चितवन,९ चैत । संगठित रुपमा नक्कली नेपाली नोटको कारोबार गर्ने चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ बस्ने २९ वर्षीय देवेन्द्र राई, १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १३ बस्ने २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवारलाई पक्राउ गरेको हो।
एक हजार रुपैयाँको ७८ थान नक्कली नोट, नक्कली नोट छाप्ने तीन थान प्रिन्टर, दुई थान ल्यापटप र एफोर साइजको पेपरसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार संगठित रुपमा नक्कली नोटको कारोबार भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए।
‘नक्कली नोटको संगठित रूपमा कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने, ‘संगठित अपराधअन्तर्गत चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेका छौँ।’
चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेका छन् ।
उनीहरुलाई पक्राउ गरिसके पश्चात अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको एसपी अधिकारीले जनाए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ बस्ने २८ वर्षीय विश्वराम राई र सोही स्थानका २४ वर्षीय राजाराम दनुवार रहेका छ
मुलुकी अपराधसंहित २०७४ अनुसार नक्कली नोट बनाउने वा त्यस्तो उद्योग गर्नेलाई ५ वर्षदेखि १० बर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तो अपराध संगठित रूपमा भएको पुष्टि भएमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था छ।