Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोना प्रयोगशाला नसर्दा चितवनको पक्षी प्रयोगशालामा पंक्षीरोगको परीक्षण प्रभावित

कोरोना प्रयोगशाला नसर्दा चितवनको पक्षी प्रयोगशालामा पंक्षीरोगको परीक्षण प्रभावित

रासस

२१, माघ २०७८
कोरोना प्रयोगशाला नसर्दा चितवनको पक्षी प्रयोगशालामा पंक्षीरोगको परीक्षण प्रभावित

चितवन, २१ माघ । कोरोना सङ्क्रमण सुरु भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ । पक्षीको पिसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो ।

images

नेपालमा बर्डफ्लू रोग देखापरिसकेको अवस्थामा पोल्ट्रीको राजधानीका रूपमा परिचित यहाँको राष्ट्रिय प्रयोगशालामा परीक्षणको काम गर्न नपाउँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता छ । सरोकारवालाले मानव स्वास्थ्यलाई मात्रै प्राथमिकता दिएका कारण पक्षीको पिसीआर प्रयोगशाला सञ्चालनमा ध्यान नपुगेको हो ।

राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विसं २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ । प्रयोगशालाका प्रमुख डा चेतनारायण खरेलका अनुसार अस्पतालको मुख्य पिसीआर उपकरणबाहेक अन्य सबै उपकरण र ठाउँ प्रयोगशालाकै प्रयोग भइरहेको छ । प्रयोगशाला सञ्चालन गर्न नपाउँदा कुखुरामा लाग्ने एभिएन इन्फ्लून्जा र एलाइजाजस्ता रोगको परीक्षण प्रभावित भएको उहाँले बताउनुभयो ।

प्रयोगशालाले दुईपटक भरतपुर अस्पताललाई ठाउँ खाली गरिदिन पत्राचार गरिसकेको छ भने सरोकारवाला निकायमा बोधार्थसमेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकमा तत्काल प्रयोगशाला स्थानान्तरण गर्ने विषयमा निर्णय भए पनि काम नभएको उहाँले जानकारी दिनुभयो । यहाँ परीक्षण हुन नसक्दा सङ्कलन भएको नमूनालाई प्रयोगशालाले केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाउँदै आएको छ । कार्यालयमा तीन चिकित्सकसहित १२ कर्मचारी छन् । प्रयोगशाला सञ्चालन नहुँदा कर्मचारीको समग्र कार्यक्षमता नै प्रभावित भएको खरेल बताउनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी प्रयोगशाला स्थानान्तरणका लागि गृहकार्य भइरहेको बताउनुहुन्छ । प्रयोगशालाले तीन महिनाभित्र स्थानान्तरण गरे हुने जनाएकै कारण ओमिक्रोन भेरियन्ट बढेको समयमा स्थानान्तरण नगरिएको अधिकारीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रयोगशाला सर्ने कुरा भएको जनाउँदै अझै नसरेको भए तत्काल आफूले अस्पतालसँग कुरा गर्ने बताउनुभयो । 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १०:२४:३७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology