Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरमा सम्बन्ध विच्छेद गर्न चाहने पुरुष धेरै

मकवानपुरमा सम्बन्ध विच्छेद गर्न चाहने पुरुष धेरै

पत्रपत्रिका

२६, श्रावण २०७८
मकवानपुरमा सम्बन्ध विच्छेद गर्न चाहने पुरुष धेरै
images

मकवानपुर, २६ साउन । पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको २ वर्षमै उनीहरु छुट्टिने प्रक्रियामा छन् । उनीहरु अर्थात मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ७ का गोकर्ण र कञ्चन घिमिरे । दुबै जना वैदेशिक रोजगारीबाट अघिल्लो साल नेपाल फर्केका थिए । अहिले आपसी समझदारीमा सम्बन्ध विच्छेदको तयारी छन् ।

images
images

“दुबै जना आपसमा सँगै हुँदा भन्दा अलग हुँदामै खुसी रहन सक्छौ भन्ने लागेर, सहमतिमै आएका हौ” कानुन व्यवसायीसँग भेटिएका गोकर्णले भने । “साना तिनो सवालमा विमति भैरहेपछि मैले पनि उसँग नबस्ने निर्णय गरे” कञ्चनले भनिन् “मलाई थाहै नदिइ उसले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराइसकेको रहेछ ।”

पछिल्लो ३ वर्षदेखि श्रीमतीसँग अलग बस्दै आएका मकवानपुर भीमफेदी ४ का सुमन मोक्तान पनि सम्बन्ध विच्छेदको कानुनी प्रक्रियामा छन् । उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नको लागि मकवानपुर जिल्ला अदालतमा गत भदौमा उजुरी दिएका थिए । “कानुनी प्रक्रिया ढीलाइ भयो, एक वर्ष हुन लाग्यो छुटिन खोजेको” सुमनले भने । सुमनले जस्तै श्याम खत्रीले पनि सम्बन्ध विच्छेदको तयारी थालेको एक वर्ष भयो । हेटौंडा उपमहानगरपालिका–१९ का खत्रीले पनि गत माघ ११ मा सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएको बताए ।

हेटौंडा ६ का मनिक सापकोटा श्रीमतिसँग ८ वर्षदेखि काठमाडौ बस्दै आएका थिए । पछिल्लो १ वर्षदेखि श्रीमतिसँगको सम्बन्ध राम्रो नभएपछि २०७८ असारमा सम्बन्ध विच्छेदको लागि कानुनी प्रक्रिया सुरु गरेका छन् । “उ माइतीघरमा बस्दै आएकी छ, २ सन्तान छन् दुबै मावलीमै छन्” सापकोटाले भने “कानुनी रुपमा सम्बन्ध विच्छेद हुँदा छोराछोरी आफूले राख्ने सोच बनाएको छु” उनले भने ।

महिला हिंसाको कुरामात्रै बाहिर आउने आफूहरुको पीडा बाहिर नआएको कारण सम्बन्ध विच्छेद गर्न खोज्दा पनि सहज नभएको सापकोटाले बताए । “आपसी सम्बन्ध राम्रो नभएपछि छुट्टिन चाहदा पनि महिलालाई जत्ति सहज हामीलाई छैन, तै पनि कानुनी संघर्षमा छु” उनले भने । कानुनले पुरुषलाई पनि सम्बन्ध विच्छेदको लागि बाटो खुकुलो गरेको भएपनि सहज नभएको समुनको पनि अनुभव छ ।

२०७५ भदौ १ देखि नयाँ अपराध संहिता लागू भएपछि सम्बन्ध विच्छेदका लागि महिलासरह पुरुषलाई पनि बाटो खुकुलो गरिएको छ । जसका कारण मकवानपुरमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा जिल्ला अदालतमा ६ सय ८७ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । त्यसमध्ये महिलाका ४ सय २२ थान र पुरुषका २ सय ६५ थान मुद्दा छन् ।

जसमध्ये महिलाले दर्ता गराएका ३ सय १ थान र पुरुषले दर्ता गराएका १ सय ११ थान मुद्दा किनारा लागिसकेका अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । अघिल्लो आवमा १ सय २ जना पुरुषले र ४ सय १ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

पछिल्लो कानुनी प्रावधान अनुसार महिलाले सम्बन्ध विच्छेदका निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिट्टै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको छ । पुरुषले दिएका प्रायः उजुरीमा महिलाको सहमति नहुने भएकाले भने फैसला हुन समय लाग्ने गरेको छ । मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्ध विच्छेदको मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । आवेगमा उजुरी दिएपनि कानुनी रुपमा प्रक्रिया पु¥याउँन खोज्दै गर्दा मन मिल्नसक्ने संभावनालाई पनि कानुनले स्वीकार गरेको स्रेस्तेदार भट्टराइले बताए । “सकेसम्म बनेको परिवार न टुटोस्, श्रीमान् श्रीमती मिलेर बसून् भन्ने उद्देश्यले यस्तो व्यवस्था राखिएको हो ” भट्टराइले भने ।

पछिल्लो कानुनी व्यवस्था अनुसार लगातार ३ वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा श्रीमतीविरुद्ध श्रीमान् पनि अदालत जान सक्छन । श्रीमतीले अन्य कुनै परपुरुषसँग यौनसम्बन्ध राखेको अवस्थामा पनि श्रीमानले सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान छ । ‘ न्यायमा समान पहँुच स्थापना गर्न कानुनले पुरुषका लागि सम्बन्ध विच्छेद खुकुलो बनाएको बताउँछन् अधिवक्ता जगन्नाथ सुवेदी । कानुनी रुपमा समज भएको कारण सानो तिनै विमतिमा पनि समझदारी खोज्ने भन्दा छुट्टिने तर्फ उन्मुख हुने गरेको पाइएको अधिवक्ता सुवेदीले बताए । जसको कारण तुलनात्मक रुपमा सम्बन्ध विच्छेद गर्न चाहने पुरुषहरूको संख्या अदालतमा बढेको उनको विश्लेषण छ ।

स्वतन्त्र हुने नाममा स–साना मनमुटावमा पनि श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद हुने क्रम बढेको अदालतका स्रेस्तेदार भट्टराईले बताए । विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाहरूको जोडी पनि रहेको स्रेस्तेदार भट्टराइले बताए । गत आवमा अदालतमा विवाह गरेको एक वर्ष बित्न नपाउँदै ४ जोडीले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका थिए । ‘सम्बन्ध विच्छेदलाई महिला र पुरुष दुवैको हकमा खुकुलो बनाउँदा सामाजिक र पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीहरूको भविष्य अन्धकारमय बन्ने गरेको छ । नयाँ संहिता कार्यान्वयनमा आएपछि जिल्ला अदालतमा गत आवमा ६० वर्षमाथिका ४ वृद्धले सम्बन्ध विच्छेदका लागि उजुरी दिएका थिए । जिल्ला अदालतका अनुसार गत आवमा सबैभन्दा धेरै सम्बन्ध विच्छेद र त्यसपछि लागूऔषधसम्बन्धी मुद्दा रहेका छ । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:२८:१७ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology