Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी गर्दै इटहरीका सुरज पण्डित

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी गर्दै इटहरीका सुरज पण्डित

रासस

१, कार्तिक २०८१
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी गर्दै इटहरीका सुरज पण्डित
images

सुनसरी। इटहरी उपमहानगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

images
images

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”

उहाँको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाएका भाडाँकुडा इटहरी लिएर बेच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उहाँले सुनाउनुभयो । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन, नजिकै  राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।”

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताउनुभयो । “धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्”, उहाँले भन्नुभयो, “पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।”

पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । आफूले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुत्रुके, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उहाँको भनाइ छ । “एक दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन, घर खर्चका लागि कमाउन त्यति धेरै गाह्रो हुन्न”, पण्डितले भन्नुभयो ।

हाल एउटा पैनि रु छ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छ भने गमला रु ३० रुपैयाँदेखि आठ सयसम्म बिक्री हुने गरेको छ । साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा रु २० रुपैयाँदेखि लिएर रु एक हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । “अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ”, पण्डितले भन्नुभयो ।

इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि माटोको भाँडाकुँडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताउनुभयो । “माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ”, काफ्लेले भन्नुभयो,“ इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक रु ३० हजारसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।”

images
प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०८:०४:२४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology