Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८३
प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं लगियो
images

बारा। बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीको गोली लागेर घाइते भएका स्थानीय युवक आदित्य पासवानलाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको हो।

अस्पताल उद्घाटनको विषयमा विवाद हुँदा शनिबार भएको झडपमा केही स्थानीय र पाँच प्रहरी घाइते भएका थिए। अस्पतालमा आवश्यक स्रोतसाधन र जनशक्ति नभएको अवस्थामा उद्घाटन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए। त्यसक्रममा शिलालेख र टेन्ट तोडफोड गर्नुका साथै मोटरसाइकल जलाउन थालेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले हवाई फायर गरेको बताए पनि पासवानको शरीरको पछाडिको भाग (हिप) मा गोली लागेको छ। गम्भीर घाइते उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार गरिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको शल्यक्रिया गरेका थिए।

जिल्ला प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसपी पवन भट्टराईका अनुसार पहिलो चरणको शल्यक्रियापछि थप उपचार आवश्यक परेकाले चिकित्सकको सल्लाहमा पासवानलाई काठमाडौं पठाइएको हो। ‘घाइते पासवानको पहिलो चरणको शल्यक्रिया भइसकेको थियो,’ उनले भने, ‘थप उपचारको आवश्यकता परेकाले चिकित्सकको सल्लाहमै काठमाडौं पठाएका छौं।’

नयाँ अस्पताल भवन उद्घाटनका लागि गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटालाई आमन्त्रण गरेका थिए। दिउँसो २ बजेका लागि उद्घाटन कार्यक्रम तय गरिएको थियो। तर अस्पतालमा उपचार सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्ति नभएको अवस्थामा हतारमा उद्घाटन गर्न लागेको र शिलालेखमा आफ्नो नाम राख्न खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए। त्यसपछि दुवै पक्षबीच झडप हुँदा गाउँपालिकामा तनाव भएको थियो।

images
प्रकाशित मिति :कार्तिक १६, २०८३ आइतवार - १६:२५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology