डम्बरबाबु बोहरा, बैतडी, २९ माघ । बैतडीको पाटन र खोड्पे बजार नजिक व्यवस्थित बसपार्क नहुँदा यात्रुलाई असुविधा भएको छ । पाटनमा रहेको बसपार्क निमार्णको काम अन्तिम चरणमा छ भने खोड्पे बसपार्कको काम आधा मात्रै भएको छ । खोड्पे बसपार्क निर्माणको काम आर्थिक बर्ष २०७३/०७४ बाट सुरु भएपनि अहिलेसम्म पनि पूरा नुहँदा सडक छेउमा ठूला सवारीसाधन रोक्ने गरिएको छ ।
बसपार्क बनीनसक्दा बजार क्षेत्रमा दुर्घटनाको जोखीम सँगै ट्राफिक ब्यवस्थापनमा समेत चुनौती थपिएको अस्थायि ट्राफिक प्रहरी पोष्ट खोड्पेका प्रहरी हवलदार गोरख बहादुर खड्काले बताउनुभयो । खोड्पे बसपार्कको काम बजेट अभावकै कारण अलपत्र परेको बसपार्क निमार्ण समितीका अध्यक्ष हरिश बिष्टको भनाइ छ । सुरुको वर्ष १९ लाख बजेट छुट्याएको सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयले बजेटलाई निरन्तरता नदिएको र स्थानिय सरकारले कुनै चासो नदिएको उहाँले बताउनुभयो ।
मुलुककै १० औ नमुना सहर अन्तर्गत पर्ने पाटन बजारको बसपार्कको काम आर्थिक वर्ष २०६७/६८ मा सुरु भएकामा हाल सम्म दुई करोड खर्च भएको नयाँ सहर आयोजना कार्यालयका सुचना अधिकारी बिरेन्द्र कुमार यादवले बताउनुभयो । सङ्घीय सरकारको बजेटबाट काम सुरु हुने तर नसकिँदै बजेट रोक्ने समस्या एकातिर छ भने स्थानीय सरकारले बाँकी काम पूरा गर्नका लागि अग्रसरता नलिएका कारण पनि बसपार्क निर्माणमा ढिलाइ भइरहेको छ ।