Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रश्रवण क्षेत्रका प्रमुख धार्मिकस्थल मनकामना

गण्डकी प्रश्रवण क्षेत्रका प्रमुख धार्मिकस्थल मनकामना

लेविन्द्र गुरुङ

१८, पौष २०७८
गण्डकी प्रश्रवण क्षेत्रका प्रमुख धार्मिकस्थल मनकामना
images

किम्बदन्तीजन्य कथानुसार गोरखाका राजा रामशाहकी पट रानी लिलावती (विष्णावती)को पार्थिव देहत्यागपछि आदिविम्बको रुपमा मनकामनालाई मानिएको हो । आख्यानअनुसार सिद्ध गोरखनाथमा जस्तै राजा रामशाह र महारानी दुबैमा दैवीशक्ति थियो . उनीहरुको सेवा गर्ने क्रममा सिद्ध लखनथापा पनि उपस्थित हुन्थे । गोरखनाथ, महारानी लिलावती र सिद्ध लखनथापा विभिन्न ठाउँमा भेटघाट हुने र संयुक्त शक्ति साधना गर्ने गरेको विश्वास गरिन्छ ।

images
images

अकारण राजा रामशाहको मृत्यु भएपछि पतिसंग सतीजान लागेकी महारानीलाई देखेर लखनथापाले, ‘म अव कस्को सेवा गरौं ?ं भनि अलापविलाप गरेर रुन थालेछन् र महारानीले त्यो अवस्था देखेपछि लखनथापालाई भनेछन् ‘विश्वास गर, म तिमीलाई छिट्टै दर्शन दिनेछु’ भनि सती गएछन् ।

केही समयपछि कफ्याक डांडामा स्थानीय धनदेउ गुरुङ्ग नामगरेका किसानले बारीजोत्ने क्रममा हलोको फाली एउटा शिलामा अड्किन गएको र शिलालाई नियालेर हेर्दा खोस्रिएको ठाउँबाट रगत र दुध बगेको देखेर अचम्म भयो भन्ने हल्लाहुँदा सिद्ध लखनथापाले आफुलाई महारानीले गरेको बाचाअनुसार नै माता—मनकामना उत्पति भएको महसुस भएछ र त्यसै शिलालाई माईकोथान बनाई पूजाआजा गर्न थालेको भनिन्छ, त्यसैले यहाँका स्थानीयहरु मनकामनालाई माई—थान भन्ने गर्दछन ।

बैदिकयुगमा जसरी प्रकृतिका दृष्य शक्तिलाई अजेय शक्तिका पुन्ज ठानी आराधना गर्दथे त्यही परंपराको विकसित रुप साकार देवीदेवताको कल्पना, ऐतिहासिक वीरपुरुषहरुको गाथाचक्र बनाई उपासना गर्ने, मानिसहरु विभिन्न दुर्घट्नाहरुबाट त्रसित हुँदा शक्तिको आडभरोसा खोज्ने क्रममा शक्ति आरधना गर्न थालेको बुझिन्छ । गोरखाका शाहाबंशीय राजाहरुले पनि आफ्नो राज्य बलियो बनाउनको लागि शक्तिपिठहरुको उपासना गर्नेगरेको प्रष्ट छ ।

राजा पृथ्वीनारायण शाहले काठमाण्डौ विजय गर्नुअघि गरेको भाकल बुझाउन विर्सिएकोले गाउँघरमा अनिष्ठ र जनजीवन अक्रान्त हुन थालेपछि पक्कै माता मनकामना रिसाएको होला भनी बुझदा अनिष्ठ शान्तपार्न पुरश्चरण गरी नरवली पनि दिनुपर्ने भएछ (प्रा. लोकप्रसाद भट्टराई, नेपाल र एशियाली अनुसन्धान केन्द्र) । तान्त्रिक गुभाजुबाट शान्ति स्थापना गर्नको लागि अभिचारजन्य कर्मबाट मोहिनी सर्जक शक्तिले मानवाकृति (बालक) रचना गरी बली चढाई (वास्तवमा अभिचार कर्मबाट तयार भएको मानव कसैको बालक होइन) शान्ति प्रवर्धन गरिएको र त्यसैको प्रतिकात्मक पूजास्वरुप कार्तिकशुदी चतुर्दशीदेखि मार्गशुदी पन्चमीसम्म विशेष बर्षबन्धन पूजा गर्न थालेको मानिन्छ ।

मनकामनामा दैनिक नित्य पूजा र बर्षको दुई पटक नैमित्तिक (बर्षबन्धन) पूजा गरिन्छ । नित्यपूजा स्थानीय ल्हायो थापा मगरबाट र नैमित्तिक पूजा काठमाण्डौ झ्वाबहालका गुभाजु तथा बौद्धमार्गी बज्रयानी बज्रचार्यद्धारा हुन्छ । जसलाई पर्वपूजा पनि भनिन्छ । अहिले पनि मनकामनाका गुठीयार र गुठी संस्थानले बर्षबन्धन पूजाको व्यवस्थापन गर्ने गरिन्छ ।

कुनैवेला वनजंगलको छेउमा एउटा शिलालाई देउराली अथवा वनदुर्गको रुपमा माईको थान बनाई पूजा गरेहोलान् तर आजको मनकामना मन्दिर परिसरले सबैलाई मुग्ध पारेको छ । वि.स. २०७५ सालमा नेपाली काष्ठकला शैलीबाट बनाईएको झ्याल, ढोका र टुंडाल, तेलिय इट्टालाई चुनासुर्कीले जडान गरेको गारो र लगभग १९ किलोग्राम सुनको मोलम्वा गरी जीर्णोद्धार गरिएको मन्दिरले यहाँको वातावरण थप चहकिलो पारेको छ ।

मनकामना भगवती यतिधेरै भक्तजनको आस्थाको केन्द्र बन्नुमा प्रमुख कारणहरुमध्ये भगवतीको नामनै काफि छ, मनकामना, आफ्नो मनको इच्छा पुरा गराउने शक्तिपिठ, धार्मिक अन्धता होईन, अस्थालाई प्रतिफल र प्रमाणको आधारमा तौलने त गरिन्न तर मनले चिताएको भगवानले पु¥याउने काम भने मेहनती दर्शनार्थीरुको कर्मसंग पक्कै जोडिएको हुनुपर्छ । किनभने मनकामना दर्शन गर्न आउने भक्तजनहरु एकपटक आएपछि फेरी अर्कोपटक पनि आउँआऊँ लाग्ने भएकोले पटक—पटक आउने गर्दछन् भनिन्छ ।

दोश्रो, जसरी मनकामना, गोरखनाथ र गुभाजुको सम्वन्धबारे अगाडि नै बताईएको छ त्यस्तै ती सम्वन्धहरु मत्स्येन्द्रनाथसंग पनि जोडिन जाँदा काठमाण्डौका नेवार समुदायको आस्था अविचलित देखिन्छ । ती भनाईहरू यस्ता छन्, लिच्छवी राजा नरेन्द्रदेवको पालामा काठमाण्डौ स्वयम्भूमा सिद्ध गोरखनाथले सबै नागहरुलाई आफ्नो अधिनमा लिएर दिव्य साधनामा बसेकाले बाह्रवर्षसम्म बर्षा हुन नसकेको भनाई छ । गोरखनाथको साधना भंगगर्ने उपाए नभएपछि उनका गुरु मत्स्येन्द्र नाथलाई भारतको आसमदेखि एकजना बौद्धमार्गी बज्रचार्य तथा तान्त्रिक गुभाजुले काठमाण्डौ ल्याउने काम गरेछन् ।

मत्स्येन्द्रनाथ आएको थाहा भएपछि उनको ध्यान भंग भएर नागहरु उम्कन पाएकोले काठमाण्डौमा बर्षा गराएछन् त्यसैले उनलाई बर्षाको देवता तथा सहकालका देवता पनि भनिन्छ । उनलाई काठमाण्डौ ल्याउँदा वाटामा समस्या नपरोस भनेर संकटाको कलश संगै ल्याएछन् । मत्स्येन्द्रनाथलाई मन्दिर बनाइ दिएको थाहा पाएपछि संकटा पनि फिर्ताजान चाहेनन् अरे त्यसैले त्यही मन्दिरको मथिल्लो तलामा उनलाई पनि राखियो ।

काठमाण्डौमा संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथिल्लो तलामा संकटाको मूर्ति राखिएको छ । जसै काठमाण्डौ स्थित संकटाको मन्दिर पनि प्रसिद्ध भएकोले भक्तजनहरूको भीड नै देखिन्छ । मनकामना, मत्स्येन्द्रनाथ, संकटा र सिद्धगोरखनाथको सम्वन्धमा गुभाजुले जुन भूमिका निभाएको छ त्यसरी नै त्यसवेलादेखि हालसम्म आर्थिक रुपले सम्पन्न काठमाण्डौका नेवार समुदायले ती सम्वद्ध पीठहरुको अत्यन्त श्रद्धापूर्वक पूज्ने गरेको हुँदा मनकामना यो कोटीको भगवतीको रुपमा आएको देखिन्छ भने अहिले देशभरका दर्शनार्थी र केही समययता छिमेकी राष्ट्र भारतीय भक्तजनको आस्थाको केन्द्र बनेको छ ।

अर्को कारण मनकामना भगवती रहेको स्थानको भौगोलिक सुन्दरताले आराध्यदेवीको वासस्थान यता कतै थियो र अझै रहेछ भन्ने अनुभूति दिन्छ । चारैपट्टि खुला पहाडको वीचमा रहेको मनोरम हावापानी, हिंउदमा विहानै सूर्योदय भई न्यानो हुने र गर्मी महिनामा निरन्तर शीतल हावा बहने यस पुण्य भूमिको विशेषता नै हो । मनकामनाको पूजा विधि पनि भक्तजनहरुको मन तृप्त पार्ने खालको छ ।

सबै भगवतीको मन्दिरहरुमा धुपबत्ती, नैवेध, फूल, अछेताले नै पूजागर्ने भएतापनि यहाँका पुजारीले तपाईको मनोभाव बुझेर पूजा गरिदिने गर्दछन् । यदि तपाईको भाकल छभने तपाईको गोत्रसमेत सोधेर मन्त्रोचारण गर्दै संकल्प गरेर पूजा गरिदिनाले घण्टौंसम्म लाइनमा बसेको पीडा र कष्टलाई विर्सने गरी मनोकामना पुरा भएको महसुस हुन्छ ।

नेपालकै पहिलो, अत्याधुनिक प्रविधिबाट तयार गरिएको मनकामना दर्शन प्रा.लि.को केवलकार यातायातको साधन भएतापनि भगवतीको दर्शनसंग जोडिएको हुनेले यो विशिष्ठ छ । धेरै नेपालीजनले एकपटक मनकामनाको केवलकार यात्रा गर्ने इच्छा र केवलकारकै कारण त्यति धेरै उचाईमा रहेको भगवतीको दर्शन गर्ने अवसर मिलेको जस्ता सामनजस्यता छ ।

मनकामनाको उत्तरपूर्वतर्फको सिद्धलखन गुफा भएको डांडामा घुमघाम, वनभोज, गण्डकीप्रश्रवण क्षेत्रको हिमालय श्रृखला, गोरखाकालिका मन्दिर, दक्षिणतर्फको इच्छाकामना डांडा र गृष्मकालिन गुँरास फूलेको मनमोहक जंगलको पर्यावरणीय सुन्दरता दृष्यावलोकन गर्न सक्नु भयोभने अझ मनकामना दर्शनको पूर्णता प्राप्त हुन्छ ।

मनकामनाको कोशेली भनेकै आस्थाले ओतप्रोत भएकाहरुको लागि भगवान (शिला अथवा मुर्ति)को दर्शन पाएको क्षणमा मनप्रसन्न हुनु हो, त्यसगरी हिंउदभरी मनकामनाको सुन्तला प्रसिद्ध छ । मनासलु हिमाल र मनकामनाको स्वर्ण मन्दिरसंग जोडिएको तश्विर लिएर फर्कने प्रचलन पनि व्यापक छ र भगवतीको मन्दिर प्रागंणमा गएर फोटो लिने, सेल्फी खिचने, टिकटक बनाउने र सामाजिक संजालमा अपलोड गर्ने अहिलेका युवा भक्तजनहरुको दर्शन र भाकल गर्ने शैली पनि फरक ढंगले अघि बढेको देखिन्छ ।

मनकामना क्षेत्र कर्मयोगीहरुका लागि कर्मभूमि, दानवीरहरुका लागि दानभूमि, साधकहरुका लागि साधनाभूमि र मोक्षार्थीहरुका लागि मोक्षभूमि हो । यस क्षेत्रमा रहेका बनोद्यान, कलाकृति, जात्रापर्व, संस्कृति परंपरालगाएत मूर्त–अमूर्त सम्पदाहरु सबै नै दर्शनीय र संरक्षणीय छन् । अतः मनकामनाको मन्दिर केवल व्यक्तिगत मनकामना सिद्धगर्ने थलो मात्र नभएर मानसतीर्थ अथवा मानिसको अन्तरआत्मा समन्वयात्मक भावना उद्वोधन गराउने महत्वपूर्ण तीर्थस्थल बनेको छ ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:५१:०४ बजे

लेविन्द्र गुरुङ

लेखक गुरुङ मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हुनुहुन्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology