निशु जोशी, नेपालगन्ज, २२ फागुन । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । सदियौं देखि सीमा क्षेत्रमा यताका छोरीचेली उता र उताका छोरीचेलीको यता विवाह हुँदै आएको छ । विहे गरेर नेपाल आएका महिलाहरु एक दशक भन्दा बढि समय यतै बसिसकेका भएपनि नेपाली भाषा राम्रोसँग बोल्न सक्दैनन् । पढेलेखेका महिलाले समेत भाषा नजान्दा घरमै थन्किनुपरेको छ ।
यस्तो समस्या नहोस् भनेर अहिले भारतिय छोरी, नेपाली बुहारीहरु नेपाली भाषा सिकिरहेका छन् । त्रिभुवनचोक नजिकै रहेको नारायण माध्यमिक विद्यलायमा १८ जना महिला लेखपढ गर्नमा व्यस्त छन् । कोहि घुम्टोसहित सारीमा छन्, त कोहि कुर्ता सलवारमा । प्राय सबैको उमेर ३० वर्षभन्दा माथि छ । तर उनिहरु जिज्ञासु भएर नेपाली भाषा सिकिरहेका छन् । बुुहारी भएर नेपाल आएका महिलाहरुमा नेपाली भाषाको ज्ञान कम हुँदा थुप्रै समस्या पर्छ ।
पसलमा बस्नेदेखी छोराछोरी विद्यालय भर्ना गर्न जाँदा समेत नेपाली भाषा नजानेर समस्या परेको भाषा सिकिरहेका अर्चना वैश्य र मन्जु वैश्य बताउँछन् । अर्चनाले भारतबाटै स्नातकोत्तर गर्नुभएको छ । कक्षा १२ सम्म संस्कृत भाषामा अध्यापन गराईरहनुभएका उहाँले विहेपछि, नेपाली भाषा नजानेका कारण पढाउन पाउनुभएन । भाषा सिकेर पुनः अध्यापनमा जोडिने उहाँको चाहना छ । कानुन विषय पढ्नुभएका सरीता वैश्य र स्नातक तहसम्म पढ्नुभएका हनि रस्तोगी पनि भाषा सिकेर सामाजिक क्षेत्रमा क्रियाशिल हुने चाहाना सुनाउनुहुन्छ । भाषा सिकिरहेका महिलाहरु माइत जाँदा परीवारलाई आफूले सिकेका नेपाली शब्द र गीत सुनाउछन् । मधेसी मुस्लिम समुदायका यी महिलाहरुले धेरै पहिलेदेखी भाषा सिक्ने चाहना राखेका थिए । उनिहरुको चाहना पूरा गरिदियो, औतारदेइ चौधराइन प्रतिष्ठानले ।
नेपाल सरकारले सरकारी कार्यालयमा स्थानीय भाषालाई कामकाजी भाषा बनाउनु पर्ने बताउँदै आएको छ । तर त्यसको कार्यान्वयन नहुँदा नेपाली भाषा मातृभाषा नभएका अन्य समुदायलाई समस्या छ । तर नेपाली भाषा सिकिरहेका महिलाहरु भाषाले देश प्रेम सिकाएको बताउँछन् ।