चितवन । चितवनको भरतपुर स्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा यहि चैत ९ गतेदेखि पहिलो पटक आदिवासी जनजाति महोत्सव आयोजना हुदैछ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा चैत ९ गते सुरु भै चैत १८ गतेसम्म संचालन हुने गरि प्रथम आदिवासी जनजाती साँस्कृतिक तथा व्यापारिक महोत्सव हुन लागेको हो ।

आदिवासी जनजाति समुदायको मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ संचालन हुन लागेको महोत्सवमा चितवनमा बसोबोस गर्ने १७ वटा जनजाती मध्य गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेल, दराई, कुमाल, तामाङ, बोटे, राई लगायत ११ वटा जातीले आफ्नो मौलिक घर नै निर्माण गरेर जनजाती बस्ती नै निर्माण गरेको छ ।
सोही बस्ती भित्र मौलिक परम्परागत घर निर्माण गर्दै गुरुङ समुदायले आफ्नौ मौलिक संस्कार संस्कृति झल्कने सामाग्रीहरु राख्दै गुरुङ मिनि संग्राहलय नै निर्माण गरेको छ । उक्त घरमा गुरुङ समुदायले परापुर्वककालदेखि जन्मदेखि मृत्युसम्म प्रयोग गर्दै आईरहेको सामाग्रीहरुलाई प्रदशनीमा राखिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले बताउनुभयो ।

गुरुङ घरमा परापूर्वकालमा गुरुङ समुदायले प्रयोग गर्ने, ढिकी, जातो, हलो जुवा, कोदाली, कोदोको जाड, रक्सीपार्ने हाडाबाडा, मादल, धान मकै राख्ने भकारी, मासु सुकाउने भार, ओदान, पितृपूजा गर्ने स्थल, निर्माण, फैलु राख्ने स्थान, क्होइवो, लगायतका परम्परागत सामाग्रीहरु प्रदशर्नीमा राखिएको छ । प्रदर्शनी स्थलमा गुरुङ समुदायको खानपानहरु समेत राखिने अध्यक्ष तमूले बताउनुभयो ।

यसका साथै गुरुङ समुदायका खेगीगुरुहरु पच्यु, क्ल्हेप्री, वोन लमले गुरुङ समुदायको संस्कार अनुसार दैनिक पूजाआजा गरिनेछ भने यहि चैत ११ गते परेको गुरुङ समुदायको म्हे त्हले दिवस अर्थात धनुष विद्या पर्व समेत नारायणी नदी किनारमै मनाउने भएको छ ।


