाई मार्ने चौतारी, भाङ्ग्रा, कम्मल बख्खु बुन्ने चौतारी वा दुख सुख बिसाउने चौतारी हो जस्तो लाग्छ । पसगाउँमा पनि उमेर समुह अनुसार करिव ६–७ समुहमा रोधी परिवार सक्रिय छन् । जुन रोधी परिवारले गाउँको सामाजिक कार्यमा जस्तै बाटोघाटो निर्माण, रेलिङ हाल्ने जस्ता उदाहरणीय कार्यहरू गरेको देख्न पाईन्छ । यसको अलवा गाउँमा आउने पाहुनालाई रोधी घरमा निम्तो गरी गाउँको संस्कार संस्कृतिबारे जानकारी गराउने गर्दछ ।

प्रमुख खेतीपाती

समुद्री सतहदेखि करिव १६५० मिटरको उचाईमा रहेको यस गाउँमा प्रमुख खेतीपाती भनेको धान, मकै र कोदो हो ।

गाउँको बिशेषता
पसगाउँ आफैमा सुन्दर र शान्त गाउँ हो । यहाँ रहेको अलैची खेती, चिया बगान, पुराना शैलीका घुमाउरो घर, कृष्ण चरित्र नाच, बारमासे घाटु, सती घाटु, सारङ्गी नाच र गाउँलेको आत्मियता पस गाउँका बिशेषता हुन् ।

कसरी पुग्न सकिन्छ पसगाउँ ?

काठमाडौबाट दमौली, भोर्लेटार, गिलुङ हुँदै
बेशीशहरबाट टक्सार हुँदै
पोखराबाट कालिकास्थान, थुम्सीकोट हुँदै
पोखराबाट वेगनासताल, रामबजार हुँदै
र बेशीशहरबाट घलेगाउँ, भुजुङ गाउँबाट हिडेर पसगाउँ पुग्न सकिन्छ ।

पसगाउँ बसाईको क्रममा हामीलाई समन्वय गर्नुहुने शान्तिदिप आमा समूह, साबिक ८ बडाका आमा समूह, लालीगुरास रोधी परिवार, नृत्य निर्देशक गणेश गुरुङ, नवराज गुरुङ (छोके), मनुदेबी गुरुङ भाउजु, ऐलिना गुरुङ बहिनी लगायत सबै गाउँलेप्रति सदैब आभारी रहनेछु ।

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - २०:१५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology