भरतपुर । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रशासकीय भवनमा एक सातादेखि कालो ब्यानर झुन्ड्याइएको छ। ‘पीडित कर्मचारीका मागहरू’ शीर्षक दिएर झुन्ड्याइएको ब्यानरको पहिलो बुँदामा लेखिएको छ, ‘अन्यायपूर्ण रूपमा सिनियरलाई पाखा लगाएर गरिएको बढुवा सिफारिस खारेज हुनुपर्ने।’
यो आरोप चैत ५ र ६ गते गरिएको बढुवामा असन्तुष्टहरूले पछिल्लो पदपूर्ति समितिलाई लगाएको हो। क्यान्सर अस्पतालमा यस्ता असन्तुष्टि भने नौलो होइन। बढुवा हुने समयमा कर्मचारीले यस्तो गरिरहन्छन्, तर यसपटक भने आन्दोलन चर्किएको छ। अस्पताल सञ्चालक समिति, कार्यकारी निर्देशक र उपनिर्देशकजस्ता पद खाली हुने समयमा कर्मचारीले आन्दोलन चर्काइरहेका छन्। यी पदमा राजनीतिक नियुक्ति हुने गर्दछ। अध्यक्ष पद अहिले खाली छ। कार्यकारी निर्देशकको समयअवधि पनि वैशाखमा सकिँदै छ। एक समूहले अहिले कर्मचारी बढुवालाई लिएर कार्यकारी निर्देशक र अध्यक्ष हत्याउने दाउमा आन्दोलन गर्न लगाएको त्यहाँ काम गर्ने चिकित्सक नै बताउँछन्।
कार्यकारी निर्देशक, अस्पतालका प्रशासकीय अधिकृत (सदस्य–सचिव), कानुन अधिकृत, स्वास्थ्य मन्त्रालय र लोकसेवा आयोगका प्रतिनिधि रहेको पदपूर्ति समितिले कर्मचारीको बढुवा गर्ने व्यवस्था छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कर्मचारी प्रशासन नियमावली २०६६ ले कर्मचारी बढुवा गर्न ज्येष्ठताबापत ३०, शैक्षिक योग्यताबापत ३० र कार्यसम्पादन मूल्यांकनबापत ४० अंक तोकेको छ। कार्यसम्पादन मूल्यांकनको ४० अंकमध्ये १५ अंक सुपरिवेक्षक अर्थात् विभागीय प्रमुख, १५ अंक पुनरावलोकनकर्ता अर्थात् कार्यकारी निर्देशक र १० अंक पुनरावेदन समिति अर्थात् सञ्चालक समितिले दिने व्यवस्था नियमावलीमा छ। उनीहरूले दिने नम्बर नै बढुवामा केही चलखेल हुन सक्ने बताइन्छ। वरिष्ठतालाई छाडेर राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको बढुवा गरिएको असन्तुष्ट कर्मचारी कृष्णहरि बराल बताउँछन्। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण छ। अस्पतालका कर्मचारी अन्यायमा परेको परिस्थितिमा आन्दोलन जारी नै रहन्छ’, उनले भने, ‘अहिलेको बढुवा खारेज हुनुपर्दछ।’ उनले न्यायिक छानबिन समिति गठन गर्नसमेत माग गरेका छन्।
यतिखेर पदपूर्ति समितिले चिकित्सक, स्टाफ नर्स, प्राविधिक, प्रशासनतर्फका विभिन्न तहमा ३५ जनाको बढुवा गरेको छ। रजिस्ट्रारबाट जुनियर कन्सल्टेन्ट, वरिष्ठ सिस्टरबाट नर्सिङ सुपरभाइजर, वरिष्ठ स्टाफ नर्सबाट सिस्टर, स्टाफ नर्सबाट वरिष्ठ स्टाफ नर्स र वरिष्ठ सहायकबाट अधिकृत पदको बढुवामा बढी विवाद छ।
मेडिकल चिकित्सकतर्फ एघारौं तहमा ६ जना नियुक्त भएका छन्। डा. दिपिप कर्मचार्य, डा.अरूण सिग्देल, डा. प्रदिप थापा, डा. सुधिर श्रेष्ठ, डा. सुशील अधिकारी र डा. सुरेन्द्र गौचन नियुक्त भएका छन्। उनीहरूको अन्तिम योग्यताक्रमको नम्बर ७४.१३ छ। उनीहरूसँगैका प्रतिस्पर्धीले डाक्टरहरूले कार्यसम्पादन मूल्यांकनमा आफू पछि पर्नुको कारण खोज्दै बढुवामा असन्तुष्टि जनाएका छन्। मेडिकल चिकित्सकतर्फ दशौं तहमा डा.मञ्जु पाण्डेय, डा. सञ्जय पौडेल, डा. हेमनाथ सुवेदी, डा. सुमन खनाल, डा. विवेक कँडेल गरी पाँचजना चयन भएका छन्। उनीहरूभन्दा पहिले करारमा काम गरेका चिकित्सकहरूले यसको विरोध गरेका छन्। आफूहरू वरिष्ठताका आधारमा अगाडि रहे पनि मूल्यांकनमा किन पछाडि पारेको भन्ने उनीहरूको आरोप छ। करारमा रहेकाको ७५ प्रतिशत सेवा अविधि जोडिन्छ।
बढुवा हुनेमा आन्तरिक र फाइल बढुवाका आधारमा गरिएको छ। स्टाफ नर्सतर्फ नौ तहमा नर्सिङ प्रमुख सविता पन्थीलाई आठौं तहबाट नवौं तहमा बढुवा गरेको छ। नवौं तहमा बढुवा हुनका लागि आठौं तहमा चार वर्ष पुगेको हुनुपर्दछ। बढुवाका लागि मापदण्ड पुगेका ६ जना मात्र थिए। त्यसमध्ये शैक्षिक योग्यतामा अगाडि सुशीला कोइराला र सविता पन्थी थिए। अरू कार्यसम्पादन मूल्यांकनका आधारमा पन्थीलाई छनोट गरेको हो। उनीसँगै राजेन्द्र मल्ली, अनुपा थापा, सावित्री भुजेल र बबिता सुवेदी पनि प्रतिस्पर्धामा थिए।
सातौंबाट आठौं तहमा बढुवा हुँदा २०७४ चैत १२ गते ३ नम्बरकी रीता चापागाई र ४ नम्बरकी गोमा चापागाई र ५ नम्बरकी सविता पन्थीलाई छाडेर छैटौं नम्बरकी अनुपा थापा र सातौं नम्बरकी सावित्री भुर्तेललाई बनाइएको थियो। पन्थी २०७५ को भदौ महिनामा बढुवा भएकी थिइन्। प्रशासनले कात्तिकमा नियुक्ति दिएको थियो। उनीसँगै नवौं तहमा सरोजिनी शर्मा, अयोध्या पाठक र अनिता देवकोटा रहेका छन्। छैटौंबाट सातौं तहमा दुईजना बढुवा भएका छन्। निर्जनाराज भण्डारी र पार्वती सिलवाल रहेका छन्। उनीहरू अघिल्लोपटक नै सातौं तहका लागि प्रतिस्पर्धी थिए। उनीहरू १ र ३ नम्बरमा थिए। २ नम्बरकी मनिता ढकाल बढुवा हुन सकिनन्। सातौं तहमा बढुवा हुन छैैटौं तहमा ५ वर्ष काम गरेको पुग्नुपर्दछ।
वरिष्ठ स्टाफ नर्स पदमा १० जना नियुक्त भएका छन्। ३२ जना प्रतिस्पर्धीबाट उनीहरू चयन भएका हुन्, तर उनीहरूको वरिष्ठताका आधारमा भएको पाइँदैन। बढुवामा क्रमशः ८, ९, ३२, १३, १८, २२, १, २५, ४ र ६ नम्बरका परेका छन्। २०७३ सालमा स्थायी भएकालाई फाइल बढुवा गरिएको छ। प्रभा न्यौपाने, शर्मिला सुनुवार, रोशनी न्यौपाने, सम्झना तिवारी, सरिता रानाभाट, कृपा पौडेल, ज्योति चौधरी, प्रभा पोखरेल, शर्मिला मिजार र जरिना खातुन रहेका छन्।
मेडिकल हेल्थतर्फ आठौं तहमा रामनारायण यादव, प्रशासनतर्फ अधिकृत सातौं तहमा शिला रेग्मी, वरिष्ठ टेक्निसियन छैटौं तहमा गोकुलकुमार भण्डारी, शशिकुमार कुशवाहा, सुशीला अधिकारी, रेडियोथेरापी टेक्नोलोजीतर्फ छैटौं तहमा सन्तोषकुमार झा, असिस्टेन्टमा सुकबहादुर तामाङ, जुनियर असिस्टेन्टमा टेकबहादुर खत्री बढुवा भएका छन्। उनीहरूको बढुवालाई लिएर कर्मचारीमा राजनीति सुरु भएको हो। बिरामीको सेवाभन्दा पनि राजनीति बढी हुने गरेको स्वयं कर्मचारी नै बताउँछन्। कर्मचारी बढुवामा कार्यकारीको अधिकार बढी हुने हुँदा आफूनिकट कर्मचारी बढुवा गर्न सबै कार्यकारी लाग्ने गर्दछन्। यसपटक मात्र होइन, यसअघिका कार्यकारी पनि आफ्नो पार्टीनिकटका कर्मचारी बढुवा गर्न तल्लीन देखिन्थे, तर यसपटक भने आफू स्वच्छ एवं निश्पक्ष रूपमा कर्मचारी बढुवा भएको कार्यकारी निर्देशक देजकुमार गौताम बताउँछन्। ‘आन्दोलन गर्ने कर्मचारीको माग मेरो भएन र मेरा मान्छेको भएन भन्ने हो, पदपूर्ति समितिको बैठक बसेर निश्पक्ष बढुवा गरेका छौं’, उनले भने, ‘प्रहरी महानिरीक्षक नियुक्तिमा पनि यस्तै हुन्छ। चित्त बुझेन भने कानुनीबाट प्रयोग गर्न सक्नुहुन्छ, यहाँ आन्दालन गरेर केही हुँदैन।’ नागरिक दैनिकबाट