रोशन तिवारी, पर्वत, १६ चैत । पर्वतमा हात्तिपाईले रोग नियन्त्रण चूनौतीपूर्ण देखिएको छ । जिल्लामा ११ औँ चरणसम्म लगातार औषधी खुवाउने अभियान चलाएपनि अझै सङ्क्रमित भेटिएपछि यसवर्ष १२ औँ चरणमा औषधी खुवाउन थालिएको छ ।
छिमेकी जिल्ला कास्की, म्याग्दी, गुल्मी र स्याङ्जामा हात्तिपाईले बिरुद्धको औषधी खुवाउन रोकिए पनि पर्वतमा ११ औँ चरणसम्म औषधी खुवाउँदा समेत हात्तिपाईले रोग नियन्त्रणमा नआएपछि यसवर्ष १२ औँ चरणमा औषधी ख्वाउन थालिएको हो ।
चैत्र २० गते देखि शुरु हुने आम औषधी खुवाउने अभियानमा लक्षित समूदाय कोहि नछुट्ने स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो ।जिल्लाको कुश्मा नगरपालिका १ मा एउटै गाउँमा २१ जना हात्तिपाईलेका रोगी छन् । त्यसैले जिल्लाभरीमा कुश्मा नगरपालिकालाई जोखिम क्षेत्रको रुपमा हेरिएको छ ।
यहाँका बासिन्दाले औषधी दिएपनि नखाँदा सङ्क्रमण ५ प्रतिशत भन्दा माथि रहेको जनस्वास्थ्य निरीक्षक तेजप्रसाद सुबेदी बताउँनुहुन्छ । पाङमा सन् २०१० देखि २०२० सम्म ४ पटक सम्म बेश लाईन सर्भे भैसकेको छ । औषधी खाने दर पनि अन्यत्र भन्दा यहाँ धेरै छ । तर वर्षेनी सङ्क्रमण बढ्दो छ ।
हात्ती पाईले रोग नियन्त्रणमा नआउनुमा स्थानीय सरकारले प्रभावकारी कदम नचालेर भन्दा पनि नागरिकले औषधि नखाएर समस्या भएको वडा सदस्य विरेन्द्र रिजाल बताउँनुहुन्छ । स्वास्थ्यकर्मीले दिएको औषधी नखाने मानिसहरुलाई जुनसुकै हालतमा भएपनि अहिले औषधी खुवाउने कुश्मा नगरपालिकाले रणनीति बनाएको नगर स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले बताउनुभयो ।
पर्वतमा हात्तिपाईले रोगको औषधी खुवाउने अभियान निरन्तर रुपमा चलिरहेपनि सङ्क्रमणको दर घट्नेभन्दा बढ्ने समस्या देखिएपछि सरोकारवालाहरु चिन्तित छन् । यो वर्षको अभियानमा कोहि पनि औषधी खानबाट बञ्चित नहुन भनेर चनाखो हुनुपर्ने आवश्यकता देखिएको छ ।