Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सिद्धगुफाको प्रबद्र्धन गर्दै तनहुँको बन्दीपुर गाउँपालिका

सिद्धगुफाको प्रबद्र्धन गर्दै तनहुँको बन्दीपुर गाउँपालिका

इच्छाकामना न्युज

१३, मंसिर २०८२
सिद्धगुफाको प्रबद्र्धन गर्दै तनहुँको बन्दीपुर गाउँपालिका
images

दमौली । नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रबद्र्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो ।

images
images

पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत् पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन् । तर यसको सोचे अनुसार प्रचारप्रसार हुन नसक्दा पर्यटकको उल्लेख्य आगमन हुन नसकेको उनकाे भनाइ छ ।

उनले भने, “यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ । यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ ।”

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रिय स्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रबद्र्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । थापाले यस ठाउँमा रङरोगन, सिढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताए ।

धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको बताए । उनले भने, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती रहेको छ ।”देशका महत्वपूर्ण ठाउँमध्ये एकपटक पुग्नैपर्ने ठाउँ भनेर सिद्धगुफालाई बनाउन गाउँपालिका जुटेको उनले उल्लेख गरे ।

सिद्धगुफा विकास समितिले लामो समयदेखि यसको व्यवस्थापन गर्दै आएपनि उक्त समिति सक्रिय नभएकाले गाउँपालिकाले तत्काल अधिवेशन गर्न निर्देशन दिइसकेको छ । उनले भने, “अब सिद्धगुफाको व्यवस्थापन गाउँपालिका आफैले गर्ने सोचिरहेको छ । त्यसो हुँदा यसको एकीकृत विकास गर्न सकिन्छ ।”

गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट सिद्धगुफा झर्ने बाटोमा रेलिङ निर्माण, ढुङ्गा छापेर पैदलमार्ग बनाइएको छ । सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोष अन्तर्गत रु एक करोड तीन लाख ९५ हजार ३ सयमा यहाँ सौन्दर्यकरणको काम गरिएको अध्यक्ष थापाले बताए ।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आर्थिक वर्षमा सिद्धगुफाका लागि रु दश लाख बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

स्थानीयवासी भिम घलेले सिद्धगुफाको प्रचारप्रसारमा कमी भएको बताए । सिद्धगुफाको प्रचारप्रसार गर्न नसक्नु स्थानीयवासीको पनि कमजोरी भएको बताउँदै उनले भने,“अब सिद्धगुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले पनि पहल गर्नुपर्छ ।”

सिद्धगुफा पुग्नुभएका प्रेमप्रसाद पौडेलले यस ठाउँ आकर्षक रहेको बताए । गुफाभित्र रहेका विभिन्न आकृतिले थप मोहित बनाउने बताउँदै उनले भने “गुफा त धेरै ठूलो रहेछ, पृथ्वीराजमार्गबाट नजिकै भएकाले यस ठाउँ उपयुक्त गन्तव्यस्थल बन्छ ।”

सिद्धगुफाको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार कार्यसमितिको बैठक गुफाभित्रै सम्पन्न गरेको छ । सिद्धगुफाको प्रचारप्रसारमा जिल्लास्थित सञ्चारकर्मीले सघाउने शाखाका अध्यक्ष डिपी अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

विसं २०४४ साल चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।

पुरातत्वविदका अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालिन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ । गुफा ४५० मिटर लामो छ ।

सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचिन वस्तुहरु अक्षर मेटिएको तामाका पैसा, माटोबाट बनेको टुक्रिीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि इ.स १६ र १७औ शताब्दी अघिको अनुमान गरिएको छ ।

केही भागमा पानी भएपनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटर भित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठूलो छ । लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति हेर्न सकिन्छ । कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरु भेटिन्छन् ।

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - १०:०६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology