सिरहा, १९ असोज । विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउद्गार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
आरोपित मुकेशका बुवा सिंहेश्वर र शत्रुघ्नलाई ऋणी बनाएर ५ लाख रुपैयाँको कपाली तमसुक गराइएको छ । जसमा गाउँकै धनी रामगुलाम यादव, लक्षुमण यादव खडा गरिएको छ । बलात्कार घटना मिलाउन पञ्चहरूले नक्कली ऋणी र धनी खडा गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
उनीहरूले बनाएको कागज (कपाली) पञ्चायतमा सहभागी जगवीरको जिम्मा राखिएको थियो । प्रहरीले जगवीरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरेको कागज फेला परेको हो । कपाली तमसुक बनाएर शनिबार (१७ गते असोज) मा गाउँमा ‘पञ्चायत’ बसेको थियो । स्थानीयका अनुसार छलफल भइरहेकै बेला कुटाकुट सुरु भयो । अरूले आरोपित र उनका आफन्तलाई कुटपिट गरे । त्यसपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो ।
इलाका प्रहरी विष्णुपुरको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीमा दर्ता हुने मुद्दा गाउँमा नमिलाउने, प्रहरीमा जाऊँ भनेर सम्झाउँदा पञ्चहरूले उल्टै प्रहरीलाई थर्काएको स्थानीयले सुनाए । त्यसपछि थप प्रहरी आएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार बलात्कृत बालिकाका भाइले परिवारको इज्जत गएको भन्दै रिसाएर पीडितलाई कुटपिट गरेका थिए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।