Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’

चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’

इच्छाकामना न्युज

२०, आश्विन २०८०
चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’
images

सञ्जय चौधरी, रत्ननगर । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास हुनेगर्छ ।

सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने गरिन्छ ।

यस ब्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठुलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध छ ।

आज (शनिवार) थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।

जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु भएको थियो । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा यतिबेला जितियाको विशेष उल्लास छ । थारु समुदायका महिलाहरु खुल्ला तरिकाले चोक चोकमा झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाईरहेका छन्।

बिहानै नुहाईधुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व मनाईरहेकाछन् । विगतका वर्षहरुमा झै यस वर्ष पनि विहान पख दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ । जितियाको चहलपहल जताततै छ ।

चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुनेगर्दछ ।

images
images

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्व मनाईन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो (शुक्रवार) सप्तमीको दिन भएकोले महिलाहरू विहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरि त्सपछि मात्रै खानेकुरा खाएका थिए ।

आज (शनिवार) अष्टमीको दिनमा महिलाहरू विहानै नुहाई, घुवाई गरी सफा र चोखो कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाउछन् । महिलाहरू सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ ।

रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा बिहान भिजाएको मासको दाल र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ ।

कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन विहनै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।

सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाईने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको छ । यो पर्वले महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ ।

विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहन बाबाको नामले पुर्जा अर्चना गर्ने प्रचलन छ । विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलीहरुले यो पर्वमा ब्रत लिन सक्छन् ।

विवाहितले श्रीमान र आफ्ना सन्तानको दिर्घायुको कामना गर्दै निरहार ब्रत बस्छन् भने अविवाहीत चेलीहरुले जितबाहन जस्तै सुयोग्य पत्ति प्राप्तीका लागि निरहार ब्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र चेलीहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।

यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दुखका कुरा साट्ने अवसरका रूपमा लिन्छन् । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने संगमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर
पनि यस पर्वले जुराउने गरेको छ ।

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तर पनि थारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको छ । 

यस्तै, थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा चितवनका स्थानिय तहहरूले आइतवार सार्वजनिक विदा समेत दिएकाछन् ।

अहिले काठमाडौंमा बस्ने थारु समुदाय लगाएत अन्य समुदायका महिलाहरुले पनि जितिया पर्व धुमधामका साथ मनाउने गर्छन् । संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेकाछन् ।

यसरी सामाजिक सद्धभाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व हो ।

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - १०:०२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology