Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कौरा चुड्काको उत्पत्ति र नामकरण

कौरा चुड्काको उत्पत्ति र नामकरण

सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुंँदो हुँ, अहिले पो बुढो भयो त...

देवराज गुरुङ

१२, कार्तिक २०७८
कौरा चुड्काको उत्पत्ति र नामकरण
images

वैशाख महिनाको कुरा हो। त्रिभुवन विश्वविद्यालयमा 'एमफिल–पिएचडी' को अन्तर्वार्ता थियो। परिचय दिनासाथ कृष्ण हाछेथुको टिमले मसँग डा. हर्क गुरूङ र गुरूङ संस्कृतिबारे प्रश्न सोधे।

images
images

राजनीतिशास्त्रको अन्तर्वार्ता भए पनि प्रश्नको सुरूआत चाहिँ संस्कृतिबाट भयो। कृष्ण सरको प्रश्न थियो, 'डा. हर्क गुरूङ समुदायमा कसरी चिनिएका छन्?'

मैले उत्तर दिएँ, 'सर हाम्रो समुदायमा हर्क गुरूङभन्दा एउटा लाहुरेको स्थान ज्यादा छ। डा. हर्कलाई थोरै मानिसले चिन्छन्। बरू उनलाई समुदायभन्दा बाहिरकाले धेरै चिन्छन्।'

आडैमा बसेका प्राध्यापक डा. रामकृष्ण तिवारीले मेरै समर्थन गरे, 'उसको कुरा सही हो।'

हाछेथु सरले गहिरो गरी संस्कृतिका सम्बन्धमा संक्षिप्तमै धेरै जानकारी दिए। म मौन बसेँ। ट्वाल्ल परेँ भन्दा पनि हुन्छ।

सरहरूको कुरा सुनेपछि गुरूङ समुदायमा जन्मेर हुर्किएको भए पनि संस्कृतिको ज्ञान चाहिँ औपचारिकतामै सीमित रहेको भान भयो। आजसम्म जे–जे संस्कार र संस्कृति छन् ती सबै औपचारिकताका लागि मात्र रहेछन् भन्ने लाग्यो। यसले मलाई आफैंलाई चिमोट्ने, छामेर हेर्ने चुनौती र अवसर दुवै दियो। त्यो चुनौतीले थप खोज र अध्ययनका लागि आफैंभित्र ऊर्जा उत्पन्न गरायो।

परिणामतः संस्कार र संस्कृतिबारे केही तथ्यहरू खोज्न म प्रेरित भएँ। यो आलेख त्यही चुनौती, उत्प्रेरणा र खोजको परिणाम हो।
...

_MG_0505 copy1635503468.jpg

दक्षिणी गोर्खामा पर्ने हाम्रो भेगमा कौरा चुड्का निकै लोकप्रिय छ। पुरानो कौरा चुड्का गीत 'सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो त...' हाम्रो भूगोलको सीमा नाघेर देशभर प्रख्यात छ।

यो गीतको अन्तर्यमा पस्दा केही रोचक तथ्य भेटिन्छ।

नालीबेली खोज्न कौरा गीतका नयाँ हस्ती गणेश गुरूङ हुँदै पुराना हस्ती कृष्ण गुरूङ र क्षेत्र गुरूङसम्म पुगेँ। क्षेत्र गुरूङ उल्लिखित गीतसँग साइनो सम्बन्ध भएका संकलक पनि हुन्।

क्षेत्र गुरूङले हालैका भेटमा पंक्तिकारसँग सोह्र वर्षे उमेरैमा बोलको कौरा गीतको न्वारनको नालीबेली निकै रोमाञ्चक ढंगले सुनाए।

'राजा महेन्द्र संगीतका पारखी थिए। उनले देशभरिका स्वर र संगीतलाई विभिन्न अवसरमा (चाहे जन्मउत्सव होस् या अन्य कुनै कारणले) काठमाडौं भित्र्याउने गर्थे। त्यसकै सिलसिलामा बिक्रम सम्बत २०२२ आसपास गण्डकी अञ्चलको प्रतिनिधित्व गर्दै काठमाडौं आएका गोरखाका रामबहादुर गन्धर्वले समयान्तरमा 'यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना' भन्ने गीत गाए जसको रौनक आजसम्म उत्तिकै छ,' उनले भने।

त्यति बेलासम्म रेडियो नेपालमा कौरा चुड्का गीत गाउने र रेकर्ड गर्ने प्रचलन रहेनछ। चुड्का निश्चित लोक, समुदाय या भेगमा मात्र प्रचलित थियो। २०२६ सालमा क्षेत्र गुरूङको संकलन रहेको स्वर्गीय लोकबहादुर गुरूङ, गौतम घोताने गुरूङ लगायतको समूहले राजा महेन्द्रको शुभजन्मोत्सवमा गण्डकीबाट प्रतिनिधित्व गर्दै चुड्का गीत प्रस्तुत गरेछ। त्यो गीतले प्रथम स्थानसमेत हासिल गरेछ-

कस्की छोरी हौ नानी चौतारीमा बसेको, झन्डै मैले सिंदुर घसेको...
साल काटी दरबार, साइनो मिची घरबार, हुन्छ कि हुन्न भन्देउ सरकार...
काफल पाक्यो चैतमा भाउजू रोयो माइतमा, रेलको साँचो मलाई के खाँचो...
आरकैको छोरी भुलाउने, निकै रहेछ मनै तौलने...
जेठी घरको धन्दा, माइली घरबार वनपात, कान्छी घरबार मेरै साथ...

यो गीत चुड्काको इतिहासमा पहिलो रेकर्डेड गीत बन्न पुग्यो। नेपाल प्रहरीबाट निवृत जीवन बिताइरहेका गायक क्षेत्र गुरूङले सालै काटी दरबार, साइनो मिचे घरबार, हुन्छ कि हुन्न भन्देउ सरकार गीतमार्फत आफूहरूले राजालाई प्रश्न गरेको रमाइलो प्रसंगसमेत सम्झिए।

_MG_6560 copy.jpg

अनि सोह्र वर्षे उमेरैमा

२०२६ सालमा कौरा चुड्का गीत उत्कृष्ट घोषित भएपछि क्षेत्र गुरूङले कौरा चुड्का गीतका शब्दहरू गाउँघरमै गएर खोज्न थाले। उनले भने, 'स्याङ्जामा कौरा चुड्काको रस छैन। तर मेरो मामाघर तनहुँको रिसिङ भएकाले सानैदेखि ममा कौरा चुड्काको मोह थियो।'

क्षेत्र गुरूङ २०३३/३४ सालतिर समुदायमै (लोकमै) चुड्काको टुक्का र रस खोज्ने उद्देश्यले स्वर्गीय कल्याण शेरचन र गोपाल योञ्जनसँग याङ्जाकोट हुँदै तनहुँको थप्रेक पुगेछन्। त्यहाँ उनीहरूले गाउँका सम्पूर्ण युवायुवतीलाई विद्यालयमा भेला गरेर रातभरि नाचगान गराएछन्। नयाँ–नयाँ कौरा चुड्काका टुक्काहरू उनीहरूले त्यस नाचगानबाट टिपेछन्-

नानी त रैछौ हाम्रै दाँवली 
कहाँ हो नानी घर तिम्रो कहाँ हो माइती मावली
नानी त रै छौ हाम्रै दाँवली...

यसलाई उनीहरूले मुख्य भाका या मियोका रूपमा लिए। गाउँका युवायुवतीसँग गीत गाउँदागाउँदै कतिपय भाका र टुक्काहरू फाइनल भइसकेको थियो। बिहानीपख काठमाडौं हिँड्ने बेला त्यसै भिडको छेउमा बसिरहेको एक जना अधबैंसे पुरूषले अप्रत्यासित रूपमा जुरूक्क उठेर भीडमा मिसिँदै सोह्र वर्षे उमेरैमा, मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो त... भन्दै जंगिएर नाचे।

'त्यस टुक्कालाई पनि गीतको अंशमा मिलाएर पूरा रूप दिइयो। यसरी गीतको पूरै अंशलाई पछि पार्दै आजसम्म पनि सोह्र वर्षे उमेरैमा भन्ने टुक्काले युवा पुस्तामा राज गरेको छ,' क्षेत्रले गीत संकलनको पुरानो क्षण स्मरण गर्दै सुनाए।

यस गीतको पूरा अंश यस्तो छ-

नानी त रैछौ हाम्रै दावँली 
कहाँ हो नानी घर तिम्रो कहाँ हो माइती मावली, 
नानी त रै छौ हाम्रै दावँली 
किन हो नानी नबोलेको जोवान दिँदा खेरी
मै लुरे नि भयो तन्नेरी 
यो नानीको शिरको फूल चोखो छ कि जूठो छ 
त्यो फूल लाउने मलाई धोको छ 
सोह्र वर्षे उमेरैमा, मै पनि झिल्के हुंँदो हुँ
अहिले पो बुढो भयो त...

त्यसपछि माथिको कौरा चुड्का गीतलाई औपचारिक रूपमा रेडियो नेपाल र रत्न रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरियो।

त्यस बेला छोटो समयभित्र निश्चित शब्दहरू मात्र रेकर्ड गर्नुपर्ने भएकाले कतिपय शब्द नचाहँदा नचाहँदै छुटेको क्षेत्र गुरूङले स्मरण गरे। यो नानीलाई लैजाऊँ भने छ महिनाको बाटो छ, रेलको ड्राइभर साह्रै लाटो छ... जस्ता महत्वपूर्ण टुक्काहरू समेट्न नपाएकोमा उनी अझै नरमाइलो मानिरहन्छन्।

त्यसपछि नेपाली सांगीतिक बजारमा कौरा चुड्का गीतले पनि स्थान पायो। लोकगायक कृष्ण गुरूङको संकलनमा रहेको चुड्का गीत २०४२ सालतिर रेडियो नेपालमा युक्त गुरूङ र रचना जिसीले माइती घर बसुञ्जेली गर नानी चइन, गाउँघर चलाउ बइन... माइती घर बसी बसी गयो लाली जोवन, धुरू–धुरू रून्छ यो मन... गीत गाएपछि नेपाली संगीत क्षेत्रमा कौरा चुड्का गीतको महत्व बढ्न थाल्यो।

लोकगायक कृष्ण गुरूङ पछिल्लो समय आधुनिकताका नाममा कौरा चुड्का गीतको मौलिकता र पहिचान हराएको गुनासो गर्छन्। आफूहरूले चाहेर पनि यसलाई रोक्न नसक्ने उनको चिन्ता छ। सहरको कोठामा बसेर लोकसँग सम्बन्धित गीतको उत्पत्ति नहुने उनको भनाइ छ।

उनी थप्छन्, 'कुनै पनि गीतको टुक्का वा भाका खोज्न सम्बन्धित भूगोल या लोकमै जानुपर्छ। त्यस्ता स्थानमा गीतको ठेट मौलिकता पाइन्छ। अनि मात्र त्यो गीत दीर्घकालीन र अर्थपरक बन्छ।'

_MG_0399 copy.jpg

के हो चुड्का ?

हाम्रो समाजमा चलनचल्तीमा चार किसिमका चुड्का छन्- कौरा, रोइला, बालन र भजन। यहाँ प्रस्तुत गरिएको कौरा चुड्का हो।

कौरा चुड्का विशेष गरेर गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर, गुरूङ, दुरा, ठकुरी, दरै, कुमाल, भुजेल, घर्ती लगायत आदिवासी जनजातिहरूमा प्रचलित लोकगीत तथा लोकनृत्यमध्ये अति नै लोकप्रिय गीत र नृत्य हो। कौडा चुड्का गीतिनृत्य एउटा निश्चित याममा गाउने, बजाउने अनि नाच्ने गरिन्छ। यसलाई सदाबहार गीत र नृत्यका रूपमा लिइँदैन।

कौरा चुड्का वसन्त पञ्चमीमा सरस्वती पूजा गरेर सुरू हुन्छ। त्यस बेला सोरठी, कृष्ण चरित्र आदि नृत्यहरू सँगसँगै मादल बाजालाई पनि पूजा गरेर बिसर्जन (थन्क्याउने) गरिन्छ। त्यसपछि सती घाँटु गीत नृत्यको याम सुरू हुन्छ। सती घाँटुसँगै कौरा चुड्का गीतिनृत्यको पनि याम सुरू हुन्छ। यसरी वसन्त पञ्चमीबाट सुरू गरिएको कौरा चुड्का नृत्य दसैंमा बिसर्जन गरिन्छ।

हिजोआज भने कौरा चुड्का गीतिनृत्य माघे संक्रान्तिबाट सुरू गरेर असार पूर्णिमामा बिसर्जन गरिन्छ। कतै फागु पूर्णिमाबाट सुरू गरेर असार पूर्णिमामा बिसर्जन पनि गरिन्छ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल (मगर) ले पाल्पा जिल्लाको गाँडाकोटको गजबन्दी गाउँमा भने कौरा चुड्का बाह्रै महिना गाउने–नाच्ने गरिएको बताए। उसो त आजकाल लोकगीत नृत्यमा हाम्रा पुर्खाहरूले बसालेका नीतिनियम धेरै भंग भइसकेका छन्।

साधारणतया सती घाँटु नृत्यसँगै कौरा चुड्का गीतनृत्य नचाउने गरिन्छ। गण्डकी क्षेत्रमा बसोबास गर्ने गुरूङ, मगर, दुरा जातिको गाउँघरमा अझै पनि सती घाँटु नचाउने चलन छ। साथै कौरा चुड्का नृत्य पनि नचाइन्छ।

हुन त गुरूङ, मगर, दुरा जातिका सबै गाउँमा सती घाँटु नचाइन्छ भन्ने छैन। ती गाउँमा सती घाँटु ननचाए पनि गाउँका ठिटा–तरूनीहरू मिलेर यो याममा कौरा चुड्का मात्र पनि गाउने नचाउने गर्छन्।

उत्पत्ति र नामकरण

कौरा चुड्का गीत नृत्यको उत्पत्ति र सिर्जनाबारे विभिन्न विद्वानको विभिन्न भनाइ छ।

लगभग एक शताब्दी अगाडिदेखि नै नवलपरासी, पाल्पा, गोरखाको मनकामना समेतमा नृत्य प्रचलनमा रहे पनि मुख्य उत्पत्तिस्थल तनहुँ जिल्लाको रिसिङ क्षेत्र नै हो भनी मान्ने गरेको पाइन्छ।

सांस्कृतिक अगुवा चिरञ्जिवी आलेका अनुसार १९९० सालको भुइँचालोताकै कौरा नृत्य आफूहरूले देखेको र आफ्ना मातापिता सहभागी भइसकेको जानकारीमा आएकाले रिसिङ क्षेत्रमा १९८० सालतिरै कौरा नृत्यको अस्तित्व थियो भन्ने अनुमान लगाउन सकिन्छ।

त्यसैले कौरा नृत्य १९८० सालभन्दा पहिलेबाटै तनहुँ जिल्लाको दक्षिणी भेग रिसिङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको समुदायबाट उत्पत्ति भएको हो भनेर ठोकुवा गर्न सकिन्छ।

तनहुँ जिल्लाको मगर जातिबाट उत्पत्ति भएको कौरा चुड्का गीति नृत्य पछि गण्डकी क्षेत्रमा बसोबास गर्ने गुरूङ, दुरा, दरै, ठकुरी, कुमाल, घर्ती, भुजेल आदि जातिमा पनि फैलिएको पाइन्छ। यस क्षेत्रमा माथि उल्लिखित आदिवासी जनजातिका गाउँहरू नजिक–नजिक भएर मिलेर बसेकाले यी जातिका संस्कृतिहरू पनि आपसमा मिसिएको पाइन्छ।

कौरा चुड्का गीत नृत्यको नामकरणबारे पनि विभिन्न जानकारहरूका विभिन्न भनाइ छन्।

लोकदोहोरी गायक अमर बिरही गुरूङका अनुसार तनहुँका गाउँघरतिर हिउँद बेला पानीको कमी हुने र धारा, कुवा, पँधेरामा पानी भर्न घन्टौं पालो कुर्नुपर्ने भएकाले दिदीबहिनीहरू पालो कुर्दाकुर्दै अति नै गाह्रो भएपछि अर्थात् पालो कुर्दा पट्यारलाग्दो भएपछि समय भुलाउन दिदीबहिनीहरू आपसमा लहरै उभिएर गीत गाउँदै नाच्न थाले।

यसरी पानी भर्न जाने दिदीबहिनी पालो कुर्ने बेला नाच्ने गरेको नृत्यलाई 'पानी कुरूवा नाच' भन्दाभन्दै अपभ्रंश भएर पानी कुरूवा, कुरूवा हुँदै कौरा रहन गएको भनाइ छ।

कौरा, कडुवा अथवा करूवा यी तीनवटै नामको शब्द मगर भाषाबाट आएको भन्ने पुराना मगरहरूले दाबी गरेको कालीभक्त पन्तले 'हाम्रो सांस्कृतिक इतिहास' मा उल्लेख गरेका छन्।

मगर गाउँतिर कसैको घरमा कुनै शुभकार्य, पूजाआजामा पनि कौरा नाच नचाउने चलन छ। पहिले–पहिले गाउँघरतिर कुनै पनि गाउँमा मुखिया जिम्वाल हुने चलन थियो। कुनै ठूलो चाडपर्व आदिमा मुखिया जिम्वाल मान्नुपर्ने हुन्थ्यो। विशेष गरेर दसैं, तिहार, माघे संक्रान्ती आदि चाडपर्वमा गाउँलेहरू मुखिया जिम्वाललाई मान्न जाने चलन थियो।

मुखिया जिम्वालको घरमा सबै गाउँले जम्मा भएपछि नाचगान गर्ने अनि गाउँलेलाई भोज खुवाउने गरिन्थ्यो। मगर गाउँतिर मुखिया जिम्वालको घरमा गाउँलेहरू जाने बेला मगर भाषाबाट 'कानराहा–हामी आयौं है' अर्थात् 'हामी तपाईंको घरमा कौरा नचाउन आयौं है' भनिन्थ्यो। कानराहाबाट कौराहा हुँदै कौरा नामकरण हुन गएको भन्ने पनि भनाइ छ।

कौरा चुड्का गीत नृत्यको नामकरणबारे लोकगायक कृष्ण गुरूङको धारणा भने बेग्लै छ।

उनका अनुसार कौरा चुड्का गीत नृत्य विशेष गरेर विवाह नभएका ठिटा–तरूनीहरूले गाउने र नाच्ने गीत नृत्य हो। यो गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू नाच्ने गर्छन्।

गाउँघरतिर भर्खरको बैंशलाई 'कौडे बैंश' भन्ने चलन छ। भर्खरको कौडे बैँश चढेका तरूना–तरूनीहरूले गाउने नाच्ने गीति नृत्य भएकाले यसलाई कौडे बैंशको नृत्य, कौडे नृत्य भन्दाभन्दै यसको नाम कौरा गीत नृत्य भएको हो।

भर्खरका पन्ध्र-सोह्र वर्षका नानीहरू तलाउ वा दहमा रहेको माछाको झुन्ड आपसमा मिलेर खेलेझैं नृत्य गर्दा अति नै मनमोहक देखिन्छ। कौरा चुड्का नृत्य खैंजडीको आठ मात्राको तालमा (जसलाई शास्त्रीय संगीतमा कहरवा ताल भनिन्छ) गाउने बजाउने भएकाले कुनै गुणीजन (संगीतको ज्ञान भएको व्यक्तित्व) ले 'त्यो कहरवा तालको गीत गाएर नाचन हो' भन्दाभन्दै कहरवा तालको गीतबाट कौरा नामकरण भयो कि भन्ने तर्क पनि पाइन्छ (कृष्ण गुरूङ, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको स्मारिकाबाट)

_MG_0887 copy.jpg

गायन शैली र चरणहरू

कौरा चुड्का गीत गाउने र नाच्ने प्रक्रिया सुरूदेखि अन्त्यसम्म फरक छ।

एउटा गाउँको कौरा चुड्का गाउने ठिटाहरूलाई अर्को गाउँमा कौरा गाउन निम्ता गरिन्छ। निम्तो गर्दा रूमालमा सुपारी र चुरोट राखेर दिइन्छ। निम्तो केटीहरूले मात्र गर्ने संस्कार छ।

विशेष गरेर बर्खा याममा कौरा चुड्का लगाउने हुँदा निम्तो दिन आउने केटीहरूलाई एक रात कौरा चुड्का नचाएर फर्काउने चलन छ। केटीहरूले निम्तो लगाउँदा दिएको रूमाल हराउन पाइँदैन। निम्तो स्वीकारेर फर्किने क्रममा उक्त रूमालमा केटाहरूले केही पैसा राखेर दिने गर्छन्।

निम्तो स्वीकारेर गाउँभरिका केटाहरू खैंजडी बोकेर जान्छन्। गइसकेपछि केटी पक्षले केटाहरूको स्वागत गर्छ। स्वागतमै केटाहरूले गीत उठाउँछन्। मायालु सातै बैनी गोलेनी नानी, कसरी आयो होला नि, मायालु बरिखैको पानी–पानी भन्दै केटाहरूले निम्तो दिन आएका केटीलाई सम्बोधन गर्दै कौरा थाल्ने गरिन्छ।

समूहमा एउटा गुरूबा हुन्छन् जोबाट गीतको सुरूआत हुन्छ। गुरूबाले गीत उठाएपछि गर्रा भाइ (समूहका सदस्यहरू) ले छोप्ने गर्छन्।

पहिलो चरणमा देवीदेउतालाई सम्झने गरिन्छ। त्यसपछि कहिले भेट होला भनी औंला भाँचिरह्यो, ए साली बल्ल आज भेट भयो... भनी प्रतीक्षाको बेग गीतबाट व्यक्त हुन्छ।

गीतबाटै सन्चो–बिसन्चो पनि सोधिन्छ- बल्ल हाम्रो भेट भयो हासनी बोलनी, ए साली गाउँघरतिर सन्चै होला नि! 

कौरा चुड्कामा केटीले दोहोरी गाउँदैनन्। केटीहरूले नाच्दा नाच्दै हातको हाउभाउ, आँखाको इसारा र ओठे जवाफबाट उत्तर दिन्छन्। जस्तै- सन्चै छु भेना, सोल्टी त बुढो भएछ, अब त छोराको पालो हो कि! भन्दै ठट्यौली तरिकाले उत्तर दिइन्छ।

गीतको बीचबीचमा केटीहरूले विभिन्न परिकारसमेत केटाहरूलाई खुवाउने चलन छ। कतिपय अवस्थामा केटीहरू स्वयंले केटाहरूलाई रमाइलो पारामा खुवाउने गर्छन्।

गीतको प्रकृति पनि त्यहीअनुसार विकसित हुँदै जान्छ। केटाहरूले गीतबाटै केटीहरूलाई फकाउँछन्-

माइतीघरको चेली, कर्कलाको पानी, ए साली ढलकी जाने फरकी नआउने 
पछि जोवन जाला है, अतित सम्झि रुँदैमा, ए साली विचार गर उमेर हुँदैमा.. 

गीतमा सन्चो-बिसन्चो, मायापिरतीको कुरा गर्दागर्दै छुट्टिने समय आउँछ। त्यो समय केटाहरूले गीतमार्फत नै छुट्टिने मन नभएको बताउँछन्। अर्काेपटक भेट्ने आशासमेत व्यक्त गरिन्छ-

मरे भने मरिगयो, बालुवा सिरानी, बाँचियो भने आउँछु भेट हुनी
घर जाने बेला नरोऊ माया बाटो छेकेर, मन बुझाइ है माया हो तस्बिर हेरेर... 

कौरा चुड्कामा केटीहरू प्रत्येक तालमा नाच्छन्। केटाहरूको नाच्ने समय र ताल फरक हुन्छ। उनीहरू प्रत्येक टुक्का र तालमा नाच्दैनन्।

केटीहरूले विदा गर्ने समयमा निम्ता गर्दा दिएको रूमालमा केही रकम पोको पारेर दिने चलन छ। केटीहरूले पनि केटाहरूलाई पछ्यौरी पोको पारेर दिने गर्छन्। त्यो बेला केटाहरूले यस्तो भावको गीत गाउँछन्-

पछ्यौरीको छेउमा, माया पोको पारौला 
हो निरमाया सम्झेको बेला फुकाई हेरौला..! 

सेतो पाटीबाट साभार

सबै तस्बिर: नवीनबाबु गुरूङ

लेखक त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा एम–फिल पिएचडीको अनुसन्धानकर्ता हुन्।

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - १९:५६:१८ बजे

देवराज गुरुङ

लेखक देवराज गुरुङ राजनितिक विश्लेषक हुन् भने इच्छाकामना न्युजका सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology