भद्रपुर (झापा) झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् ।
अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले टिपेर भण्डारण गर्नुपरेको बताउनुभयो । पानी परे फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले टिपेर माला उन्दै कोल्डस्टोरमा राख्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
झापामा यस वर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूलखेती गरिएको छ । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा फूल उत्पादन गरिरहेका छन् ।
स्वदेशी फूलको बजार संरक्षणको माग
यसैबीच फूल सुरक्षित राख्ने चुनौतीसँगै उत्पादित फूलले उचित बजार पाउने विषयले पनि किसानलाई चिन्तित बनाएको छ । भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जाने अवस्था आउन सक्ने किसानको गुनासो छ ।
बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सात बुँदे मागपत्र बुझाएको छ । किसानले स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् ।