Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

१९ अर्बको लागतमा मुग्लिन-नौबिसे-नागढुंगा सडक बिस्तार गरिदै

१९ अर्बको लागतमा मुग्लिन-नौबिसे-नागढुंगा सडक बिस्तार गरिदै

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७७
१९ अर्बको लागतमा मुग्लिन-नौबिसे-नागढुंगा सडक बिस्तार गरिदै
images

काठमाडौं, १९ फागुन । सरकारले राजधानी प्रवेश गर्ने मूख्य सडक मुग्लिन-नागढुंगा सडक स्तरोन्नति गर्ने भएको छ । सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो । साँघुरो नागढुंगा-मुग्लिन सडकलाई नारायणघाट-मुग्लिन सडक खण्ड जस्तै बनाउन खोजिएको हो । बजार क्षेत्रमा ४ लेन, खुल्ला क्षेत्र २ लेन र नागढुंगा-नौविसे खण्ड ३ लेनमा विस्तार गर्न लागिएको (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख अमृतमणी रिमालले जानकारी दिए । यो सडक खण्डको लम्बाई ९६ किलोमिटर लामो छ । तीन चरणमा काम यो सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको रिमालले जानकारी दिए । नागढुंगा-नौविसे, नौविसे-मलेखु र मलेखु-मुग्लिन सडक खण्डगरी तीन वटा प्याकेज बनाइएको छ । योजनाले नागढुंगा-नौविसे र नौविसे-मलेखु सडक खण्ड निर्माण गर्न इच्छुक निर्माण व्यवसायीसँग आसय माग गरिसकेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माण गर्न इच्छा जाहेर गर्ने निर्माण व्यवसायीको पूर्वमूल्यांकन योग्यता जाँच भइरहेको छ । यी दुई प्याकेजमा ४० वटाभन्दा बढी निर्माण व्यवसायीले आवेदन पेश गरिसकेको प्रमुख रिमालले जानकारी दिए । मलेखु-मुग्लिन खण्डको पूर्वमूल्यांकनका लागि आसय माग गर्ने प्रक्रियामा रहेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माणका लागि आयस व्यक्त गर्ने निर्माण व्यवासीयको मूल्यांकन २०७७ चैतसम्म सम्पन्न गर्ने योजनाको लक्ष्य छ । सडक स्तारोन्नति गर्न प्राविधिक रुपमा सबल देखिएका निर्माण व्यवसायीको प्रारम्भिकरुपमा सूचिकृत गरिनेछ । सूचिकृत भएका निर्माण व्यवसायीसँग आर्थिक प्रस्ताव माग गरिने छ । प्राविधिक रुपमा सबल र कम रकम प्रस्ताव गर्ने निर्माण व्यवसायीले सडक स्तरोन्नतिको जिम्मा पाउनेछन् । बजार क्षेत्र ४ लेन योजनाले सडकलाई २ लेन, ३ लेन र ४ लेनमा स्तरोन्नति गर्नेछ । नागढुंगा-नौविसे सडक खण्ड ३ लेनको हुनेछ । नागढुंगा-नौविसे सडक खण्डमा सवारीसाधनले ठाडो उकालो चढाई गर्नुपर्ने हुन्छ । मालबहाक सवारीसाधनलाई ठाडो उकालो चढाईमा सहजता होस् भन्नका लागि एउटा थप डेडिकेटेड लेन विस्तार गरिनेछ । बस्ती तथा बजार भएका स्थानमा स्थानीय सवारीसाधन गुड्नका लागि सर्भिस लेन निर्माण गरिनेछ । सर्भिस लेनसहित बस्ती तथा बजार क्षेत्रका सडक ४ लेनको हुनेछ । पातलो बस्ती र पहाडी क्षेत्रको सडक भने २ लेनको हुनेछ । २१ पुल र १० आकाशे पुल मुग्लिन-नौविसे सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ । करिब १९ अर्ब लागत नारायणघाट-मुग्लिन खण्ड विस्तारसँगै मुग्लिन-नागढुंगाको काम अघि बढाउन खोजिएको हो । मुग्लिन-नारायणघाट सडक २०७५ जेठमा विस्तार भइसकेको छ । यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ । मुग्लिन-नागढुंगा सडक पनि विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो । सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको छ । यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसका लागि विश्व बैंकको सहयोगमा नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ । सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ । परामर्शदाता आईसीटीले सडकको डिजाइन तयार गरेको हो । परामर्शदाताले सन् २०१८ मा सडक विभागलाई डिजाइन हस्तान्तरण गरिसकेको छ । ‘मुग्लिन–नागढुंगा सडकको चौडा एक नासको छैन, कतै दुई लेन र केही साढे एक लेनको छ,’ रिमालले भने ‘विपरिद दिशाबाट गुडेका सवारीसाधन सहज रुपमा पास हुनेगरी सडक विस्तार गर्न खोजिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा संघीय सरकारले २ लेनभन्दा तलका सडक निर्माण नगर्ने उल्लेख छ । पृथ्वी राजमार्ग राष्ट्रिय सडक हो । यो संघीय सरकारको मातहतमा छ । सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौंडा २ लेनभन्दा सानो छ । काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली गुणस्तरअनुरुप विकास गर्न खोजिएको हो ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - ०७:३२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology