Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँका युवामा क्रिकेट मोह बढेपछि खेलमैदान खोजिँदै

तनहुँका युवामा क्रिकेट मोह बढेपछि खेलमैदान खोजिँदै

रासस

१२, भाद्र २०८०
तनहुँका युवामा क्रिकेट मोह बढेपछि खेलमैदान खोजिँदै
images

दमौली।पछिल्लो समय क्रिकेट खेलतर्फ युवा आकर्षण बढेसँगै तनहुँमा क्रिकेट खेल मैदान खोजी थालिइएको छ। यसका लागि तनहुँ जिल्ला क्रिकेट संघले नेतृत्व लिएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ।

images
images

खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेलमैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट संघ अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए। उनले भने, ‘जिल्लामा क्रिकेटका गतिविधि विस्तारै बढ्दै छन्। यसतर्फ खेलाडी आकर्षित भइरहेका छन्। तर, मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ।’ राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ।

नेपाल क्रिकेट संघ केन्द्रीय समिति र गण्डकी प्रादेशिक क्रिकेट संघले जिल्लामा मैदानको पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष तिमिल्सिनाले बताए। खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको दमौलीका कविराज श्रेष्ठले सुनाए। उनले भने, ‘देशले पछिल्लो समय क्रिकेटमा ठूलो प्रगति गरेको छ। सोही कारण पनि यहाँ खेलप्रति आकर्षण बढिरहेको छ।’

तनहुँका क्रिकेट खेलाडी चन्द्रकान्त पौडेलले जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान नभएको र सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको गुनासो गरे। दमौली पेलिकन्स क्लबले बेला–बेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ। खेलमैदानकै अभावमा क्लबले व्यास–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ।

‘क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन। यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ’, उनले भने। तनहुँ क्रिकेट संघका पूर्वअध्यक्ष ताराराम श्रेष्ठले क्रिकेटतर्फ आकर्षण बढे पनि पूर्वाधार अभाव रहेको बताए।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - ०८:४८:५४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology