Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकै गाउँका ५० जनाले किन पाएनन् नागरिकता ?

एकै गाउँका ५० जनाले किन पाएनन् नागरिकता ?

न्युज कारखाना

२०, मंसिर २०७८
एकै गाउँका ५० जनाले किन पाएनन् नागरिकता ?
images

प्रकाश तिम्सिना, सुनसरी, २० मंसिर । 'नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ। तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?' यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की रञ्जना राउतको ।

images
images

इटहरी उपमहानगरपालिकाले सोमबार खनारमा आयोजना गरेको 'नागरिकता प्राप्तिमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम' मा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यस्तो प्रश्न राखिन् । रञ्जनाका दिदी बहिनीले १२ पास गरेका छन् । तर, नागरिकता नभएका कारण कहीँ कतै जागिर पाउन सकेका छैनन् । बुबा वर्षौंदेखि बेपत्ता छन् । आमाको विवाह अघिको नागरिकता छ । तर, उनीहरुले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन् । 

प्रमुख जिल्ला अधिकारी  इन्द्रदेव यादवले संविधानले आमाका नामबाट नागरिकता पाउने व्यवस्था गरे पनि कानुन बनिनसकेले आमाका नामबाट नागरिकता दिन नसकिएको बताए । कानुन बन्ने बित्तिकै नागरिकता दिन सकिने उनको भनाइ छ ।

कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाणपत्र पाउन नसक्दा झेलेको दुःख सुनाए । 

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरी चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरू पेस भएका थिए । धेरैजसोको बुबा बेपत्ता भएका वा नभएका र आमाको नामबाट नागरिकता पाउन नसकेको समस्या देखियो उनले बताइन् । भारतबाट नेपालमा विवाह गरी आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका र विभिन्न ठाउँदेखि बसाइँसराइ गरी आएका तर कागजपत्र नभएका कारण नागरिकता पाउन नसकेको पाइएको उनले जानकारी दिइन् । 

यस्तै आफन्तका नाममा कोही पनि थाहा पत्तो नभएका व्यक्तिहरूले पनि नागरिकता पाउन नसक्दा समस्या झेलिरहेको उनको भनाइ छ। उनीहरुले नागरिकता पाउन नसकेको गुनासो नागरिकताको सिफारिस गर्ने निकाय, वडाका अध्यक्षहरू रुपेश चौधरी र हेमानन्द दाहाल तथा नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो राखेका हुन् । 

प्रमुख जिल्ला अधिकारी यादवले सबैको कुरा सुनिसकेपछि नागरिकता प्राप्तिका लागि पुर्‍याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमकी अध्यक्ष शान्ता अधिकारीले आमाका नामबाट नागरिकता पाउने कानुन संसद्बाट चाँडै पारित हुनुपर्ने बताइन् । कार्यक्रममा वडा सचिव वालकुमार पोखरेलले वडामा सिफारिस लिन आउँदा ल्याउनुपर्ने कागजागतहरुको बारेमा जानकारी दिएका थिए। इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो। 

उपप्रमुख लक्ष्मी गौतमका अनुसार मंसिर २३ गते इटहरी सम्मेलन गरेर महिला हिंसा विरुद्धको १३ दिने विशेष अभियान समापन गरिने छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १९:४८:३८ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology