Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

एक अर्ब लगानी थपेर पूर्ण डिजिटल बनाइदै मनकामना केबलकार, रिसोर्ट समेत तयार पारिदै

एक अर्ब लगानी थपेर पूर्ण डिजिटल बनाइदै मनकामना केबलकार, रिसोर्ट समेत तयार पारिदै

images

रासस

९, मंसिर २०८०
एक अर्ब लगानी थपेर पूर्ण डिजिटल बनाइदै मनकामना केबलकार, रिसोर्ट समेत तयार पारिदै
images

चितवन । गोखरास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि रु एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उहाँका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो । “एनालग प्रविधिको मर्मतसम्भार गर्नुका साथै स्पेयर पार्टस्समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् प्रविधि डिजिटल प्रणालीमा स्तरोन्नति गर्दैछौँ”, उहाँले भन्नुभयो, “अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति हुनेछ ।”

उहाँका अनुसार स्तरोन्नतिको पहिलो चरणको काम सन् २०२१ पूरा भइसकेको र बाँकी काम सन् २०२४ को मध्यसम्म सम्पन्न भइसक्नेछ । यसका लागि सामान मगाइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा ‘कन्ट्रोल सिस्टम’, ‘कम्युनिकेशन केवल’का साथै केवलकारको लठ्ठा फेरिने छ ।

सञ्चालक श्रेष्ठले सन् २०२५ को सुरुआतसम्म सञ्चालन हुने गरी हाल मनकामना केबलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्टको निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ४० कोठाको सुविधासम्पन्न रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा तथा सेमिनारका लागि हल र रेष्टुराँको समेत सुविधा हुनेछ । “रिसोर्टका लागि रु ५५ करोड लगानी हुने अनुमान छ । रिसोर्ट सञ्चालनका लागि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहनेछ”, उहाँले भन्नुभयो ।

मनकामना दर्शन गर्न आउने भक्तजनहरुलाई राम्रो सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको उहाँको भनाइ । “मनकामना मन्दिर दर्शनका लागि केबलकार प्रयोग गर्ने यात्रुमध्ये तीन प्रतिशत मात्रै भए रिसोर्ट राम्रोसँग चल्ने रहेछ, यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको हो ”, उहाँले भन्नुभयो ।

सम्पूर्ण प्रणालीलाई डिजिटाइज गर्न लागेको कम्पनीले पछिल्लो समय टिकटलाई पनि अनलाइन प्रविधिमा उपलब्ध गराएको छ । “यात्रुलाई सहज पनि हुने र कागजको खपत कम हुँदा वातावरणीय दृष्टिले पनि राम्रो हुन्छ”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “अनलाइनमार्फत टिकट काट्ने बढ्दै गएका छन् । हाल ३० प्रतिशत टिकट अनलाइनबाट बिक्री भइरहेको छ ।” केबलकार सञ्चालनमा आएपछि मनकामना मन्दिरमा भारतीय पर्यटकको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । “पछिल्लो दुईदेखि तीन वर्षमा सार्क राष्ट्रका विशेष गरी भारतीय पर्यटकको सङ्ख्या बढिरहेको छ, अहिले २५ देखि २८ प्रतिशत हिस्सा भारतीय पर्यटकको छ ।”

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २१:१९:१२ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology