Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा हुने जनजाती महोत्सवमा महोत्सवस्थलभित्रै जनजातिका गाउँ

चितवनमा हुने जनजाती महोत्सवमा महोत्सवस्थलभित्रै जनजातिका गाउँ

इच्छाकामना न्युज

४, चैत्र २०८०
चितवनमा हुने जनजाती महोत्सवमा महोत्सवस्थलभित्रै जनजातिका गाउँ

नारायणगढ । चितवनमा पहिलोपटक हुन लागेको ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी चलिरहँदा महोत्सवस्थलभित्रै आदिवासी जनजाति समुदायको गाउँ निर्माण भइरहेको छ । जनजाति समुदायको संस्कृतिसँग जोडिएका परम्परागत घर निर्माण गरिएको हो ।

images

महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा बसोवास गर्ने आदिवासीलाई एकै ठाउँमा समेट्ने प्रयास गरिएको हो ।

अहिले धमाधम घर निर्माणको काम भइरहेको छ । ‘आजसम्म ९ वटा घर निर्माणको काम भइरहेको छ । यसबाहेक पनि केही जातिका घर थपिँदै छन्’, उनले भने, ‘हामीले महोत्सव प्रवेश गर्ने दर्शकहरुका लागि एउटा छुट्टै गाउँ देखाउने प्रयास गरेका हौँ ।’ चितवनमा आदिवासी जनजाति समुदायभित्र पर्ने करिब ४० जातजातिको बसोवास रहे पनि हालसम्म १७ जातिमात्रै महासंघमा सांगठनिकरुपमै आबद्ध भएका छन् ।

महोत्सवको आदिवासी जनजाति परिसर निर्माण उपसमितिका संयोजक सञ्जय भुजेलका अनुसार चितवनमा आदिवासी जनजाति समुदायको घर निर्माण हुने दाबी गरे । ‘त्यसभित्र पनि दराई, कुमाल, बोटे, चेपाङ, मगर, गुरूङ, दुरा, भुजेल, राई, थारुलगायतका जातजातिको घर निर्माण भइरहेको छ’, उनले भने, ‘सबै जातिको घर एउटै गाउँमा समेट्दा कम्तीमा आदिवासी जनजाति समुदायको सांस्कृतिक विविधता देख्न पाइन्छ ।’

चितवन जिल्लामा पहाडमा बस्ने चेपाङदेखि तराई क्षेत्रमा बसोवास गर्ने थारु जातिसम्मको समुदायलाई समेटेर खुला सङ्ग्रहालय बनाउने प्रयास गरिएको उनको भनाइ छ । ‘यही परिसरले पनि अन्य मेला–महोत्सवभन्दा यो महोत्सव फरक छ’, उनले भने । उनका अनुसार चितवनका आदिवासी जनजातिअन्तर्गत जातीय संघसंस्थाका प्रतिनिधिहरुले घर निर्माण गर्ने कामलाई तीव्रता दिइरहेका छन् ।

नयाँ पुस्ताले भने यो महोत्सवमा निर्माण हुँदै गरेको घरले फरक अनुभव दिलाउने बताइरहेका छन् । आफू आदिवासी जनजातिकै सन्तान भए पनि मौलिक घर देख्न नपाएको बताउँदै महोत्सव आर्थिक उपसमितिकी सदस्य नुरमाया कुमालले भनिन्, ‘हामीजस्ता नयाँ पुस्ताका लागि इतिहास बनिसकेको सांस्कृतिक घरले फरक अनुभव दिलाउने छ ।’

पछिल्लो समय समयको माग र आर्थिक उन्नतिको विकासक्रमसँगै आदिवासी जनजाति समुदायले पनि परम्परागत घर बनाउन छाडिसकेको हुँदा नयाँ पुस्तालाई यस विषयमा बुझ्न आवश्यक रहेको हुँदा महोत्सवस्थलमा निर्माण गरिएको आदिवासी जनजाति समुदायको गाउँले धेरै पाठ सिकाउने उनको भनाइ छ । ‘पुरानो पुस्तामा पुनर्ताजगी गराउँछ भने हामीजस्ता नयाँ पुस्तालाई आफ्नै समुदायको इतिहास प्रत्यक्ष देख्न पाइन्छ’, उनले भनिन् ।

महोत्सवस्थल नारायणी नदीकिनारमा स्टल, बाल उद्यान निमार्णको कामले पनि तीव्रता पाएको छ । चैत ९ देखि १८ गतेसम्म चल्ने महोत्सवका लागि ठाउँ–ठाउँमा माइकिङ गर्ने, पोस्टर टाँस्नेलगायत प्रचारप्रसारको काम पनि भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - ०९:२४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology