Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दमाहा समाउँदै महिलाले तोडे परम्परागत सीमा

दमाहा समाउँदै महिलाले तोडे परम्परागत सीमा

इच्छाकामना न्युज

१५, मंसिर २०८२
दमाहा समाउँदै महिलाले तोडे परम्परागत सीमा
images

महोत्तरी । ‘सीप र कला कुनै जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,’ बर्दिबास–३ पाटुकी निरु पौडेलले भनिन्, ‘सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरी बुहारीले यो के गरेकी भने, तर मैले आफ्नो काम छोडिनँ। यसमा नाम र दाम दुवै पाएकी छु।’  

images
images

पञ्चे बाजा समूहमा निरु मात्र छैनन्। क्षत्री, तामाङ, मगर, कामी, सार्की र दमाईं समुदायका अन्य महिला पनि छन्। पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन। सीप र कला हो। यसमा पोख्त सबै मिलेर ‘समावेशी नौमती पञ्चे बाजा सांस्कृतिक समूह’ गठन गरी व्यावसायिक रूपमा बाजा बजाउँदै आएका छन्। ‘हाम्रो समूहमा जात र लिंगको कुरा हुँदैन, त्यसैले यसको नाम नै समावेशी शब्दबाट सुरु गरेका हौँ,’ समूहका अध्यक्ष रमेश पौडेल खत्रीले भने, ‘यहाँ सीप र कलाको कुरा हुन्छ।’  

पाटु बस्तीका १५ जनाले सुरु गरेको यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन। ‘हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनौँ, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ,’ अध्यक्ष खत्रीले भने, ‘कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै छैन।’ यो १५ जनाको समूहमा आठ जना महिला छन्।  

समूहमा भाले दमाहा वादक सुभद्रा कार्कीले यो काम व्यवसाय मात्र नभएर एउटा विद्रोह पनि भएको बताइन्। ‘हाम्रो परम्परागत समाजमा महिलाले यो गर्नु हुँदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले दमाहा समाएका छौँ, यो परम्परागत सोचविरुद्ध विद्रोह पनि हो,’ उनले भनिन्, ‘अब निरन्तर काममा लागेपछि टिप्पणी गर्नेहरू हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ।’  

समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउँदा सबै दर्शक मुग्ध देखिन्छन्। ‘कस्तो राम्रो मिलेको यिनीहरूको सुरताल,’ बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले भने, ‘यिनीहरूको कामप्रतिको समर्पण र लगाव तारिफयोग्य छ।’  

केही महिनाअघि मात्र समूहलाई बर्दिबास नगरपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारहरूले शुल्कमा स्थानीयलाई विशेष छुट दिने गरेका छन्। बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबासका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन्।  

यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्न नपरेको झ्यालीवादक जानुका विकले बताइन्। ‘मधेसका सबै जिल्ला पुग्यौँ, जहाँजहाँ पुग्छौँ, त्यहाँ हामीलाई बोलाउँछन्,’ समूहकी सहनाइवादक अञ्जना तामाङले भनिन्, ‘मान्छेको मायाले कामप्रति झन् उत्साह बढाएको छ।’ मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र वागमतीको सिन्धुलीका कैयौँ समारोहमा सहभागी भइसकेको उनले जानकारी दिइन्।  

आफ्नो समूहप्रति युवा पुस्ताले चासो बढाउँदै लगेको अध्यक्ष खत्रीले बताए। यो चासोले कामप्रति विश्वास जगाएको समूहका कलाकारहरू बताउँछन्। 

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - ११:२६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology