Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाँकेको डुडुवाका किसान दालको खेती छाडेर बदाम खेतीतर्फ आकर्षण

बाँकेको डुडुवाका किसान दालको खेती छाडेर बदाम खेतीतर्फ आकर्षण

पत्रपत्रिका

१७, कार्तिक २०८१
बाँकेको डुडुवाका किसान दालको खेती छाडेर बदाम खेतीतर्फ आकर्षण
images

गजेन्द्र गुरुङ, खजुरा। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसानहरुले रहर (अडहर) को खेती छाडेर पछिल्लो समयमा बदाम (ममफली) खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघिसम्म पनि रहरको खेती गर्ने त्यहाँका किसानहरुले अहिले भने बदाम खेतीमा राम्रो आम्दानी हुने भएको भन्दै बदाम खेतीतर्फ आकर्षित भएका हुन् ।

images
images

डुडुवा-६ बल्दिपुर्वाका किसान रामसुरत यादवले परम्परागत रुपमा पुस्तौँदेखि गर्दै आएको रहर खेती केही वर्ष अघिदेखि छाडेर बदाम खेती गर्न थालेको बताउनुभयो । “बाउ बाजेको पालादेखि गर्दै आएको रहर दालको खेती केही वर्षदेखि छोडेका छौं, रहर उत्पादन हुन पूरै एक वर्ष लाग्छ, बदाम उत्पादन हुन ३ देखि ४ महिना मात्र लाग्दो रहेछ, आम्दानी पनि राम्रो रहेछ, छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अहिले सबै गाउँलेले रहरको ठाउँमा बदाम खेती गरेका छन् ।” यादवले भन्नुभयो ।

“मेरो १०–१२ कट्ठा जमिनमा बदाम लगाउँदै आएको छु, पहिला त रहर नै लगाउँथे, धान पनि नहुने बालुवा भएको खेतमा बदाम राम्रो फल्छ, उत्पादन पनि राम्रै हुन्छ, एक कट्ठामा ७० किलोदेखि एक क्वीन्टलसम्म उत्पादन हुन्छ ।” अर्का किसान तुलसीराम मौर्यले भन्नुभयो, “मूल्य पनि राम्रै पाएका छौँ, बदाम खरिद गर्नका लागि बजारबाट ग्राहकहरु घर मै आउँछन्, यस वर्ष सात हजार रुपियाँ क्वीन्टलका दरले बिक्री गरेका छौँ, हरेक वर्ष बदामको भाउ बढीरहेको छ, पोहोर साल क्वीन्टलको छ हजारदेखि पैँसट्ठी सयसम्म बिक्री गरेका थियौँ ।”

अर्का किसान जगदीशप्रसाद मौर्यले आफूले एक विगाहा जग्गामा बदाम खेती गर्दै आएको बताउनुभयो । “पहिला रहर नै लगाउँथे मैले पनि, रहर उत्पादन हुनलाई एक वर्ष लाग्ने, खर्च पनि धेरै, दुःख पनि धेरै गर्नुपर्ने, बदाम ३–४ महिना मै तयार हुने रहेछ, खर्च पनि कम लाग्ने, दुःख पनि अरु फसलमा झैँ गर्नुनपर्ने ।” मौर्यले भन्नुभयो, “एकपटक रोपेपछि खासै केही गर्नुपर्दैन, घाँस उम्रिन्छ, एकपटक घाँस मार्नका लागि विषादी ल्याएर छर्केयर, घाँस मरिहाल्छ, त्यसपछि एकैचोटी फल लाग्छ, उखेल्यो सकियो, यसलाई मलको पनि आवश्यक पर्दैन, एक वर्षमा त्यही जग्गामा २–३ फसल उत्पादन गर्छौं ।”

चार कट्ठा जमिनमा बदाम खेती गर्दै आउनुभएका हर्केस यादवले उत्पादन गरेको बदाम बिक्री गर्नुका साथै पाउनापासा आउँदा उपहारसमेत दिएर पठाउने गरेको बताउनुभयो । “उत्पादन भएको बदाम बिक्री गर्छु, गतसाल छ हजार रुपियाँ प्रति क्वीन्टलमा बिक्री गरेँ, यसपटक पैँसट्ठी सयका दरमा बिक्री गरेँ, तर अहिले सात हजार रुपियाँसम्म माग्न आएका छन् ।” उहाँले भन्नुभयो, “बचेको बदाम पाहुनापासा आउँदा खुवाउँछौ, उपहार दिन्छौँ र अर्को वर्षका लागि बीउ पनि यसैबाट राख्छौँ ।”

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि त्यहाँका सबै किसानहरुले अहिले रहरको ठाउँमा व्यावसायिक रुपमा बदाम खेती गर्दै आएका छन् । किसानले उत्पादन गरेका बदाम लिन नेपालगन्जबाट व्यापारीहरु घरघरमा पुग्ने गर्दछन् । असारको अन्तिमतिर बदाम रोपेका किसानहरुले अहिले कार्तिकको महिनामा गोड्ने (भित्र्याउने) गर्दछन् । धेरै स्याहारसुसार पनि गर्नुनपर्ने, परिश्रम पनि कम गर्नुपर्ने, खर्च पनि धेरै नआउने भएपछि केही वर्ष यता त्यहाँका किसानहरु बदाम खेतीतर्फ आकर्षित भएका हुन् । गोर्खापत्रबाट

images
प्रकाशित मिति :कार्तिक १७, २०८१ शनिवार - ०९:०५:३३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology