Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्मृतिमा जनयुद्ध

स्मृतिमा जनयुद्ध

देवराज गुरुङ

१, फाल्गुण २०७९
स्मृतिमा जनयुद्ध
images

भूगोल आफैले बलिदान र योगदान गर्दैन तर त्यसको साक्षी भने अवश्य रहन्छ । गोरखाको दक्षिणको भुम्लिचोक पनि ठिक त्यस्तै रह्यो । माओवादीले विस २०५२ फागुन १ देखि सञ्चालन गरेको जनयुद्धमा भुम्लिचोक जिउँदो भूगोल हो । दक्षिणको छेकम्पारको उपमाले चिनिने यस भूगोल जनयुद्धमा साक्षी मात्रै बनेन युद्धलाई गन्तव्यमा पुर्याउने गन्तव्य समेत बन्यो । अग्लो, जटिल भू–भाग र राज्यको लाइफलाईनसँग जोडिएको राजमार्ग नजिकै हुनुले पनि भुम्लिचोक जनयुद्धको लागि सबैभन्दा उपयुक्त स्थान बन्यो । यो लेखमा राजनीतिक विषय वस्तुमा टिकाटिप्पणी र बहस भन्दा पनि बाल्यकालमा भोगेको जनयुद्धलाई सरसरी स्मरण गर्ने प्रयास मात्र गर्नेछु । घटनाहरुको कुनै तिथि र मितिहरु समेत एकिन गर्ने अवस्था छैन । कारण बाल मष्तिस्कमा दिर्घकालिन सोचले घर जमाउने कुरा निकै पर रहन्छ । अर्काे तर्फ त्यो किसिमको अविभावकिय भुमिका पनि थिएन, भेटिएन । 

images
images

मान्छे राजनीतिमा किन लाग्छन् ? राजनीतिको उद्देश्य के हो ? सिद्धान्त के हो ? राजनीति किन गर्ने ? जस्ता विषयहरु राजनीति प्रवेशको सुरुवाति चरणमा कमैले बुझेका हुन्छन् । कतिपय भने विभिन्न घटना र कारणले राजनीतिमा प्रवेश गर्छन् । थोरै मानिसहरु सिद्धान्तबाट प्रभावित बनेर राजनीतिमा होमिन्छन् । नेपालको सन्दर्भमा धेरै मानिसहरुको राजनीतिक पृष्ठभूमि वंशानुगत हो । अर्थात् जिन ट्रान्र्सफरको आधारमा हुन्छ । मेरो पनि कम्युनिष्ट बन्ने त्यहि वंशानुगत हो । अहिले थाहा भो, बा त्यतिबेला किसान संगठनमा आबद्ध रहेछन् । संगठनको नेतृत्व गर्ने भक्ति लामिछानेको हाम्रो घरमा आउँ जाउँ राम्रै थियो । बच्चाको मष्तिस्कले उनीहरुको बिचमा भएको संवादहरु बुझ्ने कुरै भएन । त्यहि माथि राजनीति र सङ्गठनको कुरा ! पछि जनयुद्ध छिप्पिदै गएपछि, जोशिला गुरुङ, शुसिला थापा लगाएत दिदीहरु घरमा आउजाउ बढ्न थाल्यो । आमा बालाई घरको काममा रामै्र सघाइ हुन्थ्यो । खेतबारीको काम गर्ने, घास काट्ने, दाउरा टिप्ने, साझ परेपछि गीत सुनाउँने, फुर्सदको समयमा हामीलाई काखमा राखेर खेलाउने, सरसफाई गर्ने र गर्न लगाउने, लालसलाम, कामरेड, हात मिलाउने आदी । राजनीति नबुझेका हामीहरु मओवादी घरमा आउँदा असाध्यै खुशी हुन्थ्यौ । 

भुम्लिचोकको पनि चिसोपानि माओवादीको लागि बढि नै सुरक्षित स्थान थियो । गाविस भवन भन्दा अलि पर गाउँ हुनु, जङ्गलको छेउमा रहनु, गाउँले सबै माओवादी समर्थक रहनु नै चिसापानीको विशेषता थियो । आजसम्म पनि मेरो गाउँलेले त्यो लाइन र पार्टी छाडेको छैन । गाउँको पुच्छारमा जनमुक्ति सेनाको ट्रेनिङ क्याम्प थियो । त्याहाँ हामीलाई सहजै प्रवेश दिइन्थ्यो । दिपक देवकोटा क (विकल्प) त्याहाको जल्दोबल्दो कमाण्डर थियो । लिखुरे केटो, ओठमाथि हल्का दाह्रिको रेखी उनको त्यो लाइभ तस्विर मेरो मनमा अझै ताजै छ । फूर्तिलो स्वभावका देवकोटाले हामीलाई बन्दुक बोक्न सिकाउथे । बिदाको दिन हामी दिनभर उनीहरुको टे«निङ हेथ्र्यौ । कम बोल्ने स्वभावको अरुणा थापा पनि अर्काे कमाण्डर थियो । क्याम्पको भित्र कुनामा चाहि ज्ञान बहादुर गुरुङ प्राय किताब हेरिरहन्थे । 

माओवादीले तमु राष्ट्रिय मुक्ति मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन भुम्लिचोकको चिसोपानीमा गर्याे । त्यस कार्यक्रमको मञ्च निकै आकर्षक बनाएको थियो । माथि त्रिपाल तल उन्यु काटेर विछ्याएको र उन्यु माथि त्रिपाल ओछ्याएको थियो । देब गुरुङ लगाएतका नेताहरुको उपस्थिति थियो । कार्यक्रमको मर्म र भाव धेरै बुझ्ने कुरै थिएन भएन । तर त्यति बेला सबैले एउटै मेसमा खाना खाने र देव गुरुङले आफूले खाएको भाडा आफैले माझेको देख्दा अच्चम्म लाग्थ्यो । पछि त्यहि संगठनमा जोडिएर काम गर्ने मौका मिल्यो, तर बिडम्वना संगठनको पहिलो सम्मेलन पोखरामा भएको भनेर भन्ने र लेख्ने गरेको रहेछ । इतिहास र भूगोलप्रति किन अपमान गर्याे ?

समय ठिक यस्तै हुनपर्छ माघ, फागुन । गाउँलेहरु खलामा कोदो कुट्न व्यस्त थियो । एक हुल सेना आएर गाउँका मान्छेहरुसँग माओवादीको गतिविधिहरु सोध्न थाल्यो । हामीलाई स्कुलिङ हुन्थ्यो, सेना प्रहरी आए पार्टीको साथिहरुलाई खबर गर्ने तल्लो गाउँ र माथिल्लो गाउँमा छिट्टो खबर पुर्याउने । संयोग पनि त्यस्तै भो म तल्लो गाउँतरि झर्दै थियो, अकुर दाइ माझ गाउँबाट माथिल्लो गाउँ उक्लिदै थियो, मेरै घरको नजिकै आएको उनलाई मैले माथि सेना छ, जङ्गल तिर जान आग्रह गरे । नत्र अकुर दाइ कारवाहीमा पर्ने लगभग निश्चित थियो किनभने गुरुङहरु मात्र रहेको गाउँमा बाहुन देख्दा बच्ने सम्भावना कमै हुन्थ्यो । अहिले त्यो विषयहरु भेटमा हासि मज्जाको विषय बन्दो रहेछ । 

सेनाहरु तुलनात्मक रुपमा प्रहरी र सशस्त्र प्रहरी भन्दा अलि कम आक्रमक हुन्थ्यो । बच्चाहरुलाई पनि उनीहरुले चक्लेट दिएर माओवादी आउँछ कि आउँदैन ? भन्दै प्रश्नहरु गथ्र्याे । हामीलाई माओवादीले यस्ता कुराहरु पहिल्यै सिकाएको हुन्थ्यो । आउँदैन, खै थाहा भएन, देख्दैन जस्ता उत्तरहरु हामी सहजै दिन्थ्यौ । गाउँमा उमेर पुगेका बा, दाइ, काकाहरुको घरमा बास कमै हुन्थ्यो । गाउँ छेउको गोठ, जङ्गलमा उनीहरुले सयौ रातहरु बिताए ।

श्रीनाथ अधिकारी लामो समय चिसापानीमा मेरो घरमा बस्यो । उनले मेरो घरमा बस्दा धेरै समय लेखपढमैै बिताए । उनको धर्म पत्नि पनि साथमै थिइन् । श्रीनाथ चुरोट र दुध चियाको निकै पारखी थिए । स्कुलबाट छुटेपछि अनिवार्य २ बट्टा चुरोट किनेर लैजानु मेरो दिनचार्य नै थियो । विडम्बना लामो समयसम्म रोगले थलिएर बस्दा समेत भेट्न पाइएन । पछि उमेर छिपिएपछि थाहा भो, श्रीनाथ अधिकारी गोरखाको मात्रै नभएर गण्डक क्षेत्रकै पुरानो मध्यको एउटा वामपन्थि नेता रहेछन् । 

दशैको आसपास सशस्त्र प्रहरीको एउटा टोली राति बेसी (बन्टार) मा आएर बा, बाजे, काकाहरुलाई बेस्सरी कुटेछ । बा र काकाहरु उमेरको हिसाबले युवा हुनु र कुटाइ खानु  स्वभाविक थियो तर त्यतिबेला ७० आसपास पुगेको बाजेहरुलाई कुटेको देख्दा आज पनि सेना र प्रहरी प्रति मेरो बुझाई सकरात्मक बन्न सकेको छैन । धेरै पछिसम्म उनीहरुलाई साझ परेपछि एउटै कुराले सताउँथ्यो, फेरी सेना प्रहरी आएर कुट्छन् कि ! त्यतिबेलासम्म मेरो पार्टी र राजनीतिको विषयमा छिपछिपे ज्ञान समेत थिएन । एक साझ बा आफैले आर्मी, पुलिस आएर के पार्टी हो ? भनेर सोध्यो भने एमाले हो, भन्नु भनेर भन्नुभो । आज आएर त्यो कुरा थाहा भो कम्तिमा एमाले पार्टी पनि वामपन्थि हो र सेना प्रहरीको कुटाइबाट बच्नको लागि बा ले एमाले भन्न सिकाएको रहेछन् । 

एक दिन कृष्णभिरको भिड्न्तमा घाइते भएका जनमुक्ति सेनाहरुलाई गाउँमा ल्याए । पल्लोघर काकाको घरमा उनीहरुको सेल्टर थियो । प्रकाश कमाण्डर रहेछन् । उनलाई तिघ्रामा गोली लागेको थियो । अर्का सुस्मालाई पनि हातमा गोली लागेको थिइन् । उनी चाहि हाम्रै उमेर समूहको । उनीहरुको हेरविचार गर्न विजय र अर्का दिदीको जिम्मा थियो । प्रकाश दाइ र विजय डोको बुन्न माहिर, लगभग एक महिनाको बसाईमा उनीहरुले गाउँले सबैलाई डोको उपहार दिए । प्रकाशले स्कुल जाने समयमा सेना–प्रहरी आयो भने स्कुलै छाडेर खबर गर्न आउन सल्लाह थियो । सुस्मा उमेरले कच्चा भएर होला प्राय, भाइ र मसँग खेल्न रुचाउथिन् । स्कुल जान पनि रहर गर्थिन् । बर्रा डाँडासम्म हाम्रो किताब च्यापेर उनी पनि जान्थिन् । स्कुल जान रहर गर्ने उनलाई प्रकाश र विजयले हुदैन भन्थ्यो । स्कुलबाट फर्कदा पनि प्राय हामीलाई लिन आधा बाटो पुग्थिन् । हामीले गृहकार्य गर्दा उत्सुकताका साथ नजिकै बसेर चिहाउने उनको बानि थियो । कहिले काहि युद्धमा हिडौ भन्ने खालको उत्प्रेरणा पनि प्रत्यक्ष्य वा अप्रत्यक्ष रुपमा उनले हामीलाई गर्थिन् । घाइतेहरुको घाउको ड्रेसिङ गर्ने स्वास्थ्यकर्मी चाहि फुजेलको पन्त थरको कमरेड थियो । सकेसम्म उनीहरु ड्रेसिङ गर्न नपरे हुने जस्तो गर्थे । ड्रेसिङको समय पिडादायीक हुने भएर होला सायद । ड्रेसिङको समयमा उनीहरुको पिडा र रुवाइ देखेर नजिक जाने साहस हामीले गर्दैन थियो । करिव एक महिनापछि उनीहरु हिडडुल गर्न सक्ने भयो । छुट्ने बेलामा सबैलाई भावुक बनाएर छुटे । प्रकाश, विजय र अर्का दिदीलाई पछिल्ला दिनहरुमा भेटिएन । सुस्माले केहि वर्ष पछि जनमुत्ति सेनाहरु आएको समयमा बाटो परेर स्कुलको झ्यालमै गएर बोलाए । त्यसपछि उनीसँग पनि भेट भएन । प्रकाशलाई शान्ति प्रकृयामा आएपछि टोलिभिजनको पर्दामा विविसिको कार्यक्रममा काङ्ग्रेसको नेतालाई जनमुत्ति सेनाको तर्फबाट प्रश्न गरेको देख्न पाइयो । जुन प्रश्न आजसम्म पनि उत्तिकै जल्दोबल्दो र भाइरल छ । देशको राजनीति तल माथि हुने साथ टिकटक वा सामाजिक सञ्जालमा भाइरल भै हाल्छ उनको प्रश्न । 

पछि विद्यालयमा अखिल (क्रान्तिकारी) को सङ्गठन निर्माण गर्याे । भुम्लिचोकको भद्रकाली माविलाई सामुदायिककरण गरेको विरोधमा हामीले १० दिन भन्दा लामो समयसम्म विद्यालय बन्द गर्याै । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष काठमाडौ बस्ने हुदा हामीले वार्ता समेत गाउँकै टेलिफोन मार्फत गथ्र्यौ । शिक्षकहरुको साथ र सहयोग थिएन । अविभावकले राजनीति बुझ्दैनथियो । शिक्षकहरुको तर्फबाट मोदनाथ मरहट्टा र रिम्क गुरुङको साथ थियो । घ्याप्रिङगाउँमा हाम्रो बैठक हुने स्थान थियो । बैठकमा रिम्क र मोदनाथ सरले सिकाएका कुराहरु हामी विद्यालयमा गएर राख्थ्यौ । उनीहरु हामी गल्ति गर्लान् कि भनेर मलिन भएर शिक्षकहरुको रोहबाट चिहाइ रहेको हुन्थ्यो । 

शिक्षकहरुमा रिम्क सर अलि क्रान्तिकारी र जुझारु स्वभावको थियो । केहि वर्ष जेल समेत बसेर आएक उनी राजनीतिक रुपमा प्रशिक्षित शिक्षक थियो । उनले हामीलाई कक्षा कोठामा विषय बस्तु र विद्यालय सकेपछि साङ्गठानिक रुपमा परिचालनको जिम्मा दिन्थ्यो । राकेजुलुश, भाषण, राजनीतिक विषय बस्तुहरुमा उनको कमाण्ड थियो । दुर्भाग्यवस पछिल्लो समय उनले वामपन्थि आन्दोनलको बाटो छोड्यो । 

समग्रमा भुम्लिचोकले युद्धमा राम्रै साथ दिएको थियो । आज पनि त्यसको प्रभाव राम्रै छ । माओवादीको मत २ वटा स्थानीय निर्वाचनलाई हेर्दा उत्कृष्ठै मान्न सकिन्छ । बहुसङ्ख्य चेपाङ, मगर, गुरुङ र नेवारहरुको बसोबास रहेको भुम्लिचोक अन्य स्थानहरुको तुलनामा विकासदेखि हरेक हिसाबले पछि छ । त्यहि भूगोलमा चेपाङ, मगर, गुरुङ र नेवारको घरमा भात खाएर युद्ध लडेका कमरेडहरु यति बेला सत्तामा छ । सत्ताको सहि सदुपयोग गर्दै हिजोको व्याज तिर्नको लागि मेरो आग्रह छ । भुम्लिचोकका सहिदहरु शंकर थापा मगर, होम प्रसाद लामिछाने र रत्न चेपाङप्रति हाम्रो आजपनि उत्तिकै सम्मान छ र भोली पनि रहने छ । 

अन्त्यमा, इतिहास र विगत प्रति गर्व गर्नुको विकल्प छैन । माओवादी आन्दोलनले आजको परिवर्तन गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी जस्ता महत्वपूर्ण पक्षहरुको स्थापना गरेको छ । जसले जे भनेता पनि यसको अभियानकर्ता माओवादी र माओवादी आन्दोलन नै हो । यसको जस माओवादीलेनै लिनुपर्छ । १० वर्षे जनयुद्ध नभएको भए आजको यो परिवर्तन सम्भव नै थिएन । आज संसदिय राजनीतिमा माओवादी कमजोर भयो भन्नेहरुले एजेण्डा र मुद्धालाई बिर्सन हुदैन । आज देशले अबलम्बन गरेको बाटोनै माओवादीको मुद्धा र एजेण्डा हो । बाटोमा को हिड्यो भन्ने कुरा साहायह हुन्छ, बाटो कस्ले देखायो र खन्यो भन्ने कुरा प्रधान हुन्छ । रुपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता भएता पनि सारमा यसले मसिनोगरी समाजको सबै पक्षहरुको विकास र अन्तर विरोधहरुको हल गरेको छ । बोल्ने, आवाज उठाउने, समावेशिताको पक्षहरु समेत माओवादी आन्दोलनकै उपज हो । आज मैले जे जस्ता सफलताहरु हात पारेको छ, त्यसमा माओवादी आन्दोनलको योग्दान छ । त्यसैले मलाई माओवादी हुनु र माओवादी आन्दोलन प्रति गर्व छ । 

(लेखक हाल त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा एमफिल पिएचडी अध्ययनरत छन्)

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - १०:०६:२७ बजे

देवराज गुरुङ

लेखक देवराज गुरुङ राजनितिक विश्लेषक हुन् भने इच्छाकामना न्युजका सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology