तनहुँ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ। व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको संघले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।
संघले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु १० करोड प्रदान गर्ने गरेको छ। संघका अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध उत्पादक संघमा आबद्ध छन्। कृषकले उत्पादन गरेको दूध बिक्री हुँदा रु चौध करोड बराबरको आर्थिक कारोबार भएको संघका व्यवस्थापक राजु भुजेलले जानकारी दिए।
रु १० करोड कृषकको हातमा फर्काउन सफल भई संघले रु ३८ लाख मुनाफा गर्न सफल भएको उनले बताए। दुई वर्षअघि दैनिक १४ हजार लिटर दूध सङ्कलन गर्दै आएको उक्त संघले अहिले चार हजार ५०० लिटर दूध सङ्कलन गर्दै आएको छ। कोभिड र महँगो दाना चोकरका कारण कतिपय व्यावसायिक फार्म बन्द भइसकेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ तनहुँका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए।
केही व्यावसायिक कृषकले पनि सङ्ख्या घटाएर गाईर्भँसी पाल्ने गरेका कारण दूध उत्पादन ह्वात्तै घटेको उनले बताए। दुग्ध उत्पादक कृषकको लागत प्रतिलिटर रु ८१ रहेको छ भने दूधको गुणस्तरको आधारमा प्रतिलिटर रु ६८ सम्म सहकारीले दिनेछ। नेपाल सरकारसँग पटकपटक कृषक मारमा परेकाले दूधको उचित मूल्य वृद्धि गर्न आग्रह गरे पनि बेवास्ता गर्दै आएकाले कृषक निराश हुने अवस्थामा पुगेको अध्यक्ष कुँवरले जानकारी दिए।
कृषकको माग सुनुवाइ नभए फागुन १ गतेदेखि दुग्ध उत्पादक सहकारी संघले केन्द्रीय समितिसँग समन्वय गरी स्वघोषित आन्दोलन गर्ने योजना बनाएको उनले बताए। व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले दूरदराजमा बसेर कृषकले उत्पादन गरेको दूधलाई सहकारी संघले सङ्कलन गरी मिल्क होलिडेको समस्या समाधान गरेको बताए।
राज्यले कृषकलाई लागत उत्पादन घटाउने किसिमका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न नसके विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने खतरा रहेको उनको भनाइ थियो।