एकिन्द्र तिमिल्सिना, कैलाली, २२ फागुन । कैलालीको जानकी गाउँपालिका वडा नं. ९ स्थित चिसापानी कर्णाली सामुदायिक वनभित्रको कर्णाली नदी शाखामा अवैध उत्खनन गरिरहेका दुई वटा जेसीबी र एउटा स्काभेटर वन प्रशासनले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको से १ क १२२४, बा १ क २६०० नम्बरका जेसीवी सवडिभिजन कार्यालय लम्कीमा र नम्बर नभएको स्काइभेटर सामुदायिक वनकै कार्यालयमा राखिएको छ । अवैध उत्खनन रोक्न खोज्दा उनीहरुले नमानेकाले वन प्रशासन गुहार्नु परेको चिसापानी कर्णाली सामुदायिक वनका अध्यक्ष दिमन चौधरीले बताउनुभयो । उनीहरुले नदीमै पाँच मिटर गहिरो खाल्डो बनाएर ढुङ्गा निकालेका छन् ।
एक महिना अघिदेखि उत्खनन गर्न राखिएका तीन वटा मेशिन नियन्त्रणमा लिईएको र आवश्यक कारवाही गरिने सव डिभिजन वन कार्यालय टीकापुरका निमित्त प्रमुख ध्रुवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।