यतिबेला स्मृतिमा म सानो छँदाको बाबाको सम्झनाहरु जोडिएर आउँछ। मलाई मेरो बाबाले सानै उमेरमा काठमाडौंका बजारहरु घुमाइ दिनुहुन्थ्यो। विभिन्न ठाउँहरुमा साना व्यापारीहरुले नाङ्लोमा विभिन्न ब्राण्डका चुरोटहरु, पुष्टकारी, सुपारी, छुर्पी, ल्वाङ, सुकुमेल बिक्री गरिरहेको देखाउनु हुन्थ्यो र मलाई भन्नुहुन्थ्यो, ‘अरु कामहरु गर्नुभन्दा यसरी व्यापार गर्नुपर्छ।’
बाबा बित्नुभन्दा केही समय अगाडि काठमाडौंमा उहाँले होटल सञ्चालन गर्नु भएको थियो। सायद बाबा नबित्नु भए म यतिखेर तात्कालिन काभ्रेपलाञ्चोक ठुलो पर्सेल गाविस वडा नं. ३ बाट आबुखैरेनीमा आएर यसरी व्यापार गरिरहेको हुने थिइनँ कि!
मेरो बाबा ट्रेकिङ गाइड हुनुहुन्थ्यो। ट्रेकिङमा धेरै दुःख हुने भएकोले हामी छोराछोरीहरुलाई व्यापार गर्नुपर्छ भनेर सधैं सम्झाउने गर्नुहुन्थ्यो। एकदिन बिहानको खाना खाएर आफ्नै होटलमा आराम गरिरहनु भएको बेला अचानक उहाँ बित्नु भयो। २०४३ साल पुस २२ गतेको बाबाको असामयिक मृत्युको त्यो बिहान हाम्रो लागि दुखद बन्यो।
म चौध वर्षको थिएँ। त्यसपछिका मेरा दिनहरु कष्टकर बने। हिजो बाबाले बनाएका मिठा परिकारहरुको स्वाद अब सम्झना मात्र रह्यो। बाबा हुँदा हाम्रो घरपरिवारलाई आफन्तहरुले गर्ने व्यवहारहरु परिर्वतन हुन थाले।
मेरो चेतनाको स्तरले केही गर्न सक्छु भने पनि उमेरको कारणले छेक्थ्यो। तर पनि बाबाको बचनले मलाई घोचिरहेको हुन्थ्यो। घरको अवस्था बिग्रिन थालेको थियो। करिब एक वर्ष घरमा नै बसेर केही योजनाहरु बनाएँ। जग्गाले मात्र खान पुग्ने हैन रहेछ।
हामीसँग जग्गा जमिन भएर पनि घरमा काम गर्न सक्ने उमेरका मान्छे नभएर दुःख पाएका थियौं। एकदिन मामाको साथ लागेर म काठमाडौं आएँ। मेरो लागि काठमाडौं नौलो त थिएन तर पनि मेरो बस्ने ठाउँ पनि थिएन। मामासँगै बसें।
बारम्बार बाबाको मात्र याद आइरहन्थ्यो। कति पटक त भिडहरुमा बाबाले जस्तै कपडा लगाएको मान्छे देखें भने बाबा हो कि भनेर दौडेर हेर्न पुग्थें। फेरि सम्हालिन्थें। अस्ति भखर्रै स्वयम्भुमा जलाएको हैन? भनी आफैलाई प्रश्न गर्थे? यसरी नै दिन बित्दै गए। मामासँग कामको खोजी गरिदिनु हुन अनुरोध गरेँ।
मामा भन्नुहुन्थ्यो, ‘भान्जा तिमी सानै छौ। अलि उमेर पुगेपछि काम गर्लाऊ। अहिले मसँगै बस। तिमीले केही चिन्ता नलिनू।’ मेरो मन मान्दैनथ्यो। जसरी हुन्छ काम गर्नु पर्छ र भविष्यमा व्यापारी बन्नु पर्छ भन्ने मेरो मनले कल्पन्थ्यो।
मामाको गाउँका नातेदारहरु काठमाडौमा ज्यामी काम गर्न आउँथे। मामाको डेरामा बास बस्थे। मैले खाना पकाउनु पथ्र्यो। बेलुकी सुत्ने बेलामा मैले ती ज्यामी काम गर्ने मामाको नातेदारसँग सोध्ने गर्थे, ‘कति कमाई हुन्छ? काम कहाँ गएर गर्ने? कतिको गारो काम हुन्छ?’ उहाँहरुको जवाफसँग भन्दा पनि मलाई चाँहि कसरी पैसा कमाउने र कसरी व्यापारी बन्ने भन्ने मात्र ध्याउन्न रहन्थ्यो।
त्यो बेला ती मामाका नातेदार कामको थकाइले सुतिरहेको हुन्थ्यो। म बाबा सम्झेर रुन्थे। कहिले यस्तो गर्छु र उस्तो गर्छु भन्दै सपना बनाउँदैमा उज्यालो हुन्थ्यो। त्यो बेलामा लाग्थ्यो संसारको सबभन्दा अभागी मै हुँ।
एकदिन बिहानको खाना पकाउने तरखरमा थिएँ। मामाको भाइ नाता पर्ने कान्छा मामाले, ‘भान्जा भात नपकाउने। हामीसँगै जाउँ। उतै खाने, काम पनि गर्ने।’ भन्नुभयो।
भएछ के भने उहाँहरुले काम गर्ने घरको ढलान रहेछ। पानी नपुग्ने भएर मरुहिटीको ढुङ्गेधारोबाट पानी बोक्नु पर्ने रहेछ। त्यो दिन मैले पनि पानी बोक्ने काम पाएँ। दिउँसो ढलान सकिएपछि चिउरा र राँगाको मासु खाजा थियो। पैसा पनि पाएँ। जीवनमा पहिलोपटक आफ्नो परिश्रमको ज्याला लिएँ।
काम सकेर बेलुकी मामाको कोठातिर जाँदै थिएँ। कसैले पछाडिबाट,‘हेर साहुको छोरा भएर ज्यामी काम गरेर हिँडेको!’ भनेको सुनें। फर्केर हेरें, त्यो टोलमा हामी पहिले सँगै गुच्चा खेल्ने केटाहरु थिए।
बाबाले होटल खोल्नुअघि त्यस टोलका होटलहरुमा मेरा बाबा उनीहरुको नियमित ग्राहक हुनुहुन्थ्यो। म पनि बाबासँगै कहिलेकाहीँ त्यहाँ गएर खाजा खाने गर्थे। बाबाले होटल खोलेपछि त्यस टोलका रैथाने केटाहरु मेरो साथी बनेका थिए। र, अहिले मलाई यस अवस्थामा देखेपछि उनीहरु मलाई जिस्क्याउँदै थिए।
‘किन मैले काम गर्नु हुन्न र?’ सोचें। जे भए पनि आजबाट म पनि काम गर्न सक्ने भएँ भन्ने लाग्यो। मैले अरुले जस्तो दिन गन्ती काम नपाए पनि ठेक्का टाइपको काम खोज्न थाले। कतिको घरको अगाडि सडकबाट गिट्टी, बालुवा, इँट्टा ट्रिपको हिसाबले बोक्न थाले।
यो काम सकेसम्म मामालाई थाहा हँुदैनथ्यो। म मामालाई थाहा दिन्नथें। किनभने मामाले गाली गर्नु हुन्थ्यो। यो काम गर्ने उमेर होइन भन्नुहुन्थ्यो। मामालाई साथीकोमा जान्छु भनेर निस्कन्थें। साँझ परेपछि निर्माणका सामाग्री गिट्टी, बालुवा, इँट्टा बोक्थें। सामान झार्ने ठाउँ दिउँसो कन्ट्याक गरेर राख्थें।
म सानो उमेरको मान्छेलाई कामको ज्याला थोरै दिन पाउँदा उनीहरु पनि खुसी हुन्थे। मलाई पनि काम भए पुग्थ्यो। एकदिन मामाले यो कहाँ जाँदो रहेछ भनेर मलाई पछ्याउनु भएछ। मैले काम गरेको भेटेपछि गाली गर्नु भयो।
मामासँगै बस्दा बिरगञ्ज घर भएका ट्याक्टरको ड्राइबरसँग चिनजान भएको थियो। उसले मलाई ट्याक्टर चलाउन पनि सिकायो। त्यो बेलामा काठमाडौंमा एकदुई वटा मात्र ट्याक्टर चलेको देखिन्थ्यो।
मेरो उमेरको कारण नागारिकता बनेको थिएन। त्यसैले ट्याक्टरको लाइसेन्स बनाउन सकिनँ।
त्यसपछि म मामालाई छोडेर मैले कमाएको केही पैसाले दुनोट बनाएर बेच्ने अठोट गरें। मेरो बुध्दिले भ्याएसम्म अध्ययन गरे। कच्चा पदार्थहरु जुटाएँ। आवश्यक भाँडाकुडाहरु जोरजाम गरें। बेलुकी पिठो मुछेर राख्थें। बिहानै उठेर दुनोट बनाउथें। खाना खाएर बिक्री गर्न जान्थें। मेरो
दक्षताको कमी, अपरिपक्क केटौलेपन, व्यवसायिक ज्ञानको कमीका कारण अरुको उत्पादनसँग भिड्न सकेन। अहिले लाग्छ सानो कमजोरीले म आफ्नो काममा असफल भएको रहेछु ।
बिहानै बिक्री गर्न जाने, दिउँसो मैदा मुछ्ने, बेलुकी दुनोट बनाउने गरेको भए हुने थियो होला। मैले के सोचेँ भने बासी खानेकुरा बेच्नु हुन्न। तर प्रायः दुनोट बासी नै बेच्दा रहेछन्। मेरो व्यापारी बन्ने सपनामा तुसारपात लाग्यो।
खल्तीमा अलिकति पैसा बाँकी हुँदैमा नयाँ काम सोच्नुपर्छ भन्ने लाग्यो। फेरि पुरानो कामको खोजीमा लागें र बिभिन्न खाले कामहरु गरें। दुनोट बेच्ने क्रममा केही साथीहरु बनाइएको थिएँ। माघ फागुनतिर पहिलेका साथीहरुसँग भेट भयो।
लहलहैमा हामी जागिर खान गोरखा जिल्लाको मझुवा देउरालीमा गोरखाकाली रबर उद्योग बन्दै छ, जागिर खुलेको छ भन्ने थाहा पाएपछि चैत्रको अन्तिम तिर गोरखा जाने सल्लाह भयो। हाम्रो भेटघाट बाक्लै हुन थाल्यो। मलाई चाँहि कहिले जाने खुल्दुली भइरहन्थ्यो।
बिस्तारै जाने दिन पनि आयो। हामी एघार जना साथीहरु तयार थियौ। मैले काम गरेको ठाउँमा केही पैसा लिन बाँकी थियो। साहुले बैशाख तीन गते मात्र पाउँछौ भनेपछि म साथीहरुसँग जान नपाउने भएँ। मैले साथीहरुलाई भनेपछि उनीहरुले हुन्छ हामी पहिले गएर काम पनि बन्दोबस्त गर्छौ र बस्ने ठाउँ पनि तयार गर्छौ, तिमी तीन गते जसरी पनि आऊ भने।
‘कलँकीबाट साझा बस चढेर आँबुखैरेनी बजारमा ओर्लिएपछि पारिपट्टी गोरखाकाली रबर उद्योग देखिन्छ। हामी तिमीलाई त्यहीं पर्खन्छौ’ –उनीहरुले भने।
निर्धारित दिनमा म बिहान खाना खाएर निस्कें। कलँकीमा एउटा बस पनि देखिनँ । काउन्टरमा गएर सोध्दा थाहा भयो गोरखाको साझा बसहरु बिहानै छुटेछ। एघार बजिसकेको थियो। अरु नै बसमा चढेर जाऊँ भने पनि बसमा निदाएको बेलामा अन्तै पुगिन्छ जस्तो लाग्यो। ढिलै भए पनि साझा बसमा नै जान्छु भन्ने लाग्यो।
आँबुखैरेनी पुगेपछि सुरेश पोखरेल नामको व्यक्तिसँग भेट भयो। उहाँ पनि गोरखकाली रबर उद्योगमा चाइनिज कम्पनीमा काम गर्नु हुन्थ्यो। उहाँसँग भेट भए पछि मैले सबै कुराहरु भने र उहाँले मसँगै बसौ र म कामको कुरा पनि गर्छु भन्नु भयो। म उहाँसँगै बसें।
भोलिपल्टदेखि काम गर्ने निधो गरेँ। मलाई के लाग्यो भने जहाँ गए पनि काम नै गर्ने त हो। मनमनै आफ्नो व्यापारी बन्ने लक्ष्य पनि सँगै थियो ।
मेरो कामको सुरुवात २०४६ सालको बैशाख महिनाको टन्टालापुर घामसँगै सुरुवात भयो। घामसँग पैठेजोरी खेल्न नवागन्तुकलाई आँबुखैरेनीले स्वागत गरेको थियो। मेरो कल्पनामा पनि यो घामलाई जित्न सकेमा जीवनमा हार हुने छैन भन्ने थियो।
मेरा दश नङ्ग्रा घाम उदाएसँगै सल्बलाउँथे। घामको पर्वाह नगरिकन दैनिक कर्ममा जुटिरहें। त्यसो त घाम र म दिनभरिका साथी हुन्थ्यांै। मसँगैका हिजोका सहकर्मीहरु आज छैनन्।
नयाँ साथीहरुको माझमा छु। कम्पनीमा काम गरिरहेको बेलामा आँबुखैरेनी बजारबाट चिनियाँहरुलाई आवश्यक पर्ने वस्तुहरु खरिद गरि बिक्री गर्थे। थोरै नाफा लिने जुक्ति गरेको थिएँ।
कामले मलाई श्रमप्रति विश्वास जगायो। धेरै कुरा सिक्न पाएँ। समयको महत्त्व बुझ्ने मौका पाएँ। मानिस सिपविना केही गर्न नसक्ने देखेँ। त्यसैले मैले सिप जान्नु पर्ने निश्कर्ष निकाले र दत्तचित्त भई काममा ध्यान दिन थाले। पुँजी (रकम) जम्मा गर्न थाले र कम्पनीको काम सकेपछि आँबुखैरेनी बजारमा व्यापार गर्न सोचे।
जाडो याममा नेपाल र मनकामना जाने तिर्थालुहरुले बजार खचाखच हुन्थ्यो। त्यतिबेला मनकामना जाने पैदल बाटो मात्रै विकल्प थियो। भरियाहरुले यही बजारबाट मनकामनासम्म विभिन्न सामाग्रीहरु बोकेर लैजान्थे। अहिले मनकामना मन्दिर जानको लागि ठाउँठाउँबाट मोटर बाटोहरु तयार छ। अझ सबभन्दा महत्त्वपूर्ण कुरा त केबुलकारबाट सजिलै मनकामना मन्दिरसम्म पुग्न सकिन्छ।
त्यो बेलामा बनौतीको उकालो बाटोमा यात्रुलाई लौरो, मोही, दही लगायत धेरै चिजहरु बिक्री हुने गरेको थियो। मैले पनि मनकामना मन्दिर दर्शन गर्न जानेहरुलाई नै बिक्री हुने खालका सामाग्रीहरु बिक्री गर्ने निधो गरेँ।
धनकुटा बजारमा गएर सल्लाको पातबाट बनेको सामाग्रीहरु र साना साना खुर्पा लगायतका हस्तकलाको सामाग्रीहरु ल्याएर आँबुखैरेनीमा रहेको बैकुण्ठ दुवाडी दाइको हस्तकलाको होलसेल पसलमा दिने गर्थे। यही क्रममा कटारी बजार गएर बोका पनि ल्याएर बिक्री गरे। बिराटनगर, धरान, क्षेत्रको ठाउँठाउँको हाट बजारहरुमा गएर धेरै थरी सामाग्रीहरु ल्याएर बिक्री गर्थे।
अरु बेलाभन्दा बोका ल्याउन धेरै गाह्रो। आफैलाई जिउ पुरै बोका गनाउँथ्यो। अझ रोचक कुरो त एकपटक बिराटनगरको हाट बजारबाट दुई टोकरी कुखुरा बसको छतमा राखेर ल्याएको बिहान ६ बजेतिर आँबुखैरेनी चोकमा झार्दै गर्दा एउटा टोकरी कमजोर परेछ। कुखुरा सबै जङ्गलतिर गयो। त्यो पटकको नाफा सबै गयो होला।
बिस्तारै जाडो महिना सकियो। यसपछि मनकामना आउने यात्रु कम हुँदै गयो। अब के गर्ने सोच्दै थिएँ। यसै क्रममा एकजना दाइले तुरतुरे बजारमा भारतीय पेन्सन क्याम्प वरिपरि मादल, ठेकी बिक्री हुन्छ जाऔ भन्नुभयो ।सोही अनुसार पहिले ठाउँ हेर्न तुरतुरे गयौ। तर यो वर्ष पेन्सन त्यहाँबाट नदिने थाहा पायौं। दाइले दमौलीमा बिक्री हुन्छ जाऔ भन्नुभयो। अनि हामीले दमौलीको मालपोत लाइनको सटर भाडामा लियौं।
मलाई मादल बजाउन आउँदैनथ्यो। दाइले नै बेला बेलामा मादल बजाएर ग्राहकको ध्यान हाम्रो पसलतिर तान्ने प्रयास गर्नु हुन्थ्यो। ठेकीमा तोरीको तेल दलेर टलक्क टल्काउनु हुन्थ्यो। मेरो काम भात पकाउने र पत्रिका किताब पढ्ने भन्दा अरु हुन सकेन। मैले नजानेको काम गरे जस्तो पनि लाग्यो।
अर्को कुरा मलाई यो पेशा ईमान्दारी पनि लागेन। दाइले ग्राहकहरुसँग बोल्दा चिलाउनेदारको एकदम राम्रो ठेकी हो हजुर भन्नुहुन्थ्यो। एकदिन ग्राहक नभएको बेलामा दाइलाई सोधे,‘दाइ यो चिलाउने दार भनेको के हो। मैले त दारको ठेकी मात्र देखेको सुनेका’े भने। उहाँले भन्नुभयो, ‘हैट लाटा चिलाउने दार भनेको चिलाउने रुखबाट बनेको हो ।’
यसपछि मैले मनमनै यो काम नगर्ने निर्णय गरें, ‘आफैले जानेको काम गर्ने र अलिकति पूँजी बनाएर अरु नै व्यापार गर्ने। ‘मैले घर बनाउने काम जानेको थिएँ । आँबुखैरेनी बजारमा घर बनाउने कामको सुरुवात गरेँ । घरहरुको ज्यालामा ठेक्कामा काम गरे।
यसपछि व्यापारको सुरुवात २०५६ साल बैशाखबाट मस्र्याङ्दी स्टोर्स नामको पसल मार्फत निर्माण सामाग्रीको बिक्री बितरण गरिरहेको छु ।