मुग्लिन । बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको विशेष पहलमा आगामी आर्थिक वर्ष २०८२।०८३ मा कार्यान्वयन हुने गरि चितवनको इच्छाकामना गाउँपालिकामा मात्रै संघिय सरकारले पौने २९ करोड रकम बजेट विनियोजन गरेको छ । संघिय सरकारले कार्यान्वयन गर्ने गरी केन्द्र सरकारले इच्छाकामनाको लागि विभिन्न १४ वटा शीर्षकमा २८ करोड ७५ लाख रुपैयाँ बजेट विनियोज गरेको हो ।
सम्भवत इच्छाकामनाको अहिलेसम्मकै इतिहासमा पहिलो पटक संघिय सरकारबाट यति धेरै बजेट परेको हो । या सँगै इच्छाकामनामा अहिले खुशीयाली छाएको छ ।
बजेट विनियोजनको लागि विशेष पहल गर्नुहुने यस क्षेत्रका प्रदेश सांसद एवं बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले खुशी व्यक्त गर्नुभयो । ‘संघिय सरकारको प्राथमिकतामा इच्छाकामना परेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो’ –उहाँले भन्नुभयो ।
साथै बजेट विनियोजनका लागि सहजिकरण गर्नुहुने सबै पक्षलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्री सिलवालकै विशेष पहलमा केही समय पहिले इच्छाकामनामा पहिलो पटक वहालवाला प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय भवन समुद्घाटनको लागि आउनुभएको थियो ।
