Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या, यौन र ऋण प्रमुख कारण

सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या, यौन र ऋण प्रमुख कारण

इच्छाकामना न्युज

५, चैत्र २०८०
सिरहामा ४ दिनको अवधिमा ३ महिलाको हत्या, यौन र ऋण प्रमुख कारण
images

जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो ।

images
images

साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर ‘न्यू स्टार’ नामबाट होटेल सञ्चालन गरेका थिए । होटेल भित्रै सुत्ने कोठामा अनिताको शव फेला पर्यो । शरीरका विभिन्न भागमा धारिलो हतियार तथा ढुंगा प्रहार भएको थियो । प्रहरीले घटनालगतै उनका पति महेन्द्रसहित केही व्यक्तिलाई नियन्त्रणमा लियो ।

तालिमप्राप्त कुकुरसहितको अनुसन्धानबाट पति महेन्द्रले नै पत्नी अनिताको विभत्स हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए । ‘घटनास्थलबाट बरामद भएको मृतकको पिठ्युमा थिचेको ढुङ्गा, घरमा चक्कु/खुकुरीमा धार लगाउन प्रयोग गर्ने ढुङ्गा, कोठामा फेला परेको चप्पल र घडी, खाल्डोमा फेला परेको खुकुरी महेन्द्रकै हो भन्ने उनकै ११ वर्षीया छोरीले पहिचान गरेकी छन्,’ डिएसपी पाण्डेले भने, ‘पक्राउ परेका शंकास्पद व्यक्तिले पनि उनकै संलग्नता रहेको बयान दिएपछि महेन्द्रले नै हत्या गरेको हाम्रो निष्कर्ष छ ।’

महेन्द्रमाथि चैत १ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय गोलबजार सिरहाले थप अनुसन्धान गरिरहेको छ ।

१२ वर्षअघि अनिता र महेन्द्रको सामाजिक परम्परा अनुसार बिहे भएको थियो । उनीहरुका एक छोरी र दुई छोरा छन् । माइती पक्षका अनुसार बिहेको केही वर्षदेखि महेन्द्रले श्रीमती अनितालाई कुटपिट गर्ने गरेका थिए । कयौंपटक गाउँ समाजमा छलफल समेत भएको थियो ।

अनिताको हत्या भएको २४ घण्टा नबित्दै फागुन २७ गते अपराह्न सिरहा नगरपालिका ६ बसबिट्टाकी ६० वर्षीया निर्मलादेवी यादवको हत्या भयो । घाँस ल्याउन तथा बाख्रा चराउन गएकी निर्मलाको कमला नदीको बाँध नजिक अपराह्न ४ बजे शव फेला पर्यो । डिएसपी पाण्डेका अनुसार पति राम उदगार साहले नै पत्नी निर्मलाको घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेका थिए । पति राम उदगारलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।

‘अनुसन्धानको क्रममा मृतकका श्रीमान ६५ वर्षीय राम उदगार साहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले नै हत्या गरेको हो भन्ने खुल्न आएको छ,’ डिएसपी पाण्डेले भने ।

छोरा ३२ वर्षीय सन्तोष साहले आमाको हत्या भएको भन्दै बुबाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन् । उनीहरुका पाँच छोरा र एक छोरी छन् ।

सिरहाका एसपी सन्तोष आचार्यका अनुसार अनिता र निर्मला हत्या घटना यौनसँग सम्बन्धित छ । प्रहरीको अनुसन्धानमा अनिताको हत्याको मूल कारण श्रीमान–श्रीमतीले एक अर्कामाथि शंका गर्दथे । महेन्द्रले आफैं परस्त्रीसँग सम्बन्ध राख्ने र पत्नीलाई परपुरुषसँग सम्बन्ध राख्ने गरेको आरोप लगाउने गर्दथे । ‘महेन्द्र आफूचाहिँ परस्त्रीहरुसँग लागिरहने र उल्टै श्रीमतीमाथि शंका गर्ने गर्दथे । त्यसकारण पटक–पटक दुबैजनाको झैझगडा विवाद भइरहन्थ्यो, कुटाकुट पनि हुने गरेको थियो,’ एसपी आचार्य भन्छन्, ‘हत्याको कारण पनि यही नै देखियो ।’

एसपी आचार्यका अनुसार निर्मला देवीको घटनामा पति–पत्नीबीच लामो समयदेखि शारीरिक सम्बन्धलाई लिएर विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राम उदगारले आफूसँग श्रीमतीले १० वर्षदेखि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् । ‘आफूसँग शारीरिक सम्बन्ध नराखेको आरोपमा रामउदगारले आवेशमा आएर पत्नीको हत्या गरेको खुलेको छ,’ एसपी आचार्य भन्छन् ।

अनिता र निर्मला देवीको हत्या घटना सेलाउन नपाउँदै गत चैत १ गते सिरहामा फेरि उस्तै प्रकृतिको घटना भयो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी ४० वर्षीया कुमिया देवी दास बारीमा दाउरा ल्याउन गएकी थिइन् । सवा ४ बजेतिर उनको शव फेला पर्यो । उनको शरीरका विभिन्न भागमा बञ्चरो प्रहार भएको घाउ थियो । पति ५६ वर्षीय रामसितलले बञ्चरो प्रहार गरी पत्नीको हत्या गरेको खबर पाउने बितिकै प्रहरी घटनास्थल पुगे ।

उनको घाँटी, चिउँडो, गाला लगायत शरीरका विभिन्न भागमा अन्धाधुन्ध बञ्चरो प्रहार भएको थियो । प्रहरीले पति रामसितललाई हत्यामा प्रयोग भएको बञ्चरोसहित नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो ।

अनुसन्धानको क्रममा रामसितलले नै बञ्चरो प्रहार गरी श्रीमती कुमिया देवीको हत्या गरेको स्वीकार गरेको डिएसपी पाण्डेले बताए । रामसितलमाथि चैत १ गतेदेखि नै कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस घटनामा भने श्रीमतीले जथाभावी ऋण उठाउने गरेको र साहुहरु घरमा आएर दबाब दिने गरेको कारण आवेशमा आएर हत्या गरेको रामसितलले प्रहरी समक्ष बयान दिएको एसपी आचार्यले बताए । अनलाईनखबरबाट

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०८:४७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology