Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै, बागमती प्रदेशभर सार्वजनिक विदा

आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै, बागमती प्रदेशभर सार्वजनिक विदा

रासस

२२, भाद्र २०८०
आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै, बागमती प्रदेशभर सार्वजनिक विदा
images

भरतपुर । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

images
images

हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । यस वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन् । शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । उहाँले सामूहिक उत्सवको सबै तयारी गरिएको बताउनुभयो ।

उहाँका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदैछन् । विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उहाँले सरकारले सार्वजनिक बिदा दिन थालेपछि छोनाम पर्वमा थप उत्साह बढेको बताउनुभयो ।

उहाँका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उहाँले बताउनुभयो ।

वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । उहाँका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ ।

नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०८:३०:५८ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology