Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

इच्छाकामना न्युज

१४, जेठ २०८०
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय
images

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् ।

images
images

पूर्व-पश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए । “हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्यौँ”, उनले भने, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उनले भने, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ । “ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उनले भने ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताए ।

विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ । पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताए ।

“अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपिपल रोपेर चौतारी बनाउने चलन थियो”, उनले भने, “विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपिपल पनि हराउँदै गए ।” रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपिपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताए । “सहरीकरणका कारण ठूला–ठूला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपिपलका रुख नरोपिनु, नहुर्काइनु राम्रो होइन”, उनले भने, “चौतारी भत्काइनु, पोखरी पुरिने ढुङ्गेधारा कुवाजस्ता जलस्रोतको संरक्षण नगरिनु बडो चिन्ताको विषय हो ।”

हाम्रो पुरातन चौतारी, पोखरी तथा देउरालीको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा भण्डारीले जोड दिए । परिवर्तनको सङ्घारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उनको भनाइ छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - ११:४८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology