गोरखा । पछिल्लो समय गोरखाका ग्रामीण भेगहरुमा चोरीका घटना बढ्न थालेको छ । गोरखा नगरपालिका–१३ को तीनकिलो भन्ने ठाउँमा एक स्थानीय व्यापारीको घर फुटाएर ७० हजार रुपैया बराबरको धनमाल चोरी भयो । त्यस्तै रामशाहघाट भन्दा पारि सहिदलखन गाउँपालिकाको हाटबजार लाग्ने ठाउँकी एक वृद्ध महिलाको घाँटीमा लगाइरहेको सिक्री चोरी गरी एक व्यक्ति फरार भएका छन् ।
सिम्लेफाँटका विष्णुबहादुर अधिकारीको घर पनि चोरले फुटाएको छ । त्यस्तै रामशाहटोलकी जौमाया गोलेको घर पनि चोरले फुटाएको छ । श्रृंखलावद्ध रुपमा चोरीका घटना हुन थालेपछि गोनपा १३ को वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी सचेत रहन वडाबासीहरुलाई आग्रह गरेको छ । ‘अति भएपछि वडा कार्यालयले सूचना निकालेको हो’, वडाअध्यक्ष मित्रा परियारले भनिन्, ‘प्रहरीसंग पनि समन्वय भएको छ ।’
चोरीका घटना नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिहरुले पनि साथ र सहयोग दिन प्रहरीले आग्रह गरेपछि आफूले सूचना निकालेको उनले बताइन् । उक्त चोरीको घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए । ‘ती मध्ये तीन जना नावालक भएकाले उनीहरुलाई तारेकमा छाडेका छौ,’ उनले भने, ‘बाँकी एक जनालाई मुद्दा दर्ता भएर कारवाही प्रक्रिया अघि बढेको छ ।’
त्यस्तै गण्डकी गाउँपालिका ७ र ८ मा पनि श्रृंखलावद्ध रुपमा चोरीका घटना भएका छन् । एक महिनाको अवधिमा पाँच वटा चोरीका घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी पाठक स्वयमले बताए । उनले थपे, ‘चार वटा सानातिना चोरी भएपनि एउटा गहनासहित ठुलै चोरी भएको छ ।’
केही दिनयता वडाको ज्यामिरघाटमा अत्याधिक चोरीका घटना भएको वडा नम्वर ७ का अध्यक्ष तुलसी रेग्मीले बताए । ‘यहाँका कमल राना मगरको घरबाट ५० हजार नगद, गहना र पसलका सामानहरु चोरी भएको छ’, उनले भने, ‘त्यस्तै मिननाथ रेग्मीको ६ तोला सुन र ६५ हजार रुपैयाँ नगद चोरी भएको छ । प्रेम बिकको सुनको सिक्री, नवराज रेग्मी, धर्मराज तिवारीको पनि घर फुटाएर विभिन्न सामान र नगद चोरी भएको छ ।’
चोरीका घटना बढ्न थालेपछि गाउँघरमा त्रासदी बढेको उनको भनाइ छ । दिनहुँजसो चोरीका घटना हुन थालेपछि स्थानीय युवाहरुले रात्रीगस्ती गर्न थालेको उनले जानकारी दिए । ‘अहिले गाउँले युवाहरु मिलेर रात्री गस्ती गर्न थालेका छन्’, उनले भने, ‘हामीले जिल्ला प्रहरी कार्यालयमा पनि यस्तो अबस्था बारेमा जानकारी गराएका छौँ ।
अहिले सादा पोशाकका प्रहरीले गाउँमा गस्ती गर्ने गरेको छ ।’ घ्याल्चोक र भूम्लिचोकलाई लक्षित गरि चोरी नियन्त्रणका लागि ‘स्पेशल अप्रेशन’ संचालन गरिएको एसपी पाठकले बताए । ‘जिल्लाबाटै एउटा टोली त्यहाँ खटाएका छौ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ,’ उनले भने ।