हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, १० असोज । मध्य नेपालमा अवस्थित चितवन जिल्लामा रहेको एउटा ठूलो केन्द्रीय स्तरको सरकारी अस्पताल हो भरतपुर अस्पताल । देशकै तेश्रो ठूलो सरकारी अस्पतालका रुपमा परिचित छ यो अस्पताल । यस अस्पतालमा १९ वटा जिल्लाका बिरामीहरु दैनिकजसो आउने गरेका तथ्यांक छ ।
मेडिकल सिटीका रुपले परिचित रहेको भरतपुरमा भरतपुर अस्पतालसहित दुई वटा मेडिकल कलेज, एउटा सरकारी क्यान्सर अस्पताल, आँखा अस्पताल ठूला अस्पतालका रुपमा रहेका छन् । यसका अलवा चितवनमा २० वटा निजी अस्पताल छन् । जसमा १५ देखि २०० शय्या (बेड) रहेका छन् । १५ बेडभन्दा कमका पनि थुप्रै अस्पताल छन् ।
सरकारी भरतपुर अस्पतालमा काम गर्ने चिकित्सक (डाक्टर) कुनै न कुनै रुपमा निजी अस्पतालमा आवद्ध छन् । कोही निजी अस्पतालका लगानीकर्ता छन् भने कोही निजीमा पनि काम गर्ने जागिरे छन् ।
अहिले भरतपुर अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्ट (मेसु) पनि निजी अस्पतालकै छन् । उनीहरु निजीमै व्यस्त देखिँदा सरकारी अस्पताल भद्रगोल बनेको छ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी पुष्पाञ्जली अस्पताल प्रालिका सञ्चालक हुन् । उनी प्राय जसो पुष्पाञ्जली अस्पतालमै बिरामी जाँचिरहेको भेटिन्छन् । उनी अस्पताल विकास समितिको अध्यक्ष हुनुपूर्व भरतपुर अस्पतालका आठौं तहका चिकित्सक समेत हुन् । उनी तीन वर्षे कार्यकालको अध्यक्ष भएपछि अधिकारीले अस्पतालमा तीन वर्षका लागि आफ्नो बिदा आफैले स्वीकृत गरेका छन् । अर्थात तीन वर्षपछि अध्यक्षबाट हटेपछि पुनः सरकारी अस्पतालको आठौं तहमा जागिर खान पाउने व्यवस्था मिलाएका छन् । यसरी आफ्नो बिदा आँफैले स्वीकृत गरेर उनले अस्पतालमा बिदा बस्ने व्यवस्था मिलाएका छन् ।
अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलको भरतपुर सामुदायिक अस्पताल प्रालिमा लगानी रहेको छ । उनी वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ हुन् । उनले उक्त निजी अस्पतालमा अहिले पनि बिरामी जाँचिरहेका छन् । नारायणी अनलाइन खोज स्रोतले मेसु पौडेल निजी अस्पतालमा अझै पनि बिरामी जाँचिरहेको तथ्य प्रस्तुत गरेको छ । सरकारी अस्पतालको मेसु जस्तो पदमा रहेर पनि उनी अझै निजी अस्पतालमा पुग्दा सरकारी अस्पतालाई कसले व्यवस्थापन गर्ने ? अनि कसरी सुध्रन्छ भरतपुरको भद्रगोल अवस्था ? यो प्रश्न अहिले अनुत्तरित बनेको छ ।
निजीमा लगानी रहेका चिकित्सकहरु सरकारी अस्पतालको सिमित तलबमा काम गर्न किन पुग्नछन् त ? भनेर खोज गर्दा सरकारी अस्पतालमा आएका बिरामी तानेर विभिन्न बाहनामा निजीमा पु¥याउन सकिने स्वार्थ पनि लुकेको हुने गरेको पाइएको छ । सरकारी अस्पतालको विभिन्न समस्या र भद्रगोल अवस्थाले बिरामी बाध्य भएर सरकारी अस्पतालका डाक्टर खोज्दै निजीसम्म पुग्नुपर्ने बाध्यता छ ।
निजी अस्पतालका सञ्चालक तथा लगानी कर्ता नै सरकारी अस्पतालको मुख्य जिम्मेवारीमा हुँदा उनीहरुको स्वार्थ बाझिँदैन भन्न सकिँदैन । उनीहरु आफ्नै लगानीको अस्पताल बनाउन लागि पर्छन् की आफूले जागिर खाएको सरकारी अस्पताल बनाउन लागि पर्छन् ? यो प्रश्न पनि आम बुद्धिजिवी तथा सर्वसाधारणले गर्ने गरेका छन् ।
यस्तो छ अस्पतालको भद्रगोल अवस्था :
कुशल व्यवस्थापन र नेतृत्वको अभावले भद्रगोल रहेको भरतपुर अस्पतालमा विभिन्न समस्या रहेका छन् । जसले भरतपुर अस्पतामा सेवा लिन आउने बिरामीहरुले निकै सास्ती खेप्नु परेको छ । अस्पतालका समस्या मध्येका केही समस्यालाई यहाँ प्रस्तुत गरिएको छ । यससम्बन्धि समाचारहरु यसअघि नारायणी अनलाइनले प्रकाशित गरिसकेको हुनाले त्यसका लिंकसहित त्यससम्बन्धी कुराहरु यहाँ उल्लेखित छन् ।
सुरु गरौं डाक्टरबाट…
भरतपुर अस्पतालमा रहेका डाक्टरहरु समयमा नआउने, एउटा कोठामा दुई वटा डाक्टर खटाइएको छ भने उनीहरु मिलेर पालैपालो एक जनामात्र बस्ने र एक जना बाहिर जाने, विभिन्न बाहनामा अस्पतालबाट छिट्टै बाहिर निस्कने, बिरामीहरुलाई राम्रोसँग परामर्श नदिने, चेकअप नै नगराई अन्दाजको भरमा औषधि दिने गरेका गुनासाहरु बिरामीहरुबाट पटकपटक आउने गरेका छन् ।
टिकट काउण्टरमा लाइन बस्दाबस्दै ढल्छन् बिरामी :
भरतपुर अस्पतालको अर्काे ठूलो समस्या हो । टिकट काउण्टर । यहाँको काउण्टरको व्यवस्थापन राम्रोसँग हुन नसक्दा बिरामीहरु घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । मेसु र अध्यक्ष रहेको निजी अस्पतालमा जति भिड भए पनि काउण्टरमा छिटो सेवा प्रदान गरी धेरै समय लाइन बस्नु पर्ने पारिँदैन । तर सरकारी अस्पतालमा बिरामीको चाँप जति सकुै बढे पनि काउण्टरमा भिड व्यवस्थापन गर्न न कुनै सुरक्षा गार्ड खटिएका हुन्छन् । न काउण्टरमा काम गर्ने कर्मचारी ले नै छिटो काम गर्छन् । एउटा बिरामी टिकट काट्न निजीमा जाँदा जति समय लाग्छ त्यसको दुई गुणा बढी समय भरतपुर अस्पतालमा टिकट काट्ने कर्मचारीले लगाउँछन् । बिरामी लामो समय लाइनमा बस्नुपर्दा अशक्त तथा वृद्धहरु लाइनमै ढल्ने अवस्था सृजना हुने गरेको छ ।
बिग्रिएका उपकरण बनाइँदैन, निजीमा पठाउन सजिलो :
अस्पतालका उपकरणहरु बिग्रनु स्वभाविक हो । बिग्रिएपछि मर्मत गर्ने की त नयाँ ल्याउने गर्नुपर्छ । स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशिल कुरामा तत्कालै सेवा सुचारु गरिहाल्नु पर्छ । तर भरतपुर अस्पतालमा बिग्रिएका उपकरण अस्पतालले महिनौंसम्म बनाएको हुँदैन । विभिन्न सरकारी प्रक्रियाले ढिलो भएको बाहना बनाउँदै अस्पताल व्यवस्थापन पक्षले बिरामीलाई निजीमा चर्काे शुल्कमा परीक्षण गराउन बाध्य पार्ने गरेको छ । बीमामा निःशुल्क परीक्षण गराउने आशले आएका बिरामी बाहिर निजीमा चर्काे शुल्कमा परीक्षण गराउन बाध्य हुने गरेका छन् । गतवर्ष भरतपुर अस्पतालको सिटी स्क्यान मेशिन बिग्रँदा बिरामीहरुले निकै सास्ती खेप्नु परेको थियो । यो वर्ष भरतपुर अस्पतालमा एक्सरे मेशिन बिग्रियो । समयमै उक्त मेशिन नबन्दा बिरामी र कुरुवाले निकै सास्ती खेप्नु परेको थियो । अहिले एउटा मात्र मेशिन बनेको छ । जसले गर्दा अझै पनि बिरामीहरु निजीमा जान बाध्य छन् ।
औषधि पनि निजीमै किन्नुपर्ने बाध्यता, पाइँदैनन् बीमाका औषधि :
अस्पतालको फार्मेसी पनि व्यवस्थित नहुँदा यहाँ सबै औषधि पाइँदैनन् । बिरामीलाई बाहिरका फार्मेसीमा किन्न पठाइन्छ । फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रमबाट उलपब्ध हुने औषधिमध्ये आधा पनि औषधि पाइँदैन । फार्मेसीको व्यवस्थापन गर्न फार्मेसिस्ट (फार्मेसी पढेका) लाई जिम्मा नदिइएको भन्दै यसै वर्ष फार्मेसिस्ट आन्दोलित बनेका थिए । आफ्ना नजिकका र आफू अनुकुलका व्यक्तिलाई मुख्य जिम्मेवारीमा राख्ने गलत परिपाटी रहँदै आएको छ ।
नारायणी अनलाईनबाट