Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि, नारायणी किनारमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्दै

भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि, नारायणी किनारमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्दै

इच्छाकामना न्युज

१८, फाल्गुण २०८०
भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि, नारायणी किनारमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्दै

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन् । पाँच पूर्व प्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसकेका छन् ।

images

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनेछन् ।

यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिइन् । यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, प्रदेश प्रमुख अमिक शेरचन र तिलक परियार उपस्थित हुने भएका छन् । माल्टाको एम्सिदा नगरका नगर प्रमुख मारर्गेरेट सेफाइसँगै नेपालका महानगरपालिका पोखरा र वीरगञ्जबाट प्रमुखको कार्यक्रममा उपस्थित हुनेछन् । चितवन र छिमेकी जिल्लाका उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू कार्यक्रममा उपस्थित हुनेछन् ।

यसैगरी मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहने दाहालले जानकारी दिइन् । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ । भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्‍याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ ।

औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए ।

भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडा समेत पर्यटकले हेर्न पाउने छन् । ऐतिहासिक दियालो दरबार समेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्वपूर्ण छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ०९:०३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology