मुम्बई। भारतीय चर्चित टेलिभिजन शृङ्खला ‘सीआईडी’ र ‘आहट’का निर्माता तथा निर्देशक बृजेन्द्र पाल सिंह (बीपी सिंह) को हृदयाघातबाट निधन भएको छ। उनको मंगलबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय फिल्म निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत सिंहको निधनको जानकारी दिएका हुन्। उनको निधनले भारतीय टेलिभिजन क्षेत्रमा शोक छाएको छ।
सन् १९७३ मा दूरदर्शनमा समाचार क्यामेराम्यानका रूपमा करियर सुरु गरेका सिंहले पछि टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा आफ्नो पहिचान स्थापित गरेका थिए। उनले निर्माण गरेको ‘आहट’ भारतीय टेलिभिजनको चर्चित डरप्रधान शृङ्खलामध्ये एक बनेको थियो।
सन् १९९८ मा सुरु भएको ‘सीआईडी’ले उनलाई थप लोकप्रिय बनायो। दुई दशकभन्दा बढी समय प्रसारण भएको यो अपराध अनुसन्धानमा आधारित शृङ्खला भारतीय टेलिभिजनको लामो समयसम्म चल्ने कार्यक्रममध्ये एक हो। सिंहले यसमा निर्माण तथा निर्देशनसँगै डीसीपी शमशेर सिंह चित्रोलेको भूमिकामा अभिनयसमेत गरेका थिए।
सन् २००४ मा ‘सीआईडी’को एउटा भाग १११ मिनेटसम्म एकै निरन्तर शटमा छायाङ्कन गरेर कीर्तिमान कायम गरिएको थियो। सिंहले सन् २०१८ देखि २०२० सम्म भारतीय फिल्म तथा टेलिभिजन संस्थान (एफटीआईआई), पुणेको अध्यक्षका रूपमा पनि काम गरेका थिए।