नवलपरासी । तिहारको महत्वपूर्ण दिन मध्यको एक आज लक्ष्मीपूजाकै दिन नवलपरासी (बर्दघाट पूर्व)को देवचुलीमा बोलेरो गाडीको भयानक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउदै गरेको लु १ ज ३२७० नम्बरको बोलेरो जीप जीप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको हो । दुर्घटना परि ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा गम्भिर घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ भने मृतक मध्य १ जनाको सनाखत हुन बाँकी छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।