गोरखा, १९ कार्तिक । अधिंकाश गुरुङ समुदायको बसोबास रहेको गोरखाको धार्चे गाउँपालिकाले तमु (गुरुङ) खेमा लिपीको प्रयोग सुरु गरेको छ। गाउँपालिकाले पहिलो पटक लेटरहेडमा तमु (गुरुङ) खेमा लिपीको प्रयोग गरेको हो।
यो सँगै तमु (गुरुङ) खेमा लिपीको प्रयोग गर्ने नेपाल कै पहिलो सरकारी निकाय गोरखाको धार्चे गाउँपालिका बनेको छ। गुरुङ समुदायको भाषा लिपि संस्कार संस्कृति संरक्षणका निम्ति आफुहरुले पहिलो पटक तमु (गुरुङ) खेमा लिपीको प्रयोग गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ (सन्तोष)ले जानकारी दिनुभयो। प्रशिक्षक अभावका कारण सिकाई हुन नसक्दा सुरुवातमै सबैतिर तमु खेमा लिपी प्रयोग गर्न कठिन भएको र अब विस्तारै अन्यमा पनि लिपी प्रयोगमा ल्याईने उहाँले बताउनुभयो। ‘यसका लागि हामीले केहि दिन भित्रै कार्यपालिका बैठक बसेर गाउँपालिकाको सबै कागजपत्र, साईनबोर्डहरुमा तमु(गुरुङ) खेमा लिपी प्रयोग गर्ने निर्णय अनुमोदन गर्ने तयारीमा छौं’ –उहाँले बताउनुभयो।
यस्तै धार्चे गाउँपालिकाले गत सालदेखि नै गाउँपालिका भित्रका सबै विद्यालयको साना कक्षाहरुमा परिक्षणको रुपमा गुरुङ भाषाको पठनपाठन सुरु गरिएको पनि उहाँले बताउनुभयो।
यसैबिच पहिलो पटक सरकारी निकायमा तमु (गुरुङ) खेमा लिपी प्रयोग भएकोमा अभियन्ता भिम बहादुर गुरुङले खुशी व्यक्त गर्नुभएको छ। लामो समयदेखिको आफुहरुको प्रयासले सार्थकता पाउन थालेको उहाँले प्रतिक्रिया दिनुभयो। ‘धार्चे गाउँपालिकालाई यो कामको सुरुवात गर्नुभएकोमा धन्यवाद, अब सम्भव हुने अन्य निकायहरुले पनि लिपी प्रयोगमा ल्याउन जरुरी छ’ –उहाँले भन्नुभयो।
धार्चेमा बसोबासको हिसाबले हेर्दा ८३.९% गुरुङ, ११% घले, ४.९% विश्वकर्मा र बाँकी ०.२% अन्य जनजातीका मानिसहरु बसोबास गर्दछन्।